मेक्सिको सिटीको संसदभित्र किन भयो कपाल लुछालुछ र गोदागोद ?

मेक्सिको सिटी । मेक्सिको सिटीको संसद (कांग्रेस) भित्र प्रत्यक्ष सत्रकै क्रममा सांसदहरूबीच रडाको मच्चिएको छ । सांसदहरू कपाल लुछालुछ र हातपातमा उत्रिएका छन् ।

पारदर्शिता तथा निगरानी निकायसम्बन्धी विधेयकमाथि भइरहेको बहस अचानक हिंसात्मक झगडामा परिणत भएपछि संसद भवन केही समय अव्यवस्थित बनेको थियो ।

घटना संसदको प्रत्यक्ष प्रसारण भइरहेकै बेला भएको हो । भिडियो फुटेजमा महिला सांसदहरूबीच एक–अर्काको कपाल तान्दै, धकेलाधकेल गर्दै र हातपातमा उत्रिएको दृश्य देखिन्छ ।

केही पुरुष सांसदहरू पनि झगडा छुट्याउने प्रयासमा देखिएका छन् । उक्त दृश्य सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ र मेक्सिकोको संसदीय मर्यादामाथि गम्भीर प्रश्न उठेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार विपक्षी दल नेशनल एक्सन पार्टीका सांसदहरूले पारदर्शिता निगरानी निकायसम्बन्धी प्रस्तावप्रति आपत्ति जनाउँदै संसदको पोडियम घेरेका थिए । त्यसपछि सत्तारूढ दल मोरेनाका सांसदहरूले पोडियम नियन्त्रणमा लिन खोज्दा दुवै पक्षबीच चर्को विवाद चुलिएको थियो । विवाद बढ्दै जाँदा बहस हातपातमा परिणत भएको बताइएको छ ।

झगडाका क्रममा केही सांसदहरू घाइते भए पनि गम्भीर चोट लागेको विवरण सार्वजनिक भएको छैन । सुरक्षाकर्मीहरूले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएका थिए भने केही समयका लागि संसदको कार्यवाही स्थगित गरिएको थियो ।

विपक्षी दलले आफूहरूले शान्तिपूर्ण रूपमा विरोध जनाएको दाबी गर्दै सत्तारूढ पक्षले बल प्रयोग गरेर हटाउन खोजेको आरोप लगाएको छ । सत्तारूढ दलका सांसदहरूले भने विपक्षी सांसदहरूले संसदीय नियम उल्लङ्घन गर्दै अराजक व्यवहार देखाएको प्रतिक्रिया दिएका छन् ।

यस घटनापछि मेक्सिकोमा संसदीय आचरण, राजनीतिक ध्रुवीकरण र लोकतान्त्रिक मर्यादाबारे व्यापक बहस सुरु भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले संसदलाई ‘लोकतन्त्रको मञ्च’ भन्दै यस्ता हिंसात्मक गतिविधिले जनप्रतिनिधिको छवि धुमिल बनाएको टिप्पणी गरेका छन् ।

विश्लेषकहरूका अनुसार मेक्सिको सिटीको संसदमा देखिएको यो दृश्य पछिल्लो समय विश्वभर बढ्दो राजनीतिक ध्रुवीकरणको प्रतीकका रूपमा पनि हेरिएको छ। संसद सचिवालयले घटनाको छानबिन गरी आवश्यक कारबाही गर्ने जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *