
रुपन्देही । बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट पाउनुपर्ने रकम भुक्तानी नभएको कारण माघ १ गतेदेखि विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत मिर्गौलाको निःशुल्क डायलाइसिस र मुटुको निःशुल्क उपचार बन्द गर्ने घोषणा गरेको छ।
सरकारले विपन्न नागरिक औषधी उपचार कार्यक्रम मार्फत मिर्गौलाका बिरामीहरूको डायलाइसिसमा एक पटक २ हजार ५ सय रुपैयाँ र मुटुका बिरामीहरूको क्याथल्याब उपचारमा १ लाख रुपैयाँ निःशुल्क उपचारका लागि सूचिकृत अस्पतालहरूलाई उपलब्ध गराउँदै आएको छ।
गौतम बुद्ध सामुदायिक मुटु अस्पताल पनि यस कार्यक्रममा सूचिकृत भई मिर्गौलाका बिरामीहरूको डायलाइसिस र मुटुका बिरामीहरूको उपचार गर्दै आएको थियो।
अस्पतालका अनुसार यस वर्ष मात्रै १,३८४ जना मुटुका बिरामी र ५५१ जना मिर्गौलाका बिरामीहरूको नियमित उपचार गरी १८ करोड ५९ लाख ५४ हजार १४ रुपैयाँ बराबरको सेवा प्रदान गरेको छ। तर, सरकारले भुक्तानी नगर्दा अस्पताल चरम आर्थिक संकटमा परेको छ।
अस्पतालका अध्यक्ष एजाज आलमले बुधबार पत्रकार सम्मेलन गरेर भने, ‘मङ्सिर मसान्तसम्म पाउन बाँकी रकम १७ करोड ८१ लाख ९ हजार ३७९ रुपैयाँ छ। अघिल्लो वर्षको रकमसहित २० करोड ३९ लाख ३१ हजार ८७९ रुपैयाँ बाँकी रहदा पनि केवल २ करोड ५८ लाख २२ हजार ५ सय रुपैयाँ मात्र भुक्तानी भएको छ। यसले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब भुक्तानी र औषधि खरिदमा समस्या सिर्जना गरेको छ।’
उनले औषधि र उपकरण सप्लाइ गर्ने कम्पनीहरूलाई भुक्तानी दिन नसक्दा उनीहरूले सेवा दिन बन्द गर्न थालेको र त्यसकारण बिरामीको उपचारमा समस्या आएको बताए।
‘सरकारले अस्पताललाई दिनुपर्ने झन्डै १८ करोड रुपैयाँ रोकेर राख्दा हामीले पनि सप्लायरहरूलाई भुक्तानी गर्न सकेका छैनौं। एउटै कम्पनीलाई दुई–तीन करोडसम्म दिन बाँकी रहँदा उनीहरूले औषधि र उपकरण आपूर्ति गर्न सकेका छैनन्। उपकरण र औषधि नभएपछि बिरामीको उपचार कसरी गर्ने ?’ अध्यक्ष आलमले प्रश्न उठाए।
गौतम बुद्ध सामुदायिक स्वास्थ्य संस्थाले २०७० सालदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। २०७३ सालदेखि क्याथल्याब सेवा सञ्चालन गरी हालसम्म ६,५६९ जनालाई एन्जियोग्राफी, एन्जियोप्लाष्ट, अस्थायी र स्थायी पेसमेकर, पेरिकार्डियो सेन्टिसिस, राइट हार्ट क्याथेटराजेसन र पीटीएमसी सेवा प्रदान गरिसकेको छ।
त्यसैगरी, २०७२ सालदेखि सुरु गरिएको मिर्गौलाको उपचार सेवाबाट हालसम्म ३,३३,७२१ सेसन निःशुल्क डायलाइसिस सेवा प्रदान भइसकेको छ। हाल पनि ५५१ जनाले नियमित रूपमा डायलाइसिस गराइरहेका छन्।
लुम्बिनी प्रदेशका सबै अस्पतालहरूमा करिब ८०० मिर्गौलाका बिरामीहरू नियमित डायलाइसिस गराइरहेका छन्। यसमध्ये गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले मात्र ५५१ जनाको सेवा प्रदान गर्दै आएको छ। बाहिरी जिल्लाबाट आउने बिरामीको आवागमनले अस्पतालको आर्थिक भार बढेको छ। यसै कारण अस्पतालले दाङको लमही, पाल्पाको तानसेन, स्याङ्जाको वालिङ र कपिलवस्तुको वाणगंगा क्षेत्रमा पनि डायलाइसिस केन्द्र सञ्चालन गरी बिरामीलाई सहज सेवा प्रदान गर्दै आएको छ।
अध्यक्ष आलमले भने, “सरकारबाट पाउनुपर्ने रकम निकासा नभएसम्म हामीले विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गतको निःशुल्क सेवा सञ्चालन गर्न सक्दैनौं। यसले बिरामीहरूमा ठूलो असर पर्नेछ र स्वास्थ्य सेवा प्रणालीमा संकट उत्पन्न हुनेछ।”

Leave a Reply