
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं. २ बाट पत्रकार विक्रम रत्नको नाम सिफारिस भएको छ । नेपाली कम्युनिस्ट पार्टीकाे सञ्चार-सांस्कृतिक महाशाखा(पार्टी जिल्ला कमिटी)काे शुक्रवार बसेको बैठकले उनको नाम सिफारिस गरेको हो ।
महाशाखाका अध्यक्ष बुद्ध लाेप्चनकाे अध्यक्षता तथा उपत्यका विशेष प्रदेश समितिका उपाध्यक्ष तथा महाशाखा इन्चार्ज निर्मल ज्ञवालीको प्रमुख आतिथ्यतामा बसेको बैठकले रत्नको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको अध्यक्ष लाेप्चनले जानकारी दिए।
कमलामाई नगरपालिका वडा नं. १२ का स्थायी बासिन्दा रत्न विगत डेढ दशकदेखि सक्रिय पत्रकारितामा रहेका छन् । सिन्धुलीस्थित रेडियो सिद्धबाबाबाट २०६९ सालमा पत्रकारिता सुरु गरेका उनी दस वर्षदेखि मूलधारको पत्रकारितामा क्रियाशील छन् ।
एबीसी टेलिभिजन, न्यूज एजेन्सी नेपाल लगायतका आधा दर्जनभन्दा बढी सञ्चारमाध्यममा काम गरेको अनुभव रहेका उनी हाल सौर्य दैनिक पत्रिकामा आबद्ध रहेका छन् । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको सचिव रहेका पत्रकार रत्न नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सहसचिव रहेका छन् ।
पत्रकार रत्नले आफूलाई उम्मेदवार सिफारिस गर्ने निर्णयको स्वागत गर्दै आफू निर्वाचन लड्न तयार रहेको बताए । ‘राजनीतिमा नव युवापुस्ताको हस्तक्षेपकारी भूमिका आवश्यक भइसकेको छ । र त्यसका निम्ति हामी तयार हुनुपर्ने भएको छ’, उनले भने, ‘म सिन्धुली २ मा उम्मेदवारी दिन तयार छु’

Leave a Reply