बिपी राजमार्गः बगरबाट यातायात सञ्चालन, यात्रुलाई सास्ती, असुरक्षित यात्रा (तस्बिरहरु)

काठमाडौँ । गतवर्षको असोज दोश्रो साता आएको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक सडकखण्ड डाइभर्सन बनाएर सञ्चालनमा छ ।

बाढीले सडक नै बगाएपछि यो वर्षदेखि खोलामै अस्थायी सडक बनाएर सवारी आवतजावत भइरहेको छ । खोलाबाट नै बनाइएको सडकबाट यात्रा गर्दा जोखिम त छ नै यात्रुलाई क्षतिग्रस्त खण्ड पार गर्न लाग्ने समय पनि बढेको छ । अझ धुलाम्य सडक खण्डमा उड्ने धुलो नियन्त्रण गर्न पानी हाल्दा सडकमा सवारी चिप्लिने र दुर्घटना हुने सम्भावना पनि बढी छ ।

यो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि भने करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न ठूलो रकम खर्च हुने अनुमान गरेको भए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन ।

राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *