नेकपाबाट सल्यानमा प्रत्यक्षतर्फ रमेश मल्लसहित ५ जनाको नाम सिफारिस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सल्यानले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

बिहीबार र शुक्रवार बसेको पार्टीको जिल्ला समितिको बैठकले रमेश मल्ल, टेकबहादुर बस्नेत, प्रकाश ज्वाला, धनबहादुर परियार र सिता विष्ट बस्नेतलाई सिफारिस गरेको हो ।

त्यस्तै, समानुपातिकतर्फ उमाकान्त शर्मा, प्रमोदकुमार श्रेष्ठ र प्रेमा अधिकारीलाई सिफारिस गरेको छ भने राष्ट्रिय सभातर्फ रत्नबहादुर वलीलाई सिफारिस गरेको छ ।

प्रत्यक्षतर्फ सिफारिस भएका प्रकाश ज्वाला सल्यानबाट २०७९ मा प्रतिनिधि सभा सदस्य, २०७४ मा कर्णाली प्रदेश सभा सदस्य, २०७० मा संविधान सभा सदस्य, २०५६ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका व्यक्ति हुन् । २०५१ सालदेखि निरन्तर चुनाव लड्दै आएका ज्वाला २०५१ र २०६४ सालको निर्वाचनमा भने पराजित भएका थिए ।

त्यस्तै, टेकबहादुर बस्नेत २०७४ मा प्रतिनिधि सभा सदस्य, पहिलो संविधान सभा २०६४ र दोस्रो संविधान सभा सदस्य २०७० मा तथा २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद सदस्य भइसकेका व्यक्ति हुन् ।

मल्ल, परियार र विष्ट भने अहिलेसम्म कुनै पनि निर्वाचनमा सहभागी भएका छैनन् । हाल नेकपाका केन्द्रीय सदस्य रहेका मल्ल लामो समय विद्यार्थी राजनीति गरेका युवा नेता हुन् । उनी तत्कालीन माओवादीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को अध्यक्ष रहनुका साथै पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा स्वकीय सचिवको जिम्मेवारी निर्वाह गरेका थिए ।

यसैबीच जिल्ला समितिले सिफारिस गरेपछि नेपाली कम्युनिष्ट पार्टीका युवा नेता रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवाद व्यक्त गरेका छन् ।

सल्यानबाट पार्टीको केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला पदाधिकारीको संयुक्त बैठकमा अधिकांशले अहिलेको अवस्था, युवाको भावना र नेतृत्व निर्माणको आवश्यकता अनुसार नयाँ पुस्तालाई उम्मेदवार बनाउन अभिव्यक्ति दिएको भन्दै मल्लले यसअघि पटक–पटक जिल्लाबाट निर्वाचित भइसकेका नेता प्रकाश ज्वाला र टेकबहादुर बस्नेतलाई अभिभावकीय भूमिकामा रहेर मार्गदर्शन गरिदिन आग्रह गरेका छन् ।

यस्तो छ मल्लको फेसबुक स्टाटस

नेपाली कम्युनिस्ट पार्टी सल्यान जिल्लाको एकता भेला तथा प्रशिक्षण कार्यक्रमले प्रत्यायोजित अधिकार अनुसार सल्यानबाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला पदाधिकारीहरूको संयुक्त बैठकमा सहभागी अधिकांश आदरणीय कमरेडहरूले वर्तमान परिवेश, युवाको भावना र नेतृत्व निर्माणको आवश्यकतालाई ध्यानमा राखी नयाँ पुस्तालाई उम्मेदवार बनाउन दिएको अभिव्यक्ति र पहलप्रति गहिरो सम्मान व्यक्त गर्दछु ।

यो विषय केवल मेरो व्यक्तिगत आकांक्षा मात्र थिएन र होइन भन्ने कुरामा म अझ दृढ र विश्वस्त बनेको छु । मेरा समादरणीय नेतृत्व कमरेड प्रकाश ज्वाला र टेकबहादुर बस्नेत अभिभावकको भूमिकामा रहँदै आवश्यक मार्गदर्शन र सहयोग प्रदान गर्नुहुनेछ भन्नेमा म पूर्ण रूपमा आश्वस्त छु ।

साथै, सम्पूर्ण सल्यानी आमा-बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको बीच छिट्टै हुने निर्वाचनको परीक्षामा सहभागी हुने अवसर प्राप्त हुने आशामा म उत्साहित र आशावादी छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *