मुगुमा भाइरल ज्वरोको प्रकोप : एउटै वडाका ५ जनाको ज्यान गयो, २४ घण्टाभित्र विशेषज्ञ टोली पठाउन मन्त्रीसमक्ष माग

मुगु । मुगुमा फैलिएको भाइरल ज्वरोको प्रकोपले १७ दिनको अवधिमा एउटै वडाका ५ जनाको ज्यान लिएको छ ।

राराछायाँनाथ-१२ बामगाउँका ५ जनाको मृत्यु भइसकेको छ । मृतकमध्ये शिशु र साना बालबालिका छन् । अस्पतालमा बिरामीको चापले स्थिति नियन्त्रणबाहिर गएको भन्दै युवाहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमसमक्ष २४ घण्टाभित्र विशेषज्ञ चिकित्सक टोली पठाउन माग गरेका छन् ।

स्थानीय युवा आशिष देवकोटाका अनुसार मुगु जिल्ला अस्पतालको कमजोर अवस्था र दिनानुदिन बढ्दो बिरामीको चापले स्थिति नियन्त्रणबाहिर जाने अवस्था छ ।

मुगु जिल्ला अस्पतालमा दैनिक २०० भन्दा बढी इन्फ्लुएन्जा सम्बन्धी बिरामी उपचारका लागि पुगिरहेका छन् । तर अस्पतालमा जम्मा ५० शय्या छन् । लामो समयदेखि एक्स-रे मेसिन बिग्रिएको छ । आवश्यक औषधि र मेडिकल उपकरणको अभाव छ । अक्सिजन प्लान्टसमेत सञ्चालनमा छैन ।

‘गम्भीर अवस्थाका बिरामीको उपचारमा ठूलो समस्या छ ।’ देवकोटाले भने ।

युवाहरूले मन्त्रीलाई बुझाएको मागपत्रमा संक्रामक रोग विशेषज्ञसहितको आपतकालीन चिकित्सक, नर्स र प्राविधिक टोली २४ घण्टाभित्र मुगु पठाउन, बिग्रिएको अक्सिजन प्लान्ट र एक्स-रे मेसिन तत्काल मर्मत वा प्रतिस्थापन गर्न, इन्फ्लुएन्जा तथा श्वासप्रश्वाससम्बन्धी पर्याप्त औषधि र उपकरण आपूर्ति गर्न माग गरिएको छ । हालको ५० शय्या क्षमतालाई आपतकालीन रूपमा आईसीयू सेवासहित कम्तीमा १०० शय्यामा विस्तार गर्नुपर्ने माग गरिएको छ ।

२०६६ सालको जाजरकोट केन्द्रित झाडापखाला/हैजाको महामारीको स्मरण गराउँदै युवाहरुले समयमै हस्तक्षेप नगर्दा ठूलो मानवीय क्षति भएको इतिहास दोहोरिन नदिन सरकार गम्भीर हुनुपर्ने मन्त्रीसमक्ष माग गरेका छन् ।

‘कर्णालीले सधैँ सहेर बाँच्न सिकेको छ, तर सहनशीलताको पनि सीमा हुन्छ,’ उनीहरूले भनेका छन् ।

मुगुमा फैलिएको इन्फ्लुएन्जा अब सामान्य स्वास्थ्य समस्या नभई राज्यको संवेदनशीलता र जवाफदेहिताको परीक्षा बनेको भन्दै ढिलाइ नगरी तत्काल प्रभावकारी कदम चाल्न स्थानीयले सरकारसँग जोडदार माग गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *