
काठमाडौं । चर्चित लोकगायिका ज्योति मगर हिजो र आज भृकुटीमण्डमा भएको एमालेको महाधिवेशनमा देखिइन् । उनी उत्साहसाथ नाराबाजी र नाचगान गरिरहेकी थिइन् ।
जनजातिहरूको एउटा समूहले आफ्नो समुदायका उम्मेदवारहरूको समर्थनमा झाँकी प्रदर्शन गरेको थियो । त्यही प्रदर्शनमा सहभागी भएकी ज्योति हातमा पूर्ण गुरुङको पोस्टर लिई उनलाई जिताउन भोट माग्दै थिइन् ।
जुलुसका सहभागीले ‘आयो एमाले आयो, पूर्ण गुरुङ आयो’ भन्दै नाराबाजी गरेका थिए । ज्योति पनि नाच्दै उक्त नारावाजीमा साथ दिइरहेकी थिइन् ।
ज्योति अहिलेसम्म एमाले पार्टी प्रवेश गरेकी छैनन् । यद्यपि, उनका पछिल्ला अन्तरवार्ताहरूमा एमाले र केपी शर्मा ओलीप्रति सदासयता प्रकट हुने गरेका छन् । महाधिवेशनमा देखिएको उनको सहभागिताले कतै उनी एमाले प्रवेश गर्ने तयारी त गरिरहेकी छैनन् भन्ने धेरैको मनमा लागिरहेको छ । यसै विषयको सेरोफेरोमा उनीसँग गरिएको कुराकानी-
– तपाईं एमालेको महाधिवेशनमा एकदमै उत्साह साथ देखिनुभएको थियो । एमालेमा प्रवेश गरिसक्नुभएको हो ?
हैन । मेरो एमालेमा प्रवेश गर्ने वा सदस्यता लिने कुनै तयारी छैन । तर, कुनै पनि दल वा पार्टीहरूमा राम्रा व्यक्तिहरू उठ्नुहुन्छ भने उहाँहरूलाई सपोर्ट गर्नुपर्छ भन्ने मेरो धारणा हो ।
– तपाईं महाधिवेशनमा जानुको उद्देश्य एक उम्मेदवारलाई सपोर्ट गर्नु मात्रै हो त ?
हजुर हो । पूर्णबहादुर गुरुङ हाम्रो आदिवासी जनजातिबाट केन्द्रीय सदस्यको लागि उम्मेदवार हुनुहुन्छ । उहाँलाई सपोर्ट गर्नको लागि मात्र म महाधिवेशनमा गएको हो ।
– उहाँ जनजाति भएर मात्रै सपोर्ट गर्न जानुभएको हो वा उहाँको ब्याकग्राउन्ड पनि बुझ्नुभएको छ ?
सबै कुराहरू छ । एउटा जनजातिको हिसाबले पनि भयो । हुन त मेरो रोल्पाबाट पनि हुनुहुन्छ । उहाँहरूलाई पनि मैले गर्नुपर्ने सहयोग गरिरहेको छु । पूर्णबहादुर गुरुङ तनहुँबाट हुनुहुन्छ । त्यहाँ जनजातिको बाहुल्यता धेरै छ । उहाँ त्यहाँको कला, संस्कृति, भूगोलदेखि लिएर हरेक कुरामा विशेष जानकार हुनुहुन्छ । एक त, त्यहाँ अहिले एमालेको राजनीति पुस्तान्तरण भइरहेको छैन । त्यसलाई पुस्तान्तरण गर्नुपर्यो र युवा आउनुपर्यो भनिरहँदा तनहुँमा पूर्ण गुरुङ एकदमै दक्ष क्यान्डिडेट भएकाले उहाँलाई सर्पोट गरिरहेको हो ।
– तपाईं भविष्यमा एमालेमा जाने सम्भावना कति छ ?
१०० प्रतिशत छैन । एमाले मात्रै हैन, राजनीति गर्ने नै मेरो लक्ष्य छैन । खासमा हाम्रो देश बिग्रेको नै धेरैले राजनीति गर्न थालेर हो । चोकचोकमा राजनीति, चिया पसलमा राजनीति । हामी विकासको कुरा गर्छौँ, तर हामी के कुरामा दक्ष छौँ भन्ने नै बुज्न सक्दैनौं । मलाई आफू के अनि कुन पेशामा दक्ष छु भन्ने बुझेर, त्यही पेशालाई निरन्तरता दिनुपर्छ भन्ने लाग्छ ।
– तर, एमालेको महाधिवेशनमा देखिइहँदा तपाईँलाई अब एमालेको ट्याग लाग्ने भयो नि ?
के फरक पर्छ र ट्याग लाउँदैमा ? हामी नेपाली नागरिक हौँ । हामी फलानोलाई विस्थापित गर्नुपर्यो, ओली हटाउनुपर्यो, देउवा हटाउनुपर्यो, प्रचण्ड हटाउनुपर्यो भन्छौँ । तर सही क्यान्डिडेट छान्ने त अहिलेको महाधिवेशनबाट हो नि ! महाधिवेशनबाट, स्थानीय चुनावबाट अनि त्यसपछि संघीय चुनावबाट हो । हाम्रो संविधानले पनि यही भन्छ । एउटा नेपाली नागरिक भएको हैसियतले, एउटा राम्रो क्यान्डिडेट छान्नुपर्छ । कसैलाई सपोर्ट गर्दैमा मलाई ट्याग लाग्छ भने, त्यो कुराको मलाई कुनै आपत्ति छैन।
– अबको दिनमा तपाईँले क-कसको समर्थन गरेको देख्न पाइन्छ ?
अब हेर्नुस्, पहिला हामीले प्रचण्ड, गगन थापाहरूको पनि समर्थन गरेकै हो । तर, उहाँहरूको धेरै चिजहरू चित्त बुझाउन सकिएन । अहिले केपी ओलीलाई किन समर्थन गरेको भन्छन् । केपी ओलीलाई मैले अहिलेसम्म विरोध गर्नुपर्ने कारण पनि देखेको छैन । उहाँले राष्ट्रियता र स्वाधिनताको कुरामा जसरी डिसिजन लिएर अडिक रहनुहुन्छ, त्यसले गर्दा उहाँलाई मेरो मनदेखि नै समर्थन छ ।
– अस्तिको जेन्जी आन्दोलनबारे तपाईँको धारणा के छ ?
यहाँ तपाईँ हामीले बुझ्नुपर्ने कुरा के हो भने नि, हामी कुन माध्यमबाट जाँदैछौँ भन्ने पहिला क्लियर हुनुपर्छ । हिंसात्मक आन्दोलन के हो ? क्रान्ति के हो ? हिंसा के हो ? आन्दोलन के हो र अराजकता के हो ? भन्ने कुरालाई पहिला छुट्याउनु पर्यो । बच्चाहरूलाई पनि यसबारे स्कुलिङ दिनुपर्यो । हिजो जनयुद्धमा पनि त १७ हजार मान्छेहरू मरेको हो नि ! त्यसको दोष त द्वन्द्व पक्षलाई लगाइयो । कि त्यति बेला पनि श्री ५ को सरकारले जिम्मा लिनु पर्यो ।
अहिले केपी ओली सरकारमा हुँदा, अहिलेको सबैको जिम्मेवारी उहाँले लिनुपर्छ भने, हिजोको दिनमा १७ हजार मान्छे मरेको जिम्मा पनि श्री ५ को सरकारले लिनुपर्छ । ज्ञानेन्द्रले लिनुपर्छ । हिजोको दिनमा सेम घटना हुँदा विद्रोही पक्षलाई जिम्मा लगाउने, अनि आज भने सरकार पक्षलाई दोष लगाउने ? यस्तो त पक्कै हुँदैन होला । यो छलफलको विषय नै होला । म यो विषयमा विज्ञ होइन । यसको लागि कानुनहरू होला, संविधानको धाराहरू बोल्ला । म एक्लैले बोलेर हुने पनि हैन । यसको लागि सिस्टम बोल्छ, प्रणाली बोल्छ ।
– भनेपछि तपाईँको झुकाव अहिले शतप्रतिशत ओलीतर्फ हो ?
मेरो झुकाव राष्ट्रियताको हितमा हो । देश जलाउनेभन्दा पनि देश चलाउने मान्छेतर्फ हो । उहाँहरुले जुन सुखी नेपाली, समृद्ध नेपाल भन्ने एजेन्डा उठाउनुभएको छ, त्यो केही हदसम्म काम पनि गरिरहेको छ । स्वास्थ्य, विकासका काम, बाटोघाटो, शिक्षाजस्ता क्षेत्रमा परिवर्तनहरू भइरहेको छ । यसरी नै त बिस्तारै हुदै जाने हो । परिवर्तन भनेको एकैचोटी अमेरिका त पक्कै हुने हैन होला ।
– तपाईँलाई एमालेमा कसले जितोस् जस्तो लाग्छ ? ओलीले कि ईश्वर पोखरेलले ?
त्यो चाहिँ म भन्न सक्दिनँ । म भोटर वा प्रतिनिधि भएको भए भन्थेँ । अहिले मैले अर्को पुस्ताले देश चलाउनुपर्छ भनिरहँदा ठ्याक्कै फलानाले नै जित्नुपर्छ भनेर भन्ने कुरा आउँदैन । त्यो उहाँको प्रतिनिधिहरूले नै तय गर्नुहुन्छ । उहाँहरूकै २०,२२ सय प्रतिनिधिहरू हुनुहुन्छ र उहाँहरूले एउटा कुशल नेतृत्वलाई नै जिताउनु हुन्छ भन्ने आशा पनि छ । तर, मैले व्यक्तिगत रूपमा भन्नुपर्दा, एउटा राष्ट्रियताको सवालमा चाहिँ यतिबेला केपी ओली नेपाललाई नै जरुरी छ जस्तो लाग्छ । र यो कुरा ज्योति मगरले मात्रै हैन, अरू पार्टीको मान्छेले पनि बोलेको सुनिरहेको छु । तपाईँले पनि सुन्नुभएकै होला ।
– तपाईँ एमालेको नयाँ नेतृत्वमा को नेताहरू देख्न चाहनुहुन्छ?
अहिलेको परिस्थितिलाई मात्रै हेरेर जजमेन्ट गर्नुहुँदैन । किनभने एमालेमा वर्षौंदेखि राजनीति गर्नुभएका सबैजना नै दिग्गजहरू हुनुहुन्छ । त्यसैले मैले अहिलेको परिस्थितिलाई हेरेर फलाना नै हुनुपर्छ भनेर भन्यो भने अन्याय हुन्छ । देशलाई चाहिँ केपी ओली चाहिएको छ, सँगसँगै पूर्ण गुरुङहरूजस्तो युवाहरू पनि चाहिएको छ । बाँकी कुराहरू भन्न नमिल्ला ।
– महेश बस्नेत पनि तपाईंको प्रिय नेता हो ?
महेश दाइ त आउनुपर्छ । त्यस्तो हिम्मतिलो मान्छे । जस्तो परिस्थितिमा पनि एउटा अडान भएको र सिंगो एमालेलाई काँधमा हालेर रिस्क लिएर बस्ने एकजना महेश बस्नेत मात्रै हो । उहाँको चर्चा परिचर्चा एकदमै राम्रो छ । उहाँहरू जस्तो मान्छे त नेतृत्वमा आउनुपर्छ ।
साँच्चिकै भन्नुपर्दा मैले मुक्तकण्ठले उहाँको एकदमै प्रशंसा गर्छु । अहिले सबै जना नेपालीहरू असुरक्षित भइरहेको बेला, सबै मान्छेले आफू मात्रै बचौँ अनि आफू मात्रै कसरी सुरक्षित होऔँ भनेर डराइरहेको बेला, उहाँले नेपाली युवाहरुलाई एउटा हिम्मत दिनुभएको छ । राष्ट्रियताको पाठ पढाउनुभएको छ । जिम्मेवारी कसरी बहन गर्ने भन्ने पनि सिकाउनु भएको छ । र यो कुराको म खुल्ला हृदयले प्रशंसा गर्छु ।
– अहिले नयाँ जन्मेका पार्टीहरूको विषयमा चाहिँ तपाईँको धारणा के छ?
त्यो त हेर्नै बाँकी छ नि ! उहाँहरुबारे हामीले अहिले नै धारणा बनाइहाल्न कसरी मिल्छ र ? भर्खरै एक क्लासमा पढिरहेको स्टुडेन्टलाई हामीले ब्याचलरको र मास्टर डिग्रीको वालासँग दाजेर एक्सपेक्टेसन राखेर त हुँदैन होला नि ! नयाँहरू आउनुपर्छ, सिक्नुपर्छ । तर यसको मतलब यो होइन, भर्खरै एक क्लासमा पढ्ने मान्छेले मास्टर डिग्री गरेको मान्छेलाई मात दिन सक्छ । र त्यो मान्छे अब्बल हो भनेर भन्न पनि सकिँदैन । नयाँहरु आउनुपर्छ र आउँदै पनि हुनुहुन्छ । उहाँहरूलाई स्वागत अनि बधाई छ ।
– तपाईँलाई एमालेबाहेक अरू पार्टीको समर्थनमा देख्न पाइन्छ कि पाइँदैन ?
अवश्य पाइन्छ । अरू पार्टीको महाधिवेशनमा तपाईँहरूले थाहा पाइहाल्नु हुन्छ फेरि । हुन सक्छ, नयाँ पार्टीहरूमा पनि देख्न पाइन सक्छ ।
– जेन्जी र अगाडिको पुस्तामध्ये छान्नै पर्यो भने तपाईँ कसलाई छान्नुहुन्छ ?
जेन्जी भनेको मुभमेन्ट हो । एउटा एज ग्रुप हो । मेरो घरमा मेरो बालबच्चाहरू पनि जेन्जी नै हुन् । जेन्जी भनेको पार्टी होइन पहिलो कुरा । उहाँहरूले जसरी अस्ति एउटा एजेन्डा उठाउनु भएको थियो भ्रष्टाचारविरुद्ध, त्यो बेला म पनि उही जेन्जी जस्तै भएर समर्थन गरेको थिए । उहाँहरुले भ्रष्टाचार विरुद्धमा जुन आवाज उठाउनु भयो, त्यो आवाजमा मेरो पनि आवाज एकदम बुलन्द छ । म पनि उहाँहरूको साथमा छु ।
तर, यो होइन कि नयाँ आउने बित्तिकै सबै कुरा कोल्टे नै फेर्छ । हामीले नराम्रो कुराहरूलाई सुधार्दै लाने हो र राम्रो कुरालाई स्वागत गर्दै जाने हो । राम्रो चिजको प्रचार गर्ने हो र नराम्रो कुरालाई त्याग्दै नै जाने हो । मेरो लागी राजनीतिमा पुरानो नयाँ भन्ने छैन । जहिले पनि उमेर, जात र धर्मले होइन, नियतले राजनीति गर्नुपर्छ । राजनीति भनेको स्वाधिनता, समृद्धिको र अखण्डताको पक्षमा हुनुपर्छ ।
अन्तिममा (हाँस्दै)- तर म झोले चाहिँ हैन ल !

Leave a Reply