
काठमाडौं । सामाजिक सञ्जालमा चर्चित रहेका पत्रकार राजीव खत्री पत्रकारिता छोडेर राजनीतिको मैदानमा ओर्लिएका छन् । केही दिनअघि न्यूज २० टेलिभिजनबाट राजीनामा दिएका उनी आज औपचारिकरुपमा रास्वपामा प्रवेश गरे ।
पत्रकारितामा छँदै रास्वपाप्रति सदासयता राख्दै आएका खत्रीले सभापति रवि लामिछानेसँग कारागारमा दुईपटक छलफलपछि पार्टी प्रवेश गरेका हुन् । उनको पार्टी प्रवेश कार्यक्रममा रास्वपाको कार्यालय घन्टीघरमा निकै भिडभाड भएको थियो । पार्टीका शुभेच्छुक र सञ्चारकर्मीको बाक्लो उपस्थितिबीच रास्वपाका नेताहरुले उनलाई ब्याच लगाइदिएर पार्टीमा स्वागत गरे ।
रास्वपाले खत्रीलाई काठमाडौं ४ मा कांग्रेस महामन्त्री गगन थापाविरुद्ध उठाउने चर्चा चलेको छ । खत्री सोही क्षेत्रका मतदातासमेत हुन् । आज पार्टी प्रवेशमा सञ्चारकर्मीले उनलाई यो विषयमा प्रश्न राखेका थिए । खत्रीले स्पष्ट जवाफ दिएनन् । निर्वाचन क्षेत्रबारे निर्णय लिइनसकेको उनको भनाइ छ ।
उनले भने, ‘म काठमाडौं क्षेत्र नम्बर ४ को मतदाता हो । यसअघि मैले गगन थापालाई मतदान गर्दै आएको थिएँ । अब यही क्षेत्रबाट चुनाव लड्ने कि अन्यत्रबाट भन्ने निर्णय लिइसकेको छैन । पार्टीमा लागेपछि म एक्लैले निर्णय गर्न पनि सक्दिनँ ।’
रास्वपा स्रोतले पनि खत्रीलाई कहाँबाट उठाउने भनेर अहिल्यै तय भइनसकेको बतायो । रास्वपामा प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छनोट गर्ने विधि छ ।

Leave a Reply