
हेटौँडा । देशभरका २६ जिल्लामा बसोबास गरिरहेका अल्पसंख्यक आदिवासी चेपाङ समुदायबाट प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारमा ३ जना परेका छन् । नेपाल चेपाङ संघले देशभरबाट ३ जना अनुहार समानुपातिकमा समेटिएको जनाएको छ ।
६४ वटा दलले समानुपातिक प्रतिस्पर्धामा निर्वाचन आयोगमा सिफारिस गर्दा अल्पसंख्यक चेपाङ समुदायबाट चितवनका सन्तबहादर चेपाङ, चितवनकै विश्वास चेपाङ र मवानपुरका मंगलसिंह चेपाङ परेका हुन् । चितवनको कालिकानगरका सन्तबहादुर, चेपाङ संघका महासचिव र चितवन एमाले जिल्ला कमिटी सदस्य हुन् ।
यस्तै, चितवन, राप्तीका विश्वास चेपाङलाई गतिशील लोकतान्त्रिक पार्टीले समानुपातिकमा उम्मेदवार बनाएको छ ।
काठमाडौँ बसेर सामाजिक सञ्जालमा सक्रिय मकवानपुरको मनहरीका मंगल सि चेपाङलाई भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिकको उम्मेदवार बनाएको छ । उनी सामाजिक सञ्जालमा पार्टी संयोजक पुष्पकमल दाहालको प्रतिरक्षामा सक्रिय देखिन्छन् ।
देशभर अल्पसंख्यक चेपाङ समुदायको संख्या ८४ हजार ३ सय ६४ छ । चेपाङ समुदायको बसोबास २६ जिल्लामा फैलिएको छ भने ६ जिल्ला चेपाङको बाहुल्य क्षेत्र हो । मकवानपुर, चितवन, धादिङ, गोरखा, तनहुँ, लमजुङमा चेपाङ समुदायको बाक्लो बस्ती छ । ‘सबैभन्दा बढी चितवनमा चेपाङ छन्, अहिले २६ जिल्लामा बसोबास विस्तार भएको छ,’ अध्यक्ष गोविन्दराम चेपाङले भने, ‘आदिबासी, अल्पसंख्यक चेपाङ समुदायबाट यसपटक ३ जना अनुहार पर्नु उपलब्धी नै मान्नुपर्छ ।’
गोविन्द राम चेपाङ २०६४ सालमै नेकपा एमालेबाट समानुपातिकमा परेका संविधान सभा सदस्य हुन् । यसअघि बागमती प्रदेशमा मकवानपुरको राक्सिराङका सन्तबहादुर चेपाङ कांग्रेसबाट समानुपातिकमा प्रदेश सभा सदस्य एवम् बागमती प्रदेशमा भौतिक पूर्वाधार राजयमन्त्री भएका थिए ।

Leave a Reply