दाङमा साबिक माओवादीकै लेटर प्याडमा उम्मेदवारको नाम सिफारिस

रुपन्देही । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दाङका पूर्व घटक दलहरू मध्ये साबिक नेकपा माओवादी केन्द्रले  भङ्ग भइसकेको पार्टीको लेटर प्याडमा उम्मेदवारको नाम सिफारिस गरेपछि विवाद सुरु भएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरू मिलेर बनेको नेकपाका पूर्व घटकहरूले पार्टी एकतापछि जिल्लामा संरचना निर्माण नभइसकेको अवस्थालाई आधार बनाएर पूर्ववत् पार्टीकै लेटरप्याड प्रयोग गरी समानुपातिक उम्मेदवार सिफारिस गरिएको हो ।

नेकपाको महत्त्वपूर्ण पूर्वघटक नेकपा माओवादी केन्द्र दाङले पूर्व पार्टीकै लेटरप्याड प्रयोग गर्दै १४ जना समानुपातिक उम्मेदवार सिफारिस गरेको छ । सिफारिस सूचीमा नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय उपाध्यक्ष उदय जिएम र अधिवक्ता सुशीला चौधरीसमेत समेटिएका छन्।

सिफारिस गरिएकामा जनजाति महिला कोटातर्फ भिमकुमारी बुढा, थारु अपाङ्गतर्फ रामबहादुर दहित, खस आर्यतर्फ शेषुराम भण्डारी, थारु पुरुषतर्फ प्रकाश चौधरी, जनजाति पुरुषतर्फ उदय जिएम, दलित महिलातर्फ पुनम शेरपाईली, खस आर्य घाइते अपाङ्गतर्फ ईश्वरी पाण्डे, मधेसी पुरुषतर्फ मिश्रीलाल गुप्ता, अल्पसङ्ख्यक लोपोन्मुखतर्फ लीला कुमाल, खस आर्य महिलातर्फ गङ्गा पाण्डे, मुस्लिम पुरुषतर्फ कुत्बुद्धिन फारुकी, दलित घाइते पुरुषतर्फ चूडामणि नेपाली, महिला शहीद परिवारतर्फ सुशीला चौधरी तथा नवयुवा शहीद सन्तानतर्फ एमेशन चौधरी रहेका छन् ।

साबिक जिल्ला सचिव विश्वराज आचार्यका अनुसार पार्टी एकतापछि जिल्लाको संरचना पूर्ण रूपमा नबनिसकेको सन्दर्भमा केन्द्रको निर्देशनअनुसार पूर्ववत् पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार सिफारिस गरिएको हो । उनका अनुसार भोलि आइतबार संयुक्त बैठक बसेर प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिनेछ ।
यता नेकपाका केन्द्रीय सदस्य मेटमणि चौधरीले पनि आइतबार बस्ने बैठकबाट प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवार सिफारिस गरिने जानकारी दिएका छन् । पूर्व एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिवसमेत रहेका चौधरीले एक्ला एक्लै उम्मेदवार सिफारिस गर्दा पार्टीभित्र सकारात्मक सन्देश नजाने बताउँदै आइतबार नै सबै तर्फका नेताहरूको बैठक बसेर निर्णय गर्ने नेपाल प्रेसलाई जनाएका छन् ।

‘मैले पनि त्यस्तै सुनेको छ, यसले राम्रो सन्देश दिँदैन, अहिलेसम्म संरचनाले पूर्ण नपाउँदा पनि यस्तो ग्याप भएको होला, सबैलाई समेटेर भएको भए ठिकै छ नभए हामी सच्चाएर जानेछौँ, आइतबार नै बैठक बोलाएका छौँ, मैले केही समयअघि सुनेको हु’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *