
चितवन । जिल्ला अदालत अछामका न्यायाधीश रोशन कुमार भट्टराई विरुद्ध न्याय परिषद्मा उजुरी परेको छ । न्यायाधीश भट्टराईले अछामको पञ्चदेव विनायक नगरपालिका ४, का १५ वर्षीय विनोद शाहीको हत्या अभियोगका अभियुक्तहरूलाई न्यायिक मर्यादा, अनुशासन विपरीत गई पूर्वाग्रहपूर्ण ढंगले, आर्थिक लाभ समेत लिई सफाइ दिएको दाबी गर्दै परिषद्मा उजुरी परेको हो ।
विनोद शाहीका बुबा बलबहादुर शाहीले मंसिर २२ गते न्यायाधीश भट्टराईले गरेको फैसला विरुद्ध दायर गरिएको उजुरीमा अछाम जिल्ला अदालतका न्यायाधीश रोशन कुमार भट्टराईले न्यायिक मर्यादा, अनुशासन विपरीत गई पूर्वाग्रहपूर्ण ढंगले, आर्थिक लाभ समेत लिई सबै कसुरदारलाई सफाइ दिई फैसला गरेको दाबी गरिएको छ । साथै उनको फैसलाले न्याय परिषद् ऐन,२०७३ को दफा ११ र दफा १२ को गम्भीर उल्लंघन भएकाले भन्दै कारबाहीको माग गरिएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद २०७९ जेठ २१ गते मृत अवस्थामा भेटिएका थिए । उनको मृत्यु नभएर हत्या गरिएको भन्दै बुबा शाहीले १० जना विरुद्ध २०७९ असार २१ गते बुबा शाहीले जिल्ला अदालत अछाममा मुद्दा दायर गरेका थिए ।
यो पनि पढ्नुहोस्- विनोद शाहीको हत्या आरोपीलाई धरौटीमा छाड्न आदेश, सेटिङमा फैसला भएको परिवारको आरोप
हत्या अभियोग लगाइएका प्रतिवादीहरूमा महेन्द्र शाही, वीरेन्द्र बहादुर शाही, पृथ्वी बहादुर शाही, देवेन्द्र बहादुर शाही, सज्जन बहादुर शाही, अक्कल बहादुर शाही, दानमती बम शाही, द्रोपती शाही, कर्ण बहादुर शाही र शान्ति कुमारी शाही थिए ।
उनीहरू विरुद्धको ज्यान मुद्दाको कसुर प्रमाणबाट पुष्टि नहुने भन्दै जिल्ला अदालतका न्यायाधीश रोशन कुमार भट्टराईले सफाइको फैसला सुनाएका थिए । तर, साक्षीहरूको बयान, प्रमाण, पोष्टमार्टम रिपोर्ट लगायतलाई बेवास्ता गर्दै अभियोग लगाइएका व्यक्तिका इन्कारी बयानलाई मात्रै आधार मानी न्यायाधीशले फैसला गरेको भन्दै मृतक बालकको बुबाले न्याय परिषद्मा उजुरी दिएका हुन् ।
२०७९ जेठ १७ गते गाउँका युवाहरूबीच झगडा भएको थियो । सोही दिनदेखि बेपत्ता रहेका शाही पाँच दिनपछि मृत अवस्थामा भेटिएका थिए । १५ वर्षका विनोद शाहीको हत्या गरिएको आरोपको विषय स्थानीय तह निर्वाचनमा राजनीतिक दलबीच भएको झगडासँग हेरिएको थियो ।
यो पनि पढ्नुहोस्- अछामका विनोद शाहीको हत्या प्रकरण : मेयर चलाउनेसहित ७ जना पक्राउ
वैशाखमा स्थानीय स्वास्थ्य चौकीको केन्द्रमा भएको मतदानका विषयमा काँग्रेस निकट उम्मेदवार र नेकपा एमाले तथा तथा तत्कालीन समाजवादी समर्थकबीच विवाद भएको थियो ।
सोही विषयलाई लिएर जेठको १६ गते दुई पक्षका युवाबीच विवाद भएको र झडप पनि भएको थियो । उक्त विषयमा प्रहरी पनि उक्त गाउँमा पुगेका जिल्ला अदालतमा दिइएको अभियोगपत्रमा उल्लेख छ ।
झडपको भोलिपल्टदेखि हराएका रिठारुख टोलका बलबहादुर शाहीका १५ वर्षीय छोरा विनोद शाही २१ गते बिहान गाउँनजिकैको भिरमा उनी मृत अवस्थामा भेटिएका थिए । टाउको फुटेको, घाँटी रेटिएको र दुवै खुट्टामा चोट लागेर आधा सडेको अवस्थामा शव भेटिएको जाहेरीमा उल्लेख छ ।
आफ्नो छोरालाई त्यही घटनामा मुछेर १७ गते नै हत्या गरिएको बाबु बलबहादुर शाहीले आरोप लगाउँदै किटानी जाहेरी दिएका थिए । तर, यो घटनाको प्रमाण, प्रहरीको अनुसन्धान प्रतिवेदन, पीडितको बकपत्र लगायतलाई बेवास्ता गरी राजनीतिक प्रभाव र आर्थिक लेनदेन समेत गरी घटनाका अभियुक्त भनिएका व्यक्तिहरूलाई सफाइ दिइएको मृतकका बाबुको आरोप छ ।

Leave a Reply