डिपार्टमेन्ट स्टोरमा एकछत्र व्यापार गर्ने गोरखा धराशायी भएकै हो ?

विराटनगर । पूर्वाञ्चलमै पहिलो पटक स्थापना भएको गोरखा डिपार्टमेन्ट स्टोरको सम्पत्ति लिलामी प्रक्रियामा गएको छ । हिमालयन बैङ्कले ऋण नतिरेको भन्दै डिपार्टमेन्ट स्टोरको चल अचल सम्पत्तिको लिलामी सूचना जारी गरेको छ ।

गोरखा डिपार्टमेन्ट स्टोर पूर्वाञ्चलमै पहिलो पटक सुनसरीको इटहरीमा २०५६ साल असार २ गते बाटा व्यापार सुरु गरेको थियो । पटक पटक लिखित तथा मौखिक ताकेता गर्दासमेत बेवास्ता गरेको भन्दै बैंकले २०८२ माघ ३ गते भित्रमा भुक्तानी नभए कालोसूचीमा राखेर लोन असुल उपर गर्ने ३५ दिन लिलामी सूचना निकालेको छ ।

इटहरी, बक्लौरी, कानेपोखरी, केरौन, खोटाङको चिउरी डाँडा, हाँस पोसा, एकम्बा लगायत ठाउँमा रहेका ४२ वटा कित्ता जग्गाको लिलामी प्रक्रिया बैंकले सुरु गरेको सूचनामा उल्लेख छ । यस्तै स्टोरका सञ्चालक बलराम आचार्यले प्रयोग गर्ने गाडी ल्याडक्रुजर, टाटाको इन्ट्रा र कियाको सेल्टोस गाडीलाई समेत लिलामी प्रक्रियामा राखिएको छ । कम्पनीको प्रोप्राइटर तथा जमानीमा संलग्न रहेको भन्दै आचार्यकी श्रीमती अन्जु आचार्य खत्रीसहित जमानी बस्ने सन्तोष आचार्य, सुशील आचार्य र बलराम आचार्य स्वयंको नाममा सूचना जारी भएको छ ।

व्यापारको साम्राज्य

एकै स्थानमा खाद्यान्न, लत्ता कपडा खेलौना इलोक्ट्रोनिक सामान पाइने भएपछि डिपार्टमेन्ट प्रति आकर्षण बढेको थियो । न्याय नपाए गोरखा जानु सामान नपाए गोरखा डिपार्टमेन्ट स्टोर आउनु भन्ने नाराका साथ तीव्र रूपमा व्यापार विस्तार गरेको गोरखाले छोटो समयमै पूर्वका विभिन्न सहरहरूमा समेत सेवा विस्तार गरेको थियो । गोरखामा सामान किन्न भारतका विभिन्न सहरहरूबाट समेत ग्राहकहरू आउने गरेका थिए ।

‘सुरुका दिनमा गोरखाको एक छत्र व्यापार थियो,’ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष टङ्क दुलालले भने, ‘डिपार्टमेन्ट स्टोर पूर्वमै पहिलो भएकाले हेर्न आउने र सामान किन्नेहरूको भिड लाग्ने गर्थ्यो ।’

खाद्यान्न सामानमा विशेष छुट र अफरसहित व्यापार थालेको गोरखाले व्यापार बढेसँगै इटहरीबाहेक मोरङको विराटचोक, पथरी र झापाको दमकमा स्टोरहरू सञ्चालन गरेको थियो । यस्तै केही वर्ष अघि धरानमा पनि व्यापार सुरु गरेको गोरखाले धरानको शाखा भने बिक्री गरिसकेको छ ।

गोरखाले सपिङसँगै मलभित्र रेष्टुरेण्ट कल्चरसमेत भित्र्याएको थियो । एकै ठाउँमा सबै व्यापार थियो ।’ दुलालले भने, ‘एकै स्थानमा सबै सामान पाउने भएपछि गोरखाप्रति ग्राहकको आकर्षण बढ्दो थियो ।’

‘नुनदेखि सुनसम्म हामीकहाँ पाइन्छ ।’ स्टोरका सञ्चालक आचार्य भन्थे, ‘हामी पूर्वाञ्चलमै सबैभन्दा स्तरीय र सस्ता सामान बेच्थ्यौं ।’ स्टोरमा ५ लाख बढी किसिमका सामानहरू उपलब्ध रहेको सञ्चालक दाबी गर्थे । स्टोरमा ११ सय बढीले प्रत्यक्ष रोजगारी पाएका थिए ।

कसरी थलियो गोरखा ?

