कोशीमा देखिन थाले डल्फिन, पर्यटक उत्साहित

काठमाडौं । सुनसरीको धार्मिक पर्यटकीय स्थल वराहक्षेत्र पछिल्लो समय सूर्यास्त अवलोकन गर्ने उत्कृष्ट गन्तव्यका रुपमा प्रचार हुँदै आएको छ ।

वराहक्षेत्र-२ र ६ वडामा पर्ने बोराबाँध भएर बग्ने सप्तकोशी नदीमा डुब्दै गरेको सूर्य हेर्न हजारौं आन्तरिक पर्यटकको आवगमन भइरहेको छ ।

शनिबार र अन्य छुट्टीका दिनमा सूर्यास्त अवलोकन गर्न लाखौं आन्तरिक पर्यटक वराहक्षेत्र आउने गरेको स्थानीय जैविक  विविधता र पर्यटन क्षेत्र विकासमा अभियान सञ्चालन गरिरहेका पत्रकार भीषण राई बताउँछन् ।

कोशी नदीको मनोरम दृश्य, डुब्दै गरेको सूर्य र स्थानीय माझी समुदायको परम्परागत डुङ्गा व्यवसाय, घोडचढीका साथै पर्यटनका नयाँ सम्भावनाहरु जेट बोट, एटिभी राइडिङजस्ता सुविधाले पर्यटक कोशी किनारमा आउने गरेका छन् ।

कोशी नदीमा सूर्यास्तको अवलोकन गर्न आउने पर्यटकले पछिल्लो समय कोशी नदीमा डल्फिन देख्न थालेपछि थप उत्साहित भएका छन् ।

वराहक्षेत्रको बोराबाँध : सूर्यास्त अवलोकन गर्ने आन्तरिक पर्यटकको घुइँचो (तस्बिरहरु)

नदीमा डुङ्गा खियाउँदै आएका माझी युवाहरुले डल्फिन देखेपछि पत्रकार राईलाई खबर गरे । पत्रकार राईले कोशी नदीमा डुबुल्की मारिरहेका डल्फिनको भिडिओ कैद गरे ।

स्थानीय भाषामा सोस भनिने यी डल्फिन मुख्यतया बर्खायाममा कोशी नदीमा देखिने गरेका छन् । यद्यपि बर्खा सकिएर नदीको वहाव घट्दै जाँदा कोशी नदीको आकर्षणका रुपमा डल्फिन देखिनु यो क्षेत्रको जैविक विविधताको क्षेत्रमा महत्वपूर्ण क्षण भएको पत्रकार राई बताउँछन् ।

नेपालका विभिन्न नदीहरुमा सन् २०११ मा डल्फिन सम्बन्धी अनुसन्धान गरिएको थियो । गंगिज रिभर डल्फिनका नामले विश्वव्यापी रुपमा चिनिने यो प्रजातिको डल्फिन  नेपाल, भारत र बंगलादेशमा मात्रै पाइने बताइन्छ । अनुसन्धानले यसको सङ्ख्या ३ हजार रहेको तथ्य सार्वजनिक गरेको थियो ।

अनुसन्धानका क्रममा कोशी नदीको ४९ किलोमिटर क्षेत्रमा जम्मा ९ वटा सोस रहेको अध्ययनले देखाएको थियो ।

तत्कालीन अनुसन्धानमा सहभागी फ्रेस वाटर इकोलोजिस्ट डा. दीपनारायण साहले नारायणी नदीको ५७ किलोमिटर क्षेत्रमा २ वटा डल्फिन देखिएको बताएका थिए । कोशी, कर्णाली र नारायणी नदी क्षेत्रमा देखिँदै आएको डल्फिन हाल भने लोप हुँदै आएको छ ।


ससाना माछालाई आफ्नो आहारा बनाउने यो स्तनधारी जीवलाई  पानीको शुद्धताको सूचकको रुपमा लिइने जैविक विविधताविदहरु बताउँछन्  ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको कोशी नदीमा सूर्यास्त हेर्न र बोटिङको मज्जा लिन आन्तरिक पर्यटक आउने गरे पनि नदीमा डल्फिन देखिन थालेपछि उनीहरुको ध्यान त्यसतर्फ केन्द्रित भएको छ ।

नदीमा जेटबोट चल्दा डल्फिन स्वतन्त्र रुपमा देख्न नसकिएको  आगन्तुकहरुले गुनासो गर्न थालेका छन् । विशेषगरी बिहानको समयमा पानीमा डल्फिन खेल्दै गरेको देखिने स्थानीय ढुङ्गा सञ्चालक इन्द्र माझीले बताए ।

भाइरल भएपछि कोशी किनारमा पार्किङ शुल्क, स्थानीय सरकारकै संरक्षण

पर्यटन क्षेत्रका रुपमा कोशी किनार विकास भइरहे पनि त्यहाँ चल्ने मोटरबोटका कारण डल्फिन खेलेको हेर्न कठिन भएको आगन्तुक पर्यटकले गुनासो गरेका छन् ।

सुरुवातमा एउटा मात्र मोटरबोट सञ्चालन भइरहेको उक्त क्षेत्रमा अहिले अस्वस्थ प्रतिस्पर्धा भएको स्थानीयको गुनासो छ ।

‘अहिले मोटरबोट मात्रै नौ/दश वटा चल्न थालेको छ, निकै नै अस्वस्थ प्रतिस्पर्धा देखिन्छ,’ धरानबाट सूर्यास्तको अवलोकन गर्न आएका एक आन्तरिक पर्यटकले भने,’यहाँ सुरक्षाको चुनौतीसँगै जैविक विविधतामा पनि असर परेको महसुस भयो, नियमन पनि खासै देखिएको छैन, एकदमै अस्वस्थ प्रतिस्पर्धा भएको देखिन्छ ।’

तस्बिर- भीषण राई

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *