
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री सुशीला कार्कीसँग तीन दलका शीर्ष नेताको बैठकका सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीको भनाइ भनेर बाहिर गलत प्रचार गरिएको भन्दै खण्डन गरेको छ ।
सचिवालयको बैठकमा अध्यक्ष ओलीले आफ्नो भनाइलाई केही मिडियामा सरकारकै पक्षबाट गलत ढंगले तोडमोड गरेर प्रवाह गराइएको बताएका थिए ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले अध्यक्ष ओलीले निर्वाचनमा सेना परिचालन गर्न नमानेको भनेर गलत प्रचार गराइएको बताए ।
भट्टले भने- अध्यक्ष कमरेडले प्रहरीको हतियार लुटिएको,मनोबल कमजोर भएको अवस्थामा सुरक्षा निकायलाई बलियो बनाउने कुरा राख्नुभएको थियो । सेना बाहिरी घेरामा बस्ने भएकाले प्रहरीलाई बलियो बनाउने कुरा भनिएकोमा सेना परिचालनको विपक्षमा ओली भनेर प्रचार भयो,त्यो गलत कुरा आयो भन्नुभयो बैठकमा । अहिले चुनावको वातावरण बनेको छैन, संसद पुनर्स्थापनाकै पक्षमा एमाले छ भन्ने हाम्रो कुरा हिजो पनि राखिएको हो ।
बैठकमा अध्यक्ष ओलीले भदौ २४ को घटनालाई प्रतिक्रान्ति र संसद विघटनलाई प्रतिगमन भनेर बालुवाटार बैठकमा पनि प्रष्ट राखेको भट्टले जानकारी दिए । सेना परिचालन गर्न हुन्न भनेर भ्रम फिँजाइएकोमा एमाले बैठकले खण्डन गरेको छ ।

Leave a Reply