
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक परिदृश्यमा उदाएको नयाँ चुनौती सामना गर्न पुनः एकता र मेलमिलापको विकल्प नभएको बताएका छन् ।
उनले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा दिएको सन्देशमा भनिएको छ, ‘पाँच दशकपछि फेरि विश्वमा महाशक्ति राष्ट्रहरुको दबाब र स्वार्थहरु अगाडि आएको हामी अनुभव गर्दैछौँ, यस परिस्थितिमा हामीले हाम्रा श्रद्धेय नेता विपीको विचारलाई फेरि एकपटक मन, बचन र कर्मले मनन गर्नुपरेको छ ।’
उनले लोकतान्त्रिक आन्दोलनमा श्रद्धेय नेता विपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु आजकै दिन ‘राष्ट्रिय मेलमिलापको’ सन्देश दिएर आठ वर्ष भारतको प्रवास जीवन त्यागी नेपाल फर्केको स्मरण गर्दै भनेका छन्, ‘त्यस समयमा विश्वमा देखिएको महाशक्ति राष्ट्रहरुको द्वन्द्व र खिचातानीबाट नेपाल जस्तो सानो र अत्यन्त संवेदनशिल भूःराजनीतिक स्थितिमा रहेको देशको राष्ट्रियता र स्वतन्त्रता अक्षुण्य राख्न राष्ट्रिय एकता र मेलमिलापको विकल्प नभएको विपीको सन्देश थियो ।’
नेता कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको लागि सत्ता राजनीति भन्दा माथि सार्वभौम सम्पूर्ण नेपालीको जागरुक सतर्कतासहित ऐक्यवद्धताको खाँचो रहेको बताए ।
उनले विपीले सम्भावित व्यक्तिगत खतरा र राष्ट्रको अस्तित्वको खतरासामु नगण्य भन्ठानेर ऐतिहासिक निर्णय लिएर प्रवासबाट स्वदेश फर्केजस्तै लोकतन्त्रको रक्षार्थ र भावी युवा पुस्तालाई शान्ति र समृद्धिको गोरेटो कोरेको नेपाल हस्तान्तरण गर्न अप्रिय विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प नभएको बताएका छन् ।

Leave a Reply