यू-१९ एसिया कप- लगातार तीन हारसहित निराशामा टुंगियो नेपालको यात्रा

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपालको यात्रा निराशाजनक रुपमा समाप्त भएको छ । नेपालले तीन टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्दा तीनै पटक फराकिलो हार स्वीकार्यो ।

उमेर समूह क्रिकेटमा नेपालको इतिहास गर्व गर्न लायक छ । नेपालले विश्व क्रिकेटमा आफ्नो सुरुवाती पहिचान बनाएकै उमेर समूहमा टेस्ट राष्ट्रहरूलाई हराएर हो । तर, यस पटकको एसिया कपमा नेपालले कुनै पनि टिमलाई गम्भीर चुनौती पेश गर्न सकेन । नेपालको उमेर समूह क्रिकेट स्तर खस्किँदै छ भन्ने यो प्रतियोगिताले संकेत गरेको छ ।

दुर्भाग्यवश तीनवटै म्याचमा नेपालले टस हारेर पहिले ब्याटिङमा उत्रिन बाध्य बनेको थियो । पहिलो म्याचमा श्रीलंकाविरुद्ध नेपालले ८२ रन मात्रै जोड्न सक्यो । त्यसमा पनि १९ रन अतिरिक्त पाएको थियो । नेपालका कुनै पनि ब्याटरले २० रन छुन सकेनन् । ६ जना त दोहोरो अंकमा समेत नपुगीकन आउट भएका थिए ।

८२ रनको लक्ष्य श्रीलंकाले १४.५ ओभरमै दुई विकेट गुमाएर भेट्टायो । एक विकेट रनआउटका रूपमा प्राप्त भएको थियो भने अर्को विकेट दयानन्द मण्डलले लिएका थिए ।

बंगलादेशविरुद्धको दोस्रो म्याच पनि अघिल्लोकै रिम्याचजस्तो बन्यो । बंगलादेशले टस जितेर नेपाललाई ब्याटिङमै बोलायो । नेपाल फेरि पनि सस्तैमा अलआउट भयो । फरक यति कि यसपालि नेपालले सयको स्कोर पार गर्‍यो । नेपालले ३१.१ ओभरमा १३० रन जोड्दा २३ रन अतिरिक्तका रूपमा उपहार पाएको थियो ।

बंगलादेशले पनि नेपाललाई हराउन पसिना बगाउनु परेन । ओपनर जवाद अब्राररले ७० रनको विष्फोटक पारी खेल्दै २४.५ ओभरमा बंगलादेशलाई ७ विकेटको जित दिलाए ।

आज तेस्रो म्याचमा पनि नेपालको नियति बदलिएन । फेरि टस हारेर नेपाल ब्याटिङमा उत्रियो । फेरि सस्तो योगफलमा अलआउट भयो । फेरि फराकिलो अन्तरले हार्‍यो ।

आजको म्याचमा नेपालले ४६.४ ओभरसम्म खेल्दा १२४ रन मात्रै जोड्न सक्यो । क्रिजमा टिकेका ब्याटरहरुले पनि कुनै आक्रामकता देखाउन सकेनन् । नेपालले २.६५ रनको दयनीय स्ट्राइकरेटमा रन जोडेको थियो ।

अफगानिस्तानले ४ विकेट गुमाएर नेपाललाई पराजित गरेको छ । नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमै भेट्टायो । नेपालका अभिशेख तिवारीले २ विकेट र चन्दन रामले एक विकेट लिए ।

समग्रमा नेपालले यस प्रतियोगितामा सन्तोष मान्ने कुनै पनि ठाउँ भएन । न ब्याटिङमा न बलिङमा । कुनै पनि नेपाली खेलाडीले छाप छोड्न सकेनन् । नेपाल आफ्नो समूहमा अंकतालिकाको पुछारमा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *