लुम्बिनीमा आजदेखि न्युज फेस्टिबल

रुपन्देही । लुम्बिनी प्रेस क्लब रुपन्देहीले आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना गर्दैछ । पुस १२, १३ र १४ गते बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा आयोजना गरिने कार्यक्रममा पत्रकारिता, लुम्बिनीको प्रबर्द्धन र यस क्षेत्रका मुद्दाहरुलाई राष्ट्रिय–अन्तर्राष्ट्रियकरण गर्न फेस्टिबल गर्न लागिएको क्लबका उपाध्यक्षसमेत रहेका कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले जानकारी दिए ।

लुम्बिनी न्युज फेस्टिबल कार्यक्रममा ‘मोफसल’ को समग्र पत्रकारिता, संघीयतामा प्रेसको संरचना, आर्थिक विकास र पर्यटन प्रबद्र्धनमा पत्रकारको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाको विषयमा नेपालमा अग्रज पत्रकार, सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सिर्जना गरिने उनको भनाइ छ । कार्यक्रमले मोफसलको पत्रकारितालाई उचाइ प्रदान गर्ने विश्वास लिइएको अध्यक्ष कमल रायमाझी बताउँछन् । ‘यससँगै यस क्षेत्रका आर्थिक, सामाजिक, राजनीतिक, औद्योगिक एवम् व्यवसायिक मुद्दा, स्थानीय तह र प्रदेश सरकारको भूमिका, प्रभावकारिता र गर्नुपर्ने कामबारे राष्ट्रियरुपमा नै बहस सिर्जना हुनेछ,’ उनले भने ।

तीनदिने कार्यक्रममा युवा तथा समावेशी सहभागितालाई ध्यान दिइएको रायमाझीले जनाए । कार्यक्रममा भारतको दिल्ली प्रेस क्लब, काशी पत्रकार संघ, बनारस प्रेस क्लब, गोरखपुर प्रेस क्लब, महाराजगन्ज प्रेस क्लब, सिक्किम प्रेस क्लबबाट पत्रकारहरु सहभागिताका लागि आउने क्रम शुरु भएको महासचिव प्रकाश न्यौपानेले जनाए । भारतीय राष्ट्रिय मिडियाका प्रभावशाली पत्रकारहरु र बीबीसी हिन्दीदेखि सहाराका सम्पादकहरु आउने क्रममा रहेको जनाइएको छ ।

कार्यक्रममा उनीहरुसँगै प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, मूलधारका छापा, मूलधारका टेलिभिजनका सम्पादक, मूलधारका अनलाइनका सम्पादक सहभागी हुनेछन् । यस्तै, लुम्बिनी प्रदेशबाट प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रतिपक्षी दलका नेता, प्रदेश सरकारका सचिवहरु, प्रदेश पत्रकार महासंघ, प्रदेशका १२ जिल्लाका पत्रकार महासंघका अध्यक्ष, चितवन, बर्दिया र पोखराबाट पर्यटन व्यवसायी तथा पत्रकारहरु, रुपन्देही, कपिलवस्तु र नवलपरासी (ग्रेटर लुम्बिनी) क्षेत्रका पत्रकार, स्थानीय तहका जनप्रतिनिधि, लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारी, लुम्बिनी बौद्ध विश्वविद्यालय, अधिकृत तहका कर्मचारी, उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था, विद्यार्थी र सर्वसाधरण सहभागी हुनेछन् ।

करिब ४० मिडियामाबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा ५ सयभन्दा बढी सहभागी हुनेछन् । कार्यक्रम उद्घाटन सत्रपछि ‘सीमापार सम्बन्धः आवश्यकता र सम्भावनाना’, ‘लुम्बिनीः लगानी र पर्यटनको सामर्थ्य’ र ‘पत्रकारितामा प्रश्नः जिम्मेवारी र जवाफदेहिता’ विषयमा प्यानल डिस्कसन हुनेछ । यसले लुम्बिनी क्षेत्रको ब्राण्डिङ गर्नुका साथै लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र सीमापार सम्वन्धलाई अझै मजबुत पार्ने आयोजकको भनाई छ । प्यानल छलफलमा नेपाल–भारतका चर्चित पत्रकारहरु सहभागी हुनेछन् ।

‘पत्रकारितामा सफलताका लागि काठमाडौँ भन्ने परम्परालाई बाहिर बसेकाले पनि गरेको मेहनतबारे यो कार्यक्रमले विशेष महत्व राख्ने अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाईले जनाए । ‘मुलुकमा संविधान जारी भएर संघीयता कार्यान्वयन भएको लामो समय भइसकेको छ । संघ, प्रदेश र स्थानीय सरकार कार्यान्वयन भइसकेका छन् । यससँगै सिंहदरबारको अधिकार घरघरमा पुगेको छ । यसले काठमाडौँमा केन्द्रित शासनव्यवस्था विकेन्द्रिकृत भएको छ । यससँगै मुलुकमा रहेका संचारमाध्यामले आफूलाई संघीय स्वरुप प्रदान गरिरहेका छन् । तर पत्रकारिताको मूलधार अझै संघीय राजधानीमै केन्द्रित छ । यस्ता कार्यक्रमले यी विषयलाई चिर्दै जानेछ,’ उनले भने ।

क्लबले २०७६ साल मंसिर १, २ र ३ गते प्रथम लुम्बिनी न्युज फेस्टिबल आयोजना गरेर कार्यक्रम गरेको थियो । कोरोना महामारीलगायत कारण यसलाई वार्षिक रुपमा निरन्तरता दिन नसकेपछि २०८० मा भैरहवामा दोस्रो न्युज फेस्टिबल गरेर यसपटक लुम्बिनीमा भव्यरुपमा ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना गर्न लागिएको उपाध्यक्ष दिपक घिमिरे बताउँछन् ।

क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले मोफसलमा रहेका पत्रकारहरुको क्षमता, रचना र योजना यसखालका कार्यक्रमले देखाउने बताउँदै स्वदेशसँगै विदेशबाट आउने विशिष्ट पत्रकारले यो क्षेत्रको पत्रकारितासँगै पर्यटन, आर्थिक क्षेत्र र पत्रकारिताले उठाउनुपर्ने एजेण्डाका विषयमा बहस गराउने जनाएका छन् । उनले दुई कार्यकाल क्लबका नेतृत्व गरेका छन् ।

यसपछि दीपेश पछाई, नरेश केसी, सम्झना शर्माले क्लबको नेतृत्व गरिसकेका छन् ।

यस्ता कार्यक्रमले सकारात्मक चिन्तन र आलोचनात्मक समर्थनलाई बढाउँदै लुम्बिनी र आसपास क्षेत्रका विषयमा छलफल, सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था र विदेशी मित्रराष्ट्रका कुटनीतिक नियोगहरुसँग समन्वय र सहकार्य गरी अधिकारमा आधारित दिगो विकासमा टेवा पुराउने उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *