ट्रम्पको आप्रवासन नियन्त्रण तेस्रो पटक विस्तार : थप पाँच देशका नागरिकलाई यात्रामा प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी यात्रा प्रतिबन्धलाई विस्तार गर्दै थप पाँच देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका छन् ।

ह्वाइट हाउसका अनुसार ‘संयुक्त राज्य अमेरिकाको सुरक्षाको रक्षा’ का लागि प्रतिबन्ध लगाइएको हो र यो जनवरी १ देखि लागू हुने बीबीसीले उल्लेख गरेको छ ।

बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरियाका साथै प्यालेस्टिनी प्राधिकरणको राहदानी धारकलाई पूर्ण-प्रवेश प्रतिबन्ध लगाइनेछ ।

प्रशासनले पहिले आंशिक प्रतिबन्धहरूको अधीनमा रहेका लाओस र सियरा लियोनलाई पनि पूर्ण प्रतिबन्ध सूचीमा राखेको छ । नाइजेरिया, तान्जानिया र जिम्बाब्वे लगायत १५ अन्य देशहरूमा आंशिक प्रतिबन्ध लगाएको छ ।

जनवरीमा ह्वाइट हाउस फर्किएदेखि नै आप्रवासन नियन्त्रण कडा पारेका ट्रम्पले भने उनको प्रशासनले विदेशमा स्क्रिनिङ र जाँच प्रणालीमा असफल भएकाले विस्तारित यात्रा प्रतिबन्ध आवश्यक रहेको जनाइएको छ ।

अधिकारीहरूले उच्च भिसा ओभरस्टे दर, अविश्वसनीय नागरिक रेकर्ड, भ्रष्टाचार, आतंकवादी गतिविधि र निर्वासित नागरिकहरूलाई स्वीकार गर्न नसकिने उल्लेख गरेका छन् ।

थ्याङ्क्सगिभिङ सप्ताहन्तमा दुई राष्ट्रिय गार्ड सैनिकहरूलाई गोली हानेको आरोपमा एक अफगानी नागरिकलाई पक्राउ गरेपछि यो घोषणा गरिएको हो । ह्वाइट हाउसले आफ्नो सुरक्षा चिन्तालाई उजागर गर्दै यो घटनालाई औंल्याएको छ ।

ट्रम्पले यात्रा प्रतिबन्ध लगाएको यो तेस्रो पटक हो ।

ट्रम्पले आफ्नो पहिलो कार्यकाल सन् २०१७ मा यस्तै आदेश लागू गरेका थिए । जसले स्वदेश र विदेशमा विरोध र कानुनी चुनौतीहरू निम्त्याएको थियो । पछि अमेरिकी सर्वोच्च अदालतले पनि यो नीतिलाई समर्थन गरेको थियो ।

ह्वाइट हाउसले प्रभावित देशहरूले पहिचान व्यवस्थापन, सूचना साझेदारी र अमेरिकी अध्यागमन अधिकारीहरूसँगको सहकार्यमा ‘विश्वसनीय सुधार’ नदेखाएसम्म प्रतिबन्धहरू कायम रहने बताएको छ । केही अपवादबाहेक यो नियम लागू हुने बताइएको छ । यो प्रतिबन्धले वैध स्थायी बासिन्दा, कूटनीतिज्ञहरू वा प्रमुख खेलकुद कार्यक्रमका लागि यात्रा गर्ने खेलाडीहरूलाई असर नगर्ने भनिएको छ ।

पूर्ण प्रतिबन्ध भएका देशहरू :

अफगानिस्तान
बुर्किना फासो
बर्मा
चाड
इक्वेटोरियल गिनी
इरिट्रिया
हैटी
इरान
लाओस
लिबिया
माली
नाइजर
कंगो गणराज्य
सियरा लियोन
सोमालिया
दक्षिण सुडान
सुडान
सिरिया
यमन

प्यालेस्टिनी प्राधिकरणले जारी गरेको वा अनुमोदित यात्रा कागजातहरूमा यात्रा गर्ने व्यक्तिहरूलाई पनि प्रवेशमा पूर्ण निलम्बन गरिनेछ बताइएको छ ।

आंशिक प्रतिबन्धहरू:

अंगोला
एन्टिगुआ र बारबुडा
बेनिन
बुरुन्डी
कोट डि’आइवर
क्युबा
डोमिनिका
गाबोन
गाम्बिया
मलावी
मौरिटानिया
नाइजेरिया
सेनेगल
तान्जानिया
टोगो
टोंगा
भेनेजुएला
जाम्बिया
जिम्बाब्वे

विशेष मामिला :
तुर्कमेनिस्तान (आप्रवासीहरूका लागि प्रतिबन्धहरू कायम छ तर गैर-आप्रवासी भिसाका लागि हटाइएको छ)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *