राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ ।

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले तीन लाख ५० हजार रुपैयाँ बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ ।

आयोगले मतदाता नामावली खरिदका लागि एक हजार रुपैयाँ, सवारी साधनमा ७० हजार रुपैयाँ, सवारी इन्धन १० हजार रुपैयाँ, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० रुपैयाँ खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको छ ।

यसैगरी ढुवानी १० हजार रुपैयाँ, गोष्ठी अन्तरक्रियाका लागि एक लाख रुपैयाँ, अन्य प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यममा खर्च १४ हजार ५०० रुपैयाँ खर्च गर्न पाइनेछ । त्यस्तै कार्यालय सञ्चालन ७० हजार रुपैयाँ, प्रतिनिधि परिचालन ३० हजार रुपैयाँ र विविध शीर्षकमा ३० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ ।

उम्मेद्वारले खर्च गर्दा बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार, आयोगमा पेस गर्नुपर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *