भोजपुरे सुन्तला : बगानबाटै बजारसम्म (तस्बिरहरू)

भोजपुर । भोजपुरका किसान यतिबेला आम्दानीको भरपर्दो स्रोत सुन्तला बिक्रीमा व्यस्त छन् ।

भोजपुर जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरी षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको खावा, केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगने, भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला उत्पादन बढी हुने गर्दछ ।

व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसान बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् ।

सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले विभिन्न जिल्लासम्म पुग्न थालेको छ ।

विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भर पर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदास बताउँछन् ।

अहिले सुन्तलाको मुख्य सिजन हो, मैले पनि सुन्तलाको व्यवसायिक उत्पादन गर्दै आएको छु उनले भने, ‘गाउँभरि सुन्तला बिक्री भइरहेको छ । मैले यस वर्ष करिब चार देखि पाँच लाख रूपैयाँ बराबरको सुन्तला बिक्री गर्दै आएको छु र अर्को वर्ष अझ उत्पादन बढ्ला ।’

यातायातको सुविधासँगै बगान नै एकमुष्टमा ठेकेदारलाई बिक्री गर्न पाइने भएकाले पनि खुद्रा बिक्री र बजारकै लागि बोकेर लैजानु पर्ने अवस्थाको अन्त्य भएको छ ।

सडक पहुँचको कारण गाउँघरमा उत्पादित सुन्तला खाँदबारी संखुवासभा, धरान, इटहरी, विर्तामोड, विराटनगर लगायतका मुख्य शहर, बजारमा जाने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *