
काठमाडौं । समानुपातिक निर्वाचनको बन्दसूचीलाई लिएर राप्रपाभित्र पनि असन्तुष्टि देखिन थालेको छ । पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सार्वजनिक रुपमा नै बन्दसूची सच्याउनु पर्ने बताएका छन् ।
नेताको श्रीमती र अवसरका लागि पार्टी छाडेकालाई प्रमुख स्थानमा राखिएको भन्दै उनले विरोध जनाएका हुन् ।
शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राप्रपाभित्रका समानुपातिक सूचीको लिस्ट सच्याउन बेलैमा अनुरोध गर्दछु । सच्याउने अझै समय छ । नेताका श्रीमती र अवसरका लागि पार्टी छाडेकालाई प्रमुख स्थानमा राखिनु दुर्भाग्य हो । यस्ता गतिविधिले तपाईंहरुको परिवार त बन्ला तर पार्टी बन्दैन ।’
राप्रपाले उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी सरस्वती लामालाई आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा राखेको छ । त्यसैलाई इङ्गित गर्दै शाहीले आक्रोश व्यक्त गरेका हुन् ।
बुद्धिमानले केही समयअघि पार्टीको बैठकमा आफू आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका थिए । उनलाई फकाउनका लागि पत्नीलाई समानुपातिकमा समेटिएको हुनसक्ने एक नेताले बताए । बुद्धिमानकी पत्नी सरस्वती पार्टीको महिला संगठनमा रहे पनि समानुपातिकमा पहिलो प्राथमिकतामा राख्नुपर्ने योगदान नरहेको ती नेताको भनाइ छ ।
शाहीले इङ्गित गरेका अर्का उम्मेदवार खुस्बु ओली हुन् । ओलीले २०७९ सालको आमनिर्वाचनमा ‘बागी’ उम्मेदवारी दिएकी थिइन् । झापामा राप्रपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । झापा ४ एमालेको भागमा परेपछि विद्रोह गर्दै खुस्बु स्वतन्त्र उठिन् र हारिन् । उनलाई राप्रपाले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।
उनै खुस्बुलाई अहिले राप्रपाको खस आर्य महिलातर्फ पहिलो स्थानमा राखिएको छ । यसप्रति पार्टीका थुप्रै महिला नेतृहरु पनि असन्तुष्ट रहेको बताइन्छ ।

Leave a Reply