पूर्वाञ्चलको डिपार्टमेन्ट स्टोरमा एकछत्र राज भएपछि सञ्चालक आचार्यले डिपार्टमेन्ट अतिरिक्त अन्य कारोबारमा समेत हात हाले । ०६२/६३ सालको आन्दोलन र मधेस आन्दोलनपछि इटहरीमा जग्गाको कारोबार अत्यधिक बढ्यो । जग्गा कारोबार बढेपछि आचार्यले जग्गा कारोबारमा लगानी गरे । जग्गा प्लटिङसँगै उनले हाउजिङ, बेकरी उद्योग तथा कृषि फार्ममा समेत लगानी गरे । उनले इटहरीका व्यापारी भीम पौडेलसँगको साझेदारीमा इटहरीमा ५ तारे होटल बनाउने समेत योजना बनाए ।

तर घर जग्गा कारोबारमा आएको मन्दी स्टोरमा देखियो । लामो समय बलरामका सहयोगीका रूपमा डिपार्टमेन्ट स्टोरमा काम गरेका एक कर्मचारीले भने, ‘घर जग्गा र अन्य व्यवसाय डुबेपछि डिपार्टमेन्ट स्टोरमा सामान हाल्न समस्या भयो । डिलर उत्पादकले आचार्यलाई पत्याउन छाडे । डिपार्टमेन्ट स्टोरमा एक छत्र व्यापार गरिरहेको गोरखासँग प्रतिस्पर्धा गर्न भाटभटेनी पूर्व आयो ।’

भाटभटेनीले पूर्वमा व्यापार सुरु गर्दा गोरखा भने अन्य व्यवसाय डुबेका कारण समस्यामा पर्न थाल्यो । ती कर्मचारीले भने, ‘नियमित रूपमा सामानको पेमेन्ट हुन छाडेपछि गोरखालाई सामान सप्लाइ गरिरहेकाहरू अन्य तिर सरे । सामान नभएपछि गोरखाको व्यापार खस्किँदै गयो । व्यापार खस्किएकै बेला जग्गामा पूरै मन्दि आयो । मन्दीका कारण उनले होटलमा गरेको लगानी समेत उठाउन पाएनन् ।’

उनलाई नजिकबाट चिन्नेहरुका अनुसार होटलका साझेदार पौडेलले बलरामलाई धोका दिए । होटल निर्माणका लागि लगानी गर्न नसकेको भन्दै उनलाई पार्टनरबाट निकालेको चर्चा चल्ने गरेको थियो । उक्त विषयको विवाद इलाका प्रहरी कार्यालयसम्म पुगेको थियो । ढुङ्गा-गिटी व्यापारका टाइकुन पौडेलले आचार्यलाई किस्ता बन्दीमा रकम दिएर होटलको साझेदारीबाट हटाएका थिए । गरिमा होटल प्रालीबाट निर्माण सुरु भएको होटल अहिले इस्टर्न सोल्टीका रूपमा सञ्चालनमा छ ।

आचार्य भन्छन् –‘असार सम्मको सेटलमेन्ट भएको छ’

गोरखा डिपार्टमेन्ट स्टोरको चल-अचल सम्पत्ति लिलामीको विषयमा उनले व्यवहार मिलाइ सकेको बताएका छन् ।

सूचना निस्किए पनि हिसाब मिलाएको उनको दाबी छ । बैंकलाई तिर्नु पर्ने असारसम्मको हिसाब मिलाइसकिएको र पुस मसान्तसम्ममा अरू पनि ऋणको हिसाब मिलाउने उनले बताए ।

आचार्यले भने, ‘अहिले केही मानिसहरू हाम्रा विरुद्धमा लागेका छन् । यसैको प्रचार भइरहेको छ । असारसम्मको सेटलमेन्ट भइसकेको छ । अब अर्को किस्ता पुसमा सेटलमेन्ट गर्ने हो । पुस त भरखरै त लाग्दै छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *