डीआईजी सापकोटालाई नसिहत, वृत्ति विकासमा बाधा

काठमाडौँ । गृह मन्त्रालयले गरेको डीआईजी सरुवाप्रति सामाजिक सन्जालबाट असन्तुष्टि व्यक्त गरेका डीआईजी जयराज सापकोटालाई प्रहरी प्रधान कार्यालयले कारबाहीस्वरुप नसिहत दिएको छ ।

प्रधान कार्यालयस्थित कार्य विभाग, कार्य निर्देशनालय, नक्सालमा दरबन्दी भएका उनले कोशी प्रदेशमा रिक्त कार्यालय प्रमुखको सरुवामा अर्का डीआईजी विनोद घिमिरे गएपछि असन्तुष्टि व्यक्त गरेका थिए । यो कार्य प्रहरी कर्मचारीहरुको उपस्थिति मर्यादित बनाउन फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहिता सम्बन्धी कार्यादेश, २०७७, नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचार संहिता तथा नेपाल प्रहरीको सञ्चारमाध्यम (मिडिया) सम्बन्धी नीति, २०६० र प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को विपरीत भएको भन्दै उनलाई नसिहत दिइएको प्रधान कार्यालयस्रोतले जनाएको छ । यस्तो कारबाहीले उनको वृत्ति विकासमा बाधा पुग्छ ।

उनले समाजिक सन्जालमा गरेको टिप्पणी अनुशासनहीन एवम् लापरबाहीपूर्ण भएको तथा सन्तोषजनक रहेको नपाइएकोले प्रहरी नियमावली, २०७१ को नियम ११० को (क) बमोजिमको कसूरमा सोही नियमावलीको नियम ११९ को उपनियम (१) को देहाय (१०) को खण्ड (क) ले दिएको अधिकार प्रयोग गरी नियम १०९ को (क) (२) बमोजिम नसिहत दिइएको प्रधान कार्यालयस्रोतले जनाएको छ ।

सापकोटा २०५४–१०–२७ मा तत्कालीन राष्ट्रिय गुप्तचर विभागको अधिकृतमा भर्ना भई २०५८ मा सेवा परिवर्तन गरी नेपाल प्रहरीको इन्स्पेक्टर तालिमका निम्ति छनौट भएका थिए । यस्तो टोलीलाई प्रहरीभित्र ‘नमस्ते टोली’ भनेर चिनिन्छ । प्रहरीमा समायोजन हुँदा उनका बुबा हरि सापकोटा नेपाली कांग्रेसका तर्फबाट गृह राज्यमन्त्री थिए ।

उनले इच्छा जनाएको कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका विनोद घिमिरे र उनी एकै भर्ना मिति, उस्तै प्रक्रियासँगै बढुवा र तालिममा संलग्न थिए । उनीहरू २०६६–८–२६ मा डीएसपीदेखि डीआईजीसम्म एउटै व्याचका हुन् । उनीहरूको कार्यकाल २०८४ पुस २७ सम्म छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *