मोफसलबाट अन्तर्राष्ट्रिय बहसको सुरुवात

रुपन्देही । मोफसलको पत्रकारितालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बहसको केन्द्रमा ल्याउने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो लुम्बिनी न्युज फेस्टिभल सुरु भएको छ । लुम्बिनी प्रेस क्लब रुपन्देहीको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलले पत्रकारिता, पर्यटन, लगानी र नेपाल–भारत सीमापार सम्बन्धका मुद्दामा गम्भीर बहस सुरु गरेको छ ।

२०७६ र २०८० सालपछि तेस्रो पटक आयोजना गरिएको न्युज फेस्टिभलमा नेपाल र भारतका वरिष्ठ पत्रकार, सम्पादक, सञ्चार अध्येता, नीति निर्मातालगायतको उल्लेखनीय सहभागिता छ । भारतबाट मात्र ४० भन्दा बढी पत्रकारको सहभागिता रहेको फेस्टिभलमा काठमाडौंबाट आधा दर्जन अग्रज पत्रकार पनि सहभागी छन् । भारतका सिक्किम, नयाँ दिल्ली, लखनऊ, अयोध्या, काशी, गोरखपुर र महाराजगन्जबाट स्थानीय तथा राष्ट्रिय स्तरका सञ्चारकर्मी लुम्बिनी आएका छन् ।

फेस्टिभलको उद्घाटन सत्रमा सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक र तथ्यमा आधारित समाचारले नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने बताएका छन् । नकारात्मक र अपुष्ट समाचारले सम्बन्ध कमजोर हुन सक्ने भन्दै उनले पत्रकारिताको जिम्मेवारी अझ बढेको उल्लेख गरे ।

मुख्यमन्त्री आचार्यले नेपाल र भारतबीचको सम्बन्ध केवल राजनीतिक तहमा मात्र सीमित नभई सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक तहमा समेत गहिरो रहेको बताए । यस्तो सम्बन्धलाई सुदृढ बनाउन पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले मोफसल पत्रकारिताको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय विषयवस्तुमा सार्थक बहस आजको आवश्यकता भएको धारणा राखे ।

नेपालमा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले बुद्ध जन्मभूमि लुम्बिनी, मुक्तिनाथ र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यले पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सक्ने बताए । उनले लुम्बिनीको पर्यटन, सांस्कृतिक र सामाजिक विकासमा न्युज फेस्टिभलका बहसले नयाँ दिशा दिने विश्वास व्यक्त गरे ।

फेस्टिभलको पूर्वसन्ध्यामा सहभागीहरूले लुम्बिनीस्थित मायादेवी मन्दिरको अवलोकन गर्नुका साथै दीप प्रज्वलन गरेका थिए । उद्घाटन सत्रमा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा। कुमार शर्मा आचार्य, नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मालगायतले पत्रकारिताको समग्र विकासका लागि सहकार्य आवश्यक रहेको धारणा राखे ।

फेस्टिभलको पहिलो दिन आइतबार ‘सीमापार सम्बन्ध: आवश्यकता र सम्भावना’ विषयमा समूहगत छलफल सम्पन्न भएको छ । छलफलमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, लुम्बिनी बौद्ध विश्वविद्यालयका केन्द्रीय क्याम्पस प्रमुख दयानिधि गौतम, भारतका वरिष्ठ पत्रकार सञ्जय सिंह, सिक्किम प्रेस क्लबका अध्यक्ष भीम रावत सहभागी थिए । छलफलको सहजीकरण लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले गरेका थिए ।

त्यसै गरी दोस्रो सत्रमा ‘लुम्बिनी: लगानी र पर्यटनको सामर्थ्य’ विषयमा प्यानल छलफल आयोजना गरिएको छ । छलफलमा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजन, कान्तिपुर टेलिभिजनका सम्पादक रुपेश श्रेष्ठ, लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राई, लुम्बिनी होटल संघ नेपालका अध्यक्ष लीलामणि शर्मा सहभागी थिए । छलफलको सहजीकरण लुम्बिनी प्रेस क्लबका पूर्वअध्यक्ष नरेश केसीले गरेका थिए ।

प्यानल छलफलमा बोल्दै कार्यवाहक नगर प्रमुख हरिजनले लुम्बिनी विकास कोषले स्थानीय सरकारलाई भूमिका नदिँदा लुम्बिनीको अपेक्षित प्रवद्र्धन हुन नसकेको बताइन् । स्थानीय बासिन्दा, विकास कोष र स्थानीय सरकारबीच सहकार्य भए मात्रै लुम्बिनीमा लगानी र पर्यटनको वातावरण बन्ने उनको भनाइ थियो ।

लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माले लुम्बिनी क्षेत्रमा बिहार र गुम्बालाई गेस्ट हाउसका रूपमा सञ्चालन गरिनु चिन्ताको विषय भएको बताए । पर्यटकको बसाइँ लम्ब्याउन स्थानीय स्तरमै थप पर्यटन कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीय पर्यटन व्यवसायी त्यसका लागि तयार रहेको बताए ।

लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले तोकिएको समयमा लुम्बिनी गुरुयोजना पूरा गर्न नसकिएकोप्रति दुःख व्यक्त गर्दै स्थानीय सरकार, प्रदेश सरकार र स्थानीय बासिन्दासँग सहकार्य गरेर अघि बढ्न विकास कोष सधैं तयार रहेको बताए ।

कान्तिपुर टेलिभिजनका सम्पादक रुपेश श्रेष्ठले २२ वर्षअघि आफूले देखेको लुम्बिनी र अहिलेको अवस्थाबीच खासै फरक नदेखिनु दुःखद भएको बताए । लुम्बिनीका सरोकारवालाबीच एकता र सहकार्यको अभाव नै पर्यटन प्रवर्द्धनको मुख्य बाधा भएको उनको भनाइ थियो ।

समता टेलिभिजनका सम्पादक नरेश केसीले सहजीकरण गरेको उक्त कार्यक्रममा नेपाल र भारतका पत्रकारहरूले लुम्बिनीमा एकता र सहकार्यबिना दिगो विकास सम्भव नहुने निष्कर्ष निकाले । कार्यक्रममा सिक्किम प्रेस क्लबका अध्यक्ष भरत राउत, दैनिक सहाराका समाचार सम्पादक सञ्जय सिंह, हिन्दुस्तान दैनिक लखनऊ प्रमुख राजेश सिंह, भारतीय सरकारी सञ्चार संस्था पिटिआईका उत्तरपूर्वी ब्युरो प्रमुख शिवप्रकाश गौर, जी न्यूज महाराजगन्ज प्रमुख अमित त्रिपाठी लगायत ४२ जना भारतीय सम्पादक तथा पत्रकारको सहभागिता रहेको थियो ।

कार्यक्रममा लुम्बिनी र कपिलवस्तुको सन्दर्भमा बेला-बेला गरिने तथ्यविहीन समाचारको पछि नलाग्न पनि आग्रह गरिएको छ ।

त्यसै गरी आइतबार नै ‘पत्रकारितामा प्रश्न, जिम्मेवारी र जवाफदेहिता’ विषयमा अर्को छलफल आयोजना गरिएको छ । छलफलमा प्रेस काउन्सिल नेपालका अध्यक्ष डा। कुमार शर्मा आचार्य, अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, पत्रकारिता अध्येता मिनाक्षी न्यौपाने सहभागी थिए ।

छलफलको सहजीकरण लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले गरेका थिए । फेस्टिभलको अन्त्यमा ‘लुम्बिनी घोषणा पत्र’ जारी गरिने लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपक घिमिरेले जानकारी दिए ।

समाचारको केन्द्र लुम्बिनी, बहसको केन्द्र मोफसल

लुम्बिनीमा आयोजना भइरहेको तेस्रो लुम्बिनी न्युज फेस्टिभल एउटा कार्यक्रम मात्रै होइन, मोफसलको पत्रकारिता, राष्ट्रिय बहस र क्षेत्रीय मुद्दालाई केन्द्रमा ल्याउने गम्भीर प्रयास हो । लामो समयदेखि काठमाडौं केन्द्रित बहस, नीति निर्माण र सञ्चारको मूलधारलाई चुनौती दिँदै लुम्बिनीबाटै पत्रकारिता, पर्यटन र आर्थिक एजेन्डामा राष्ट्रिय–अन्तर्राष्ट्रिय संवाद सुरु हुनु आफैँमा महत्त्वपूर्ण संकेत हो ।

नेपाल संघीय संरचनामा प्रवेश गरेको दशक नाघिसक्दा पनि पत्रकारिताको बहस र प्रभाव अझै राजधानीमै सीमित देखिन्छ । प्रदेश र स्थानीय तहले अधिकार पाएका छन् । नीति निर्माण र कार्यान्वयनका जिम्मेवारी तल झरेका छन् । तर ती तहका समस्या, सम्भावना र चुनौतीलाई गहिराइमा उठाउने पत्रकारिता अझै कमजोर छ । यही खाडल चिर्ने प्रयत्नका रूपमा लुम्बिनी न्युज फेस्टिभललाई लिन सकिन्छ ।

लुम्बिनी केवल धार्मिक र सांस्कृतिक महत्वको क्षेत्र मात्र होइन, दक्षिण एसियाकै सम्भावनायुक्त पर्यटन र आर्थिक केन्द्र बन्न सक्ने भौगोलिक पहिचान हो । बुद्ध जन्मस्थलको अन्तर्राष्ट्रिय छवि, भारतसँगको खुला सीमाना, भैरहवा नाका, अन्तर्राष्ट्रिय विमानस्थल, औद्योगिक कोरिडोर र कृषि सम्भावनाले यो क्षेत्रलाई रणनीतिक बनाएको छ । यस्ता विषयलाई पत्रकारितामार्फत कसरी विश्वसामु लैजाने, लगानी र पर्यटनसँग कसरी जोड्ने भन्ने बहसको खाँचो लामो समयदेखि महसुस हुँदै आएको थियो । न्युज फेस्टिभलले यही आवश्यकता पूरा गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमको अर्को महत्त्वपूर्ण उद्देश्य मोफसल पत्रकारितालाई आत्मविश्वास दिनु हो । मोफसलमा बसेर राष्ट्रिय मुद्दा उठाउन सकिँदैन भन्ने मानसिकता अझै जीवित छ । समाचार, विश्लेषण र खोज पत्रकारिता काठमाडौं बाहिर पनि सम्भव छ भन्ने सन्देश यस्ता फेस्टिभलले दिन्छन् । सीमापार सम्बन्धको बहस यो फेस्टिभलको अर्को महत्त्वपूर्ण पक्ष हो ।

नेपाल–भारत सम्बन्ध राजनीतिक तहमा मात्र होइन, सामाजिक, सांस्कृतिक, आर्थिक र सञ्चार तहमा पनि गहिरो छ । सीमावर्ती क्षेत्रका समस्या, अवसर र सहकार्यका सम्भावनालाई पत्रकारितामार्फत सन्तुलित रूपमा उठाउने प्रयास न्युज फेस्टिभलको उपलब्धि हो ।

समग्रमा, तेस्रो लुम्बिनी न्युज फेस्टिभल समाचारको उत्सव मात्र होइन, सोचको उत्सव हो । यसले लुम्बिनीलाई तीर्थस्थलको रूपमा मात्र होइन, विचार, बहस र सम्भावनाको केन्द्रका रूपमा स्थापित गर्ने अवसर दिएको छ । मोफसलबाटै राष्ट्रिय र अन्तर्राष्ट्रिय बहस सम्भव छ भन्ने सन्देश नै यसको सबैभन्दा ठूलो प्रभाव हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *