मकवानपुरबाट ३ पुराना र ४ नयाँ अनुहार एमाले केन्द्रीय समितिमा उम्मेदवार

हेटौँडा । नेकपा एमालेको ११ औँ महाधिवेशनमा मकवानपुरका पुराना तीन र नयाँ चार अनुहार उम्मेदवार बनेका छन् । पुराना ३ केन्द्रीय सदस्यहरु दोहोरिन खोज्दा ३ केन्द्रीय सदस्यमार्फत र एक जना आयोगमार्फत केन्द्रमा प्रवेशका लागि चुनावी मैदानमा होमिएका हुन् ।

नेकपा एमालेको केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज रामेश्वर राना केन्द्रीय सदस्यका आकांक्षी छन् । उनी बागमतीको भूगोलबाट केन्द्रीय सदस्यका उम्मेदवार छन् ।

केन्द्रीय सदस्य एवम् पूर्वसांसद महेश बर्तौला खुला केन्द्रीय सदस्यका उम्मेदवार भएका छन् ।

केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य भारती पाठक पनि महिलातर्फ खुला केन्द्रीय सदस्यका उम्मेदवार छन् ।

राना, बर्तौला र पाठक निवर्तमान अध्यक्ष केपी शर्मा ओली प्यानलमा केन्द्रीय सदस्यमा समेटिएका अनुहार हुन् ।

यसपटक केन्द्रीय समितिमा चार नयाँ अनुहार पनि आकांक्षी भएका छन् ।

नेकपा एमालेका पूर्वसचिव एवम् पूर्वसांसद कृष्ण प्रसाद दाहाल खुला केन्द्रीय सदस्यको उम्मेदवार भएका छन् । निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट उनी उम्मेदवार भएका हुन् ।

यस्तै, नेकपा एमालेका पूर्वअध्यक्ष एवम् बागमती प्रदेश सभामा प्रमुख सचेतक र पूर्वमन्त्री एकालाल श्रेष्ठ पनि यसपटक एमाले केन्द्रीय सदस्यको दौडमा छन् । उनले निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले लेखेका छन्, ‘अनेरास्ववियु केन्द्रीय सदस्य र पार्टीको तल्लो तह वडा, नगर, जिल्लादेखि प्रदेशको विभिन्न पदीय जिम्मेