वैदेशिक रोजगार विभागको महानिर्देशकमा मिरा आचार्य, पहिलो महिला महानिर्देशक बनिन्

काठमाडौं । सहसचिव मिरा आचार्य वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेकी छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रशासन सुधार महाशाखा प्रमुखको जिम्मेवारीमा रहेकी आचार्यलाई केही दिन अघि सरकारले ६० जना सहसचिवको सरुवा गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको थियो ।

श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै विभागमा रिक्त रहेको महानिर्देशकमा आचार्यलाई पठाएका हुन् ।

यस अघि महानिर्देशक पदमा कार्यरत सहसचिव कमलप्रसाद भट्टराईलाई केही दिन अघि ६० जना सहसचिवको सरुवा गर्ने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा सरुवा गरिएको थियो ।

विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्ने उनी पहिलो महिला महानिर्देशक बनेकी छन् । उनले आजै विभागमा पुगेर पदभार ग्रहणसमेत गरिसकेकी छन् ।

आचार्य सामान्य प्रशासन मन्त्रालय भन्दा अघि सोही मन्त्रालय अन्तरगत रहेको राष्ट्रिय किताबखानाको उपमहानिर्देशकको जिम्मेवारीमा थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *