
काठमाडौं । सिंहदरबारमा मन्त्री, सचिव र उच्चपदस्थ कर्मचारीका ‘आसेपासे’ लाई करारमा भर्ती गरेर पद ओगट्दा लोक सेवा पास गरेर आएका कम्प्युटर अपरेटरहरूले सास्ती भोग्नुपरेको छ । नियमअनुसार सरुवा भएर गएका ती कर्मचारीलाई मन्त्रालयहरूले हाजिर गराउन नमानेपछि उनीहरूले प्रधानमन्त्रीलाई समेत गुहारेका छ्न् ।
विभिन्न मन्त्रालयमा कार्यरत कम्प्युटर अपरेटरहरूले आफूहरूलाई हाजिर नगराइएको र महिनौँदेखि तलब नपाएको गुनासोसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् । सिंहदरबारभित्र मात्र झण्डै ५ सय कम्प्युटर अपरेटर कार्यरत् छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नासु सरहका कम्प्युटर अपरेटरहरूको नियमित सरुवा गर्दै आएको छ । तर, सरुवा भएर सम्बन्धित मन्त्रालय वा कार्यालयमा पुग्दा त्यहाँ पहिले नै करार सेवाका कर्मचारीले स्थान ओगटेको र हाजिर गराउन नमानेको एक पीडितले बताए । संघीय मामिला तथा सामान्य प्रशासनका सचिवदेखि मुख्यसचिवसम्मलाई भेटेर पदस्थापनामा नरोक्न पटकपटक अनुरोध गरे पनि सुनुवाइ नभएको उनले सुनाए ।
उनले नेपाल प्रेससँग भने, ‘स्थायी दरबन्दीमा मन्त्री र सचिवको तजबिजमा आफ्ना मान्छे राखिएको छ । कसैले रमाना लिएर गए खाली ठाउँ खोजेर जानु भन्ने जवाफ आउँछ धेरै साथीहरूले ६/७ महिनादेखि तलबसमेत पाएका छैनन् ।’
सरुवा भएर गएकालाई हाजिर र पदस्थापनाका लागि निवेदन दिँदा सचिव तथा सहसचिवहरूले अदालत जानू भन्दै गैर जिम्मेवार जवाफ दिने गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
सरकारले सार्वजनिक खर्च कटौतीमा कठोर हुने भनिरहेपनि करारका कर्मचारीलाई पालेर स्थायी कर्मचारीप्रति ‘सौतेलो’ व्यवहार गरेर उल्टो व्यवहार देखाएको पीडीत कम्प्युटर अपरेटरहरूले गुनासो गरेका छन् ।
पीडित कम्प्युटर अपरेटरहरूले सरुवा भई गएको कार्यालयमा सहज रूपमा हाजिर र पदस्थापनाको वातावरण मिलाइदिन लिखित आग्रह गरेका छन् ।


Leave a Reply