बागी, विद्रोही उम्मेदवारको कारबाही फुकुवा गर्ने कांग्रेसको निर्णय, पार्टी परित्याग गरेकालाई घर फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी निष्कासन, निलम्बन वा कारबाहीमा परेकाहरूलाई कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृतिमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासन समितिको कारबाहीमा परेकाहरूको बाँकी अवधि माफीमिनाहा गर्ने निर्णय गरिएको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै यसरी कारबाही माफीमिनाहा भएका व्यक्तिहरूको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय भएको समेत जानकारी दिएका छन् ।

पार्टी परित्याग गरेकालाई घर फर्कन आह्वान समेत बैठकले आह्वान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘ विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरूलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ ’ विज्ञप्तिमा भनिएको छ, ‘ त्यसरी फर्किने साथीहरूलाई क्रियाशील सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ । ’

बैठकले समानुपातिक तर्फका ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रिया प्रारम्भ गरेको छ । कार्य सम्पादन समितिको बैठक भोली आइतबार बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *