
झापा । चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार यो अवधिमा पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ ।
पाँच महिनाको अवधिमा दुई हजार ६ सय २२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिए । अघिल्लो आव २०८१–८२ को सोही अवधीमा तीन अर्ब ४५ करोड ६३ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको उनले बताए ।
कार्यालयको तथ्याङ्अनुसार चालु आवको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेको छ । यो अवधिमा एक अर्ब ८५ करोड ६२ लाख सात हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१–८२ को सोही अवधिमा दुई अर्ब ७० करोड ३९ लाख ३६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईले जानकारी दिए ।
कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनीयर सिट १२९ दशमलव ९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा, सुठो ४८ दशमलव ७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५ दशमलव ५० प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ८० प्रतिशतले कमी आएको छ ।
मेची भन्साबाट चालु आव २०८२–८३ को पहिलो पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख १३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।

Leave a Reply