
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका निम्ति निर्वाचन भइरहँदा आगामी केन्द्रीय कमिटीका विभिन्न पदमा आकांक्षा राखेकामध्ये प्यानलमा नपारिएका थुप्रैले झिनो आशमा उम्मेदवारी कायम राखेका छन् । तर, स्वेच्छाले आगामी नेतृत्वमा नरहने घोषणा गरेका नेताहरू न कुनै तनावमा छन्, न त दबाबमै ।
उपाध्यक्षका उम्मेदवार भीमप्रसाद आचार्य न संस्थापनको प्यानलमा परे, न त ईश्वर पोखरेल नेतृत्वकै प्यानलमा । तर, उनी मतदानस्थमा भोट माग्न सक्रियरूपमा खटिएका छन् ।
दुवैतिर नपरेपछि निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिवमा गरेको नोमिनेशनलाई निष्क्रिय पारेका छन् । संस्थापनको प्यानलमा पर्नका निम्ति संघर्ष गरे । नभएपछि ईश्वर प्यानलमा कुरा चलाए । त्यहाँ पनि नपरेपछि संस्थापनलाई समर्थन गर्दै केन्द्रीय सदस्यका लागि मात्रै भोट मागिरहेका छन् ।
उता, स्वेच्छिकरूपमा पार्टी नेतृत्वबाट बिदा हुने घोषणा गरेका नेताहरू तनाव र दबाबमुक्त छन् । तीमध्ये प्रायः नेता अहिले महाधिवेशनस्थलमा ‘रमिते’ हुनुको मज्जा लिइरहेका छन् । त्यसमध्येका निवर्तमान संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले नेपाल प्रेससँग भेटिँदा उनले भने, ‘म टोटल्ली रिल्याक्समा छु ।’
काशीनाथ एमालेको सबैभन्दा शक्तिसाली मानिने संगठन विभागका प्रमुख हुन् । उनलाई ओलीले अनुशासन आयोगको अध्यक्ष प्रस्ताव गरेका थिए । तर उनले स्वेच्छिक अवकाश रोजे ।
यस्तै अवस्थामा देखिएकी छन्, विद्या भट्टराई । अनेरास्ववियुको नेतृत्वमा केन्द्रीय महिला विभागको प्रमुख भएकी उनले सहयोद्धा रवीन्द्र अधिकारीसँग विवाह गरिन् । त्यसपछि सक्रिय राजनीतिबाट ओझेल परेकी उनले प्राध्यापन पेशा रोजिन् ।
पर्यटनमन्त्री रहेकै बेला हेलिकप्टर दुर्घटनामा पति अधिकारीको निधन भएपछि उनी फेरि राजनीतिक गतिविधिमा सक्रिय भइन् । स्थायी प्राध्यापकको जागिरबाट राजीनामा दिइन् र अधिकारीको निधनपछि रिक्त कास्की, क्षेत्र नम्बर १ बाट संघीय सांसद भइन् ।
२०७४ को संसदको आधा कार्यकाल र गत भदौमा विघटित संसद गरी दुई कार्यकाल उनले प्रतिनिधिसभा सदस्यको जिम्मेवारी बहन गरिन् । त्यसमध्ये दोस्रो कार्यकालको केही महिना शिक्षा तथा विज्ञान प्रविधि मन्त्री रहिन् । पार्टीमा पनि २०७८ को १० महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी थिइन् । तर, जारी ११ औँ महाधिवेशनबाट बिदा भइन् ।
‘कस्तो अनुभव भइरहेको छ ?’ भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भनिन्, ‘पार्टी राम्रो बनोस्, राम्रा साथीहरूले जित्नुहोस् भन्ने चाहेकी छु ।’ उनी कुनै पक्षमा खुलेर लागेकी छैनन् ।
१० औँ महाधिवेशनबाट सल्लाहकार परिषद्मा पुगेका अमृत बोहराले यसपटक उक्त भूमिका पनि स्वीकार गरेनन् । अनुशासन आयोगका अध्यक्ष केशव बडाल पनि स्वेच्छिक अवकाशमा गए । उनी महाधिवेशनस्थलमा देखिएका छैनन् ।
युवा उमेरदेखि नै आन्दोलनमा सक्रिय भएकी अष्टलक्ष्मी शाक्य पनि यही महाधिवेशनदेखि पार्टी जिम्मेवारीबाट मुक्त भएकी छन् । भूमिगतकालमै नेता अमृत बोहोरसँग दाम्पत्य जीवन शुरु गरेकी उनी सांसद, मन्त्रीदेखि बागमती प्रदेश सरकारको केही समय मुख्यमन्त्रीसम्म भइन् । १०औँ महाधिवेशनबाट उपाध्यक्ष भएकी थिइन् । यसपटक कुनै पदमा आकांक्षा राखिनन् । बरु, स्वेच्छाले पार्टी नेतृत्व बाहिरै रहने घोषणा गरिन् । उनले ईश्वर पोखरेल प्यानललाई समर्थन गरेकी छन् ।
स्वेच्छाले नेतृत्वबाहिर रहने घोषणा गरेका अर्का नेता हुन्, युवराज ज्ञवाली । इतिहास हेर्दा पुष्पलाल समूह हुँदै नेकपा माले, एमालेसम्मको यात्रामा उनी उपाध्यक्ष भएर बिदा हुन लागेका हुन् । पार्टीले सांसद, मन्त्रीसम्म बनायो । त्यसैमा चित्त बुझाएर उनले नेतृत्वबाट बिदा हुने घोषणा गरे ।
अर्का त्यागी नेता देखिए, दलबहादुर राना । उमेरले ७० टेकेको छैन । ‘काम गर्छु’ भन्दा सक्ने उमेरमै यसपटक पार्टी नेतृत्वबाट आफूखुशी बाहिरिएका छन् । पाल्पामा एमाले निर्माणकालदेखिका नेता उनले पार्टी कामका सिलसिलामा सांसद र एक कार्यकाल मन्त्रीको जिम्मेवारी पाए । मन्त्री रहँदा पुत्रवियोगले विक्षिप्त उनी त्यसयता सार्वजनिक जीवनमा पनि निस्किृय रहँदै आएका थिए । २०७२ फागुनमा काष्ठमण्डप एयरको जहाज कालिकोटमा दुर्घटना हुँदा उनका २७ वर्षीय छोरा सन्तोषको निधन भएको थियो ।
साबिकको धौलागिरी अञ्चलमा एमालेको जग निर्माण गर्ने अर्का नेता भूपेन्द्रबहादुर थापाले पनि ११ औँ महाधिवेशनबाट सक्रिय भूमिकामा नरहने घोषणा गरेका छन् । ६० वर्ष उमेर नपुग्दै उनले सक्रिय राजनीतिक जीवनबाट विश्राम लिएका हुन् । २०५४ मा म्यग्दीको जिविस उपसभापतिदेखि २०७४ को संसदीय निर्वाचनबाट सांसदसम्म भए । नवौँ महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य, १० औँ बाट केन्द्रीय सदस्य हुँदै ११ औँमा आफैँले घोषणा गरी बिदा भएका छन् । उनले म्याग्दीको पार्टी सचिवदेखि धौलागिरी अञ्चलको पार्टी नेतृत्वसम्म सम्हाले ।
स्वघोषणाबाट जिम्मेवारीबाट अलग भएका अर्का नेता हुन्, भीम केसी । २०४२ सालमै अनेरास्ववियु (पाँचौं) का केन्द्रीय सदस्य भएका उनी १० औँ महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्य भएका थिए । उक्त कार्यकालमा उनले पर्यटन विभागको उपप्रमुखको जिम्मेवारी पाए, जसका प्रमुख भीम आचार्य थिए । अहिले पोलिटब्युरो सदस्यमा उम्मेदवारी दिने व्यवस्था नभएका कारण एकै पदमा फेरि प्रतिस्पर्धा नगर्ने भन्दै बाहिरिएका हुन् । उनले बर्दियामा अखिल र युवा संघको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय नेतृत्वमा रहेर काम गरे ।
जारी महाधिवेशनपछिको केन्द्रीय कमिटीमा देख्न नपाइने अर्का नेता हुन्, कमलप्रसाद चौलागाईँ । रामेछापमा जनमोर्चा पृष्ठभूमिबाट एमाले भएका उनी केही समय श्रममन्त्री पनि भए । बीचको केही समय एमाले बाहिर रहेका चौलागाईं एमालेमा फर्किएपछि पार्टीको केन्द्रीय कमिटीमा त रहे, तर त्यति महत्वपूर्ण भूमिका पाएका थिएनन् । ११ औँ महाधिवेशनमा उनले कुनै पनि पदमा नोमिनेशन गरेनन् ।
नेकपासँग एकतापछि माओवादी धाराबाट केपी ओली पक्षमा रहे । पोलिटव्युरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज चौलागाई २०४८ मा संयुक्त जनमोर्चाबाट सांसद जितेका थिए ।
सिन्धुलीकी नेता उमा कोइराला पनि नयाँ केन्द्रीय कमिटीमा नदेखिने भएकी छन् । एमालेभित्र ओली-विद्या संघर्ष चुलिँदा ओलीको पक्षमा खुलेर लागेकी उनले पदाधिकारीको अकांक्षा राखेकी थिइन् । तर, व्यवस्थापन हुन नसक्दा केन्द्रीय नेतृत्वबाटै बिदा लिइन् ।
त्यही जिल्लाका अर्का नेता मनोज जंग थापाको पनि कुनै प्यानलमा कुरा नमिल्दा उनी बिदा हुने भएका छन् । तत्कालीन माओवादीको बादल समूहबाट एमालेमै रहेका उनी १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । पार्टीका जिल्ला इञ्चार्ज भए । यसपटक स्वयं बादलले उनको पक्षमा भूमिका नखेलेको भन्दै उनले अहिलेका लागि केन्द्रीय कमिटीको यात्रालाई विश्रम दिएका हुन् ।
सिन्धुपाल्चोकका पुराना नेता सरेश नेपाल पनि जारी महाधिवेशनमा नेतृत्व प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनले सामाजिक सञ्जालबाट उक्त घोषणा गरेका हुन् । लेखेका थिए- ‘पार्टी अध्यक्ष कमरेड केपी ओली लगायत धेरै नेतृत्व तहका कमरेडहरुसँग सिन्धुपाल्चोकको पार्टी काम अघि बढाउन केन्द्रीय कमिटीमा नयाँ अनुहारलाई ठाउँ छोड्न आफू तयार भएको जानकारी गराएकै हुँ । यसको अर्थ पार्टी र जनताको कामबाट बिमुख हुन खोजेको भने हैन । उमेदवार हुनुहुने सबै कमरेडहरुलाई शुभकामना ।’
देशमा जेन-जी लहर चलिरहँदा सोही उमेर समूहकी ईश्वरी जिएमले पार्टी नेतृत्वबाट बिदा लिएकी छन् । १० औँ महाधिवेशनबाट सबैभन्दा कम उमेरकी केन्द्रीय सदस्यको कीर्तिमान रचेकी जीएमले बालबच्चाको रेखदेखमा समय नपुगेको भन्दै त्यस्तो निर्णय लिएकी हुन् ।
उनले रोल्पामा प्रेस चौतारीको सदस्य, जिल्ला अध्यक्ष, केन्द्रीय सदस्यहुँदै पार्टीको जिल्ला, प्रदेश र केन्द्रको यात्रा तय गरेकी थिइन् । केही समयको विश्रमपछि फेरि पार्टी काममा फर्किने भनेकी छन् ।
बुधबार भृकुटीमण्डपमा मतदान चलिरहँदा उनले भनिन्, ‘सबैको साझा र जनताको स्वीकार्य पार्टी बनाउने कामबाट पछाडि हटेकी छैन, नेतृत्वबाट मात्रै बाहिर जाँदैछु ।’

Leave a Reply