भारतीयलाई नागरिकता दिएको आरोपमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिकरानी पक्राउ परेका छन् । वडाध्यक्ष मिकरानीमाथि भारतीय नागरिकलाई नागरिकता दिएको आरोप छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी रामविश्वास रायसमेत रहेको मुद्दामा वडाध्यक्ष मिकरानीको संलग्नता देखिएपछि थप अनुसन्धान अघि बढाइएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै गत वैशाख २२ गते पत्राचार गरेपछि सर्लाही जिल्ला अदालत मलङ्गवाले मङ्सिर ५ गते वडाध्यक्ष मिकरानीलाई पक्राउ गर्न अनुमति दिएको थियो । सोहीअनुसार खोजतलासका क्रममा मलङ्गवा–२ बाट उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

वडाध्यक्षलाई पक्राउपछि अदालतबाट दुई दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धान प्रक्रिया जारी रहेकाले नागरिकता लिएका भारतीय नागरिकको पहिचान प्रहरीले खुलाएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *