
काठमाडौँ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी यस्तो विवरणको जानकारी दिएको हो ।
प्रकाशित अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र अन्य दुई सय मतदाता समावेश छन् । सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्न सक्नेगरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको छ ।
मतदाता नामावली ऐन, २०७३ को दफा २० बमोजिम आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकको विवरणलाई समेत अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ ।
विसं २०७९ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदय निर्वाचनमा पुरुष ९१ लाख ४० हजार ८ सय ६, महिला ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य एक सय ८५ गरी कुल मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेको थियो । विसं २०७९ को तुलनामा २०८२ मा कुल मतदाताको सङ्ख्या नौ लाख १५ हजार १ सय १९ ले वृद्धि भएको छ । पुरुष मतदाताको सङ्ख्या पाँच लाख २२ हजार ५ सय ५२, महिला मतदाताको सङ्ख्या तीन लाख ९२ हजार ५ सय ५२ र अन्य मतदाताको सङ्ख्या १५ ले वृद्धि भएको आयोगले जनाएको छ ।
अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मतदान गर्नका लागि देशभर १० हजार ९ सय ६७ मतदातास्थलमा २३ हजार १ सय १२ मतदात केन्द्र निर्धारण गरिएको छ । यो निर्वाचनमा २०७९ सालको कुल मतदानस्थलको सङ्ख्याभन्दा ७५ वटा बढी निर्धारण गरिएको छ । कुल मतदान केन्द्रको सङ्ख्या आठ सय ८५ वृद्धि भएको छ ।

Leave a Reply