
कैलाली । जेनजी आन्दोलनपछि क्षतिग्रस्त भवनको पुनर्निर्माणमा ४ महिना खर्चिएको सुदूरपश्चिम प्रदेश सभाले बुधबार बैठक डाक्यो । गत भदौ ५ गते अन्तिम बैठक बसेको प्रदेश सभा भवन आन्दोलनका कारण पूर्ण रूपमा क्षतिग्रस्त बन्यो । चार महिनाको अन्तरालमा भवन त तयार भयो तर, संसद् बैठकको पहिलो दिन नै मन्त्रीसहित ११ सांसद गयल भए ।
रीडको हड्डीमा समस्या देखिएपछि उपचारका लागि भारत पुगेका मुख्यमन्त्री कमलबहादुर शाह वाकरको सहारामा प्रदेश सभामा पुगे ।
दिल्लीको म्याक्स अस्पतालबाट करिब २ साताको उपचारपछि फर्किएका मुख्यमन्त्री शाह शल्यक्रियाको पर्खाइमा नियमित थेरापी गर्दैछन् । अस्वस्थ शरीर लिएर मुख्यमन्त्री प्रदेश सभा पुग्दा एक मन्त्री र एक राज्यमन्त्रीसहित ११ सांसद पहिलो दिन नै गयल हुन पुगे ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी निलम्बनमा छन् । उनी बाहेकका ५२ सांसद मध्ये ४१ सांसद मात्रै पहिलो दिन उपस्थित भए ।
चार महिनापछि बसेको बैठकमा पहिलो दिन नै भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउद उपस्थित भएनन् । त्यस्तै पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, पूर्वमन्त्री माया पन्त र ओमविक्रम भाट सरल पनि गयल भए ।
पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता खगराज भट्ट, डा. तारा जोशी, पदमबहादुर शाही, बेलबहादुर रानामगर पनि पहिलो दिनको बैठकमा गयल भए ।
जेनजी आन्दोलनपछि प्रदेश सभा ध्वस्त भएको छ, यो बेला एक ढिक्का भएर मन्त्री तथा सांसदहरूले एकताको सन्देश दिनुपर्ने बेलामा संसद्मा अनुपस्थित हुनु गलत रहेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपनेता अक्कल रावलले टिप्पणी गरे ।
जेनजी आन्दोलनपछि बसेको पहिलो बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा आफ्नो धारणा राखे । माओवादी प्रमुख सचेतक गीता मालले पाँच महिनापछि संसद् आह्वान हुनु सरकारको असफलता रहेको बताइन् ।
कांग्रेस सांसद डम्मरी महराले चार महिनापछि सदन सूचना भएकोमा खुसी व्यक्त गरिन् ।

माओवादी सांसद मानबहादुर धामीले पाँच महिनापछि सदनमा उपस्थित हुँदा सदन नयाँ जस्तो देखिएको बताए । उनले जेनजी आन्दोलनको कारक तत्कालीन सरकार भएको र घुसपैठ रहेको बताए ।
नेकपा एकीकृत समाजवादीका सांसद नरेश शाहले सङ्घीय सरकारले प्रदेशको अधिकारलाई अतिक्रमण गर्न खोजेको भन्दै विरोध जनाए ।
बैठकमा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी, माओवादी केन्द्रका लक्ष्मी विक र शिवसिंह ओलीले पनि शून्य समयमा आफ्नो धारणा राखे ।
आजको बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले प्रदेशको जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी विधेयक टेबल गरे । आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले विभिन्न निकायका वार्षिक प्रतिवेदन पेश गरे ।
सार्वजनिक लेखा समितिका सभापति अक्कल रावलले सार्वजनिक लेखा समितिको तेस्रो वार्षिक प्रतिवेदन पेश गरे ।
सुदूरपश्चिम प्रदेश सभाको अर्को बैठक बिहीबार (भोलि) दिउँसो १२ बजे बस्ने भएको छ ।

Leave a Reply