७६ वर्षको एमालेका १० महाधिवेशन : कहाँ हुँदै आयो नेतृत्व चयन र कसले सम्हाले पार्टीको बागडोर ?

काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनको मूलधार मानिने नेकपा एमाले ७६ वर्षे इतिहास बोकेको पार्टी हो । पुष्पलाल श्रेष्ठको सक्रियता तथा नेतृत्वमा विसं २००६ वैशाख १० गते स्थापना भएको नेकपा (तत्कालीन) ले अनेक प्रतिबन्ध, भूमिगत संघर्ष, विभाजन र एकताको चरण पार गर्दै आजको एमालेको स्वरूप लिएको हो ।

पार्टीको इतिहाससँगै महाधिवेशनहरू केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई वैचारिक बहस, संगठनात्मक पुनर्संरचना र राजनीतिक धार तय गर्ने निर्णायक मञ्चका रूपमा स्थापित हुँदै आएका छन् ।

स्थापनादेखि हालसम्म एमालेले १० वटा महाधिवेशनमार्फत नेतृत्व चयन गरिसकेको छ भने ११ औंबाट नेतृत्व चयन संघारमा छ ।  पहिलो महाधिवेशन पाटन-ललितपुर, दोस्रो काठमाडौँको फोहरदरबार, तेस्रो बनारस, चौथो सिरहाको विष्णुपुरकट्टी-सर्रे अम्बासमा भएको थियो ।

एमालेको पाँचौँ महाधिवेशन काठमाडौँमा, छैटौँ नेपालगन्ज, सातौँ जनकपुर, आठौँ बुटवल, नवौँ काठमाडौँ र दसौँ चितवनमा सम्पन्न भएका छन्  भने ११ औँ भक्तपुर र काठमाडौंमा भइरहेको छ ।

यी महाधिवेशनहरूबाट संस्थापक पुष्पलालसहित क्रमशः मनमोहन अधिकारी, डा.केशरजङ्ग रायमाझी, तुलसीलाल अमात्य, मदनकुमार भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली नेतृत्वमा चयन भएका थिए । त्यसो त सीपी मैनाली नेकपा मालेको संस्थापक महासचिव भए पनि महाधिवेशन गर्ने बेला भने झलनाथ खनाल थिए । यद्यपि हालसम्म एमालेको पार्टी नेतृत्व गरेका हिसाबले तुलसीलाल अमात्यपछिको निरन्तरतामा मैनाली आएका थिए ।

एकता, विभाजन र संकटका क्षणहरू

यसरी एमालेको महाधिवेशन इतिहास केवल नेतृत्व परिवर्तनको कथा होइन, राजनीतिक लाइन, वैचारिक बहस, विभाजन र पुनः एकताको लामो यात्राको साक्षी बनेको छ । यही विरासत बोकेर पार्टी आज नयाँ पुस्ता, संगठन सुदृढीकरण र आन्तरिक एकताको चुनौतीसँग एघारौँ महाधिवेशनको संघारमा छ ।

पार्टी स्थापना भएको दुई वर्षपछि नै विसं २००८ देखि २०१३ सालसम्म प्रतिबन्धित अवस्थाबाट गुज्रिएको नेकपाले भूमिगत अवस्थामै विसं २०१० माघ १० देखि २० गतेसम्म पाटन, ललितपुर र काठमाडौंमा पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो ।

सो महाधिवेशनबाट मनमोहन अधिकारी महामन्त्री (महासचिव) मा निर्वाचित भएका थिए । प्रतिबन्धित अवस्थामा समेत संगठनलाई जीवित राख्ने त्यो प्रयास नै नेपालको कम्युनिष्ट आन्दोलनको प्रारम्भिक इतिहासमा महत्त्वपूर्ण मानिन्छ ।

त्यसपछि विसं २०१४ जेठ १५ देखि २५ गतेसम्म काठमाडौंको दरबारमार्ग स्थित फोहर दरबारमा दोस्रो महाधिवेशन सम्पन्न भयो । सो महाधिवेशनबाट डा. केशरजंग रायमाझी महासचिवमा निर्वाचित भए ।

यही महाधिवेशनमा पुष्पलालको नीति पारित भए पनि नेतृत्वमा सो नीतिप्रति फरक धारणा राख्ने रायमाझीको उदय भयो, जसले पार्टीभित्र वैचारिक द्वन्द्वलाई चर्कायो । यही कालखण्डमा राजा महेन्द्रले ‘कु’ गर्दै पञ्चायती व्यवस्था लादेपछि राजनीतिक दलहरू प्रतिबन्धित भए र नेकपाभित्र पनि राजाको कदमबारे फरक–फरक व्याख्या हुन थाल्यो ।

भक्तपुरको सल्लाघारीमा भएको ११औँ महाधिवेशनको उद्घाटन समारोह ।

यसै पृष्ठभूमिमा विसं २०१९ वैशाख ४ देखि १५ गतेसम्म भारतको बनारसमा पुष्पलाल, मनमोहन अधिकारी र मोहनविक्रम सिंह पक्षले तेस्रो महाधिवेशन आयोजना ग¥यो । सो महाधिवेशनबाट तुलसीलाल अमात्य महासचिवमा निर्वाचित भए । त्यसपछि भने नेकपाभित्र विभाजनको लामो र लगभग अनन्त शृङ्खला सुरु भयो, जसले वाम आन्दोलनलाई विभिन्न धारमा छिन्नभिन्न बनायो ।

आजको एमालेको वैचारिक र संगठनात्मक धार झापा विद्रोहको पृष्ठभूमिबाट जन्मिएको हो । तत्कालीन झापा जिल्ला कमिटी, क्रान्तिकारी कम्युनिष्ट संगठन मोरङ, पूर्वको रातो झन्डा र पश्चिमको रातो झन्डालगायत समूहहरू मिलेर विसं २०३५ सालमा नेकपा (माले) स्थापना गरिएको थियो ।

मालेको संस्थापक महासचिव सीपी मैनाली थिए भने २०३९ मा मैनालीलाई हटाएर झलनाथ खनाल महासचिव भए । यही पार्टीले विसं २०४६ भदौमा चौथो महाधिवेशन आयोजना ग¥यो । विसं २०१९ सालको महाधिवेशन क्रमसँग संगति मिलाउँदै क्रम संख्या तय गरिएको थियो । सो महाधिवेशनबाट मदनकुमार भण्डारी महासचिव चयन भएका थिए ।

विसं २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच ऐतिहासिक एकता भई नेकपा एमाले गठन भयो । एकतापछि नेतृत्वका लागि अध्यक्ष पद सिर्जना गरियो र नेकपा (मार्क्सवादी) का मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष बनाइयो । मदन भण्डारी महासचिव बने । अध्यक्ष पद सेरेमोनियल र महासचिव कार्यकारी पदको रूपमा स्थापित गरिएको थियो ।

एमालेले विसं २०४९ माघ १४ देखि २० गतेसम्म काठमाडौंमा पाँचौँ राष्ट्रिय महाधिवेशन सम्पन्न ग¥यो । सो महाधिवेशनबाट मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद (जबज)’ पारित गरियो । महाधिवेशनबाट मनमोहन अधिकारी अध्यक्ष र मदन भण्डारी महासचिवमा निरन्तरता पाए । तर २०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा भण्डारी र जीवराज आश्रितको निधनपछि पार्टी नेतृत्वमा ठूलो शून्यता सिर्जना भयो र माधवकुमार नेपाललाई महासचिव बनाइयो ।

विसं २०५४ माघ १२ देखि १८ गतेसम्म बाँकेको नेपालगञ्जमा छैटौँ महाधिवेशन सम्पन्न भयो । महाकाली सन्धि लगायतका विषयमा पार्टीभित्र तीव्र मतभेद रहँदा यो महाधिवेशन आयोजना भएको थियो । महाधिवेशनमा महासचिव माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पेस गरियो भने वामदेव गौतमले ‘वर्तमान परिस्थितिमा हाम्रो कार्यनीति’ शीर्षकमा फरक मत प्रस्तुत गरे ।

प्रतिवेदनमाथि मतदान हुँदा पक्षमा ५९८ र विपक्षमा २४४ मत परेको थियो भने १० जना तटस्थ बसेका थिए । सो महाधिवेशनले मनमोहन अधिकारी अध्यक्ष र माधव नेपाल महासचिव रहेको केन्द्रीय कमिटी निर्वाचित गर्‍यो ।

‘विकृति र विसंगतिको विरुद्ध संघर्ष गरौँ, विचार धारात्मक रूपमा पार्टीलाई एकताबद्ध पारौँ’ भन्ने नाराका साथ सम्पन्न भए पनि यो महाधिवेशनले पार्टी विभाजन भने रोक्न सकेन । महाधिवेशनअघि नै सुरु भएको विवाद त्यसपछि पनि कायम रह्यो र वामदेव गौतमको नेतृत्वमा पार्टी विभाजन भयो । विभाजित भएको ठूलो हिस्सा भने सातौँ महाधिवेशनअघि नै एमालेमा फर्कियो ।

विसं २०५९ माघ १८ देखि २२ गतेसम्म जनकपुरमा सातौँ महाधिवेशन सम्पन्न भयो । ‘प्रजातन्त्र, शान्ति र समग्र विकास, प्रतिगमनविरुद्ध अग्रगामी निकास’ भन्ने नारासहित आयोजित महाधिवेशनमा महासचिव माधवकुमार नेपालको ‘राजनीतिक संगठनात्मक प्रतिवेदन’ प्रस्तुत भयो ।

केपी शर्मा ओलीको ‘पार्टी जीवनको प्रजातान्त्रीकरण सम्बन्धी धारणा र विधान संशोधन मस्यौदा’सहित अन्य चार दस्ताबेजहरू पेस भए । तर महासचिव नेपालबाहेकका अन्य दस्ताबेज स्थगित गरिए । महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा नेपाल पक्षका झन्डै दुई तिहाइ सदस्य निर्वाचित भएपछि उनी निर्विरोध महासचिव बने ।

यद्यपि, केन्द्रीय कमिटी सदस्यमा अशोक राईले सर्वाधिक मत पाए । निर्वाचित हुनेहरूमध्ये अशोक राई (८५१), भरत मोहन अधिकारी (८२२), साहना प्रधान (८१७), माधवकुमार नेपाल (८०७), मोदनाथ प्रश्रित (७९७), प्रदीप नेपाल (७६७), वामदेव गौतम (७६०), केपी शर्मा ओली (७०९) लगायत रहेका थिए ।

ओलीको नीति, झलनाथको नेतृत्व

विसं २०६५ फागुन ५ देखि १४ गतेसम्म रुपन्देहीको बुटवलमा आठौँ महाधिवेशन सम्पन्न भयो । यो महाधिवेशनले केपी शर्मा ओलीको पार्टीको लोकतान्त्रिकरण सम्बन्धी नीति पारित गरेर बहुपदमा गयो । मनमोहन अधिकारीको निधनपछि लामो समय खाली रहेको अध्यक्ष पदलाई पुनः प्रयोगमा ल्याइयो र पार्टीलाई बहुपदीय प्रणालीमा लगियो ।

यस महाधिवेशनमा अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १ र सचिव ३ पदका लागि निर्वाचन भयो । अध्यक्षमा झलनाथ खनाल र केपी शर्मा ओलीबीच प्रतिस्पर्धा भयो । खनालले ९१३ मत प्राप्त गर्दा ओलीले ७९६ मत पाए । यससँगै एमालेको पहिलो कार्यकारी अध्यक्ष बन्ने अवसर खनालले पाए ।

उपाध्यक्ष पदमा अशोक राई, वामदेव गौतम र विद्या भण्डारी निर्वाचित भए । राई र भण्डारी ओली प्यानलबाट निर्वाचित भएका थिए । उपाध्यक्षमा भिडेका भरत मोहन अधिकारी, साहना प्रधान र भीम रावल पराजित भए ।

महासचिवमा खनाल निकट रहेका ईश्वर पोखरेलले ओली समर्थित प्रदीप नेपाललाई पराजित गरे । सचिव पदमा विष्णु पौडेल, शंकर पोखरेल र युवराज ज्ञवाली निर्वाचित भए । पौडेल र पोखरेल ओली पक्षबाट प्रतिस्पर्धी बनेका थिए । सचिवमा प्रतिस्पर्धा गरेका रामचन्द्र झा, राजेन्द्र श्रेष्ठ र रघुवीर महासेठ पराजित भएका थिए ।

विसं २०७१ असार १९ देखि साउन १ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नवौँ महाधिवेशन सम्पन्न भयो । यस महाधिवेशनमा पनि खुला रूपमा गुटगत प्यानल बनाएर नेतृत्व चयनका लागि प्रतिस्पर्धा भयो । अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवका लागि निर्वाचन भयो । अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए । उनले १०४७ मत प्राप्त गर्दा प्रतिस्पर्धी माधवकुमार नेपालले १००३ मत पाए ।

उपाध्यक्ष पदमा ओली प्यानलबाट वामदेव गौतम, विद्या भण्डारी, प्रदीप नेपाल, धर्मनाथ साह र किरण गुरुङ तथा नेपाल प्यानलबाट भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, लालबाबु पण्डित र राजेन्द्र प्रसाद पाण्डे प्रतिस्पर्धामा उत्रिएका थिए । निर्वाचित हुनेमा गौतम, भण्डारी, रावल, ज्ञवाली र शाक्य थिए ।

महासचिवमा ओली प्यानलबाट ईश्वर पोखरेल र नेपाल प्यानलबाट सुरेन्द्र पाण्डे प्रतिस्पर्धी बने । पोखरेलले १०३६ मत पाएर विजयी भए भने पाण्डेले १०३० मत प्राप्त गरे । उपमहासचिवमा ओली प्यानलबाट विष्णु पौडेल र शंकर पोखरेल तथा नेपाल प्यानलबाट घनश्याम भुसाल र रघुजी पन्त प्रतिस्पर्धामा थिए ।

निर्वाचित हुनेमा पौडेल र भुसाल रहे । उनीहरूले क्रमशः १०८२ र १०९७ मत प्राप्त गरेका थिए । सचिव पदमा ओली प्यानलबाट प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, रघुवीर महासेठ र केशवलाल श्रेष्ठ तथा नेपाल प्यानलबाट गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, पर्शुमेघी गुरुङ र बेदुराम भुसाल प्रतिस्पर्धामा थिए । निर्वाचित हुनेमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य रहे ।

उतारचढाव र आँधीमय वर्षहरू

नवौँ महाधिवेशनपछि भएको राजनीतिक उतारचढावका बीच एमाले विभाजित भयो । माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भयो ।

दसौँ महाधिवेशन ०७८ को मंसिरमा चितवनको सौराहामा भयो । महाधिवेशनको मूल नारा पनि ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ नै तय गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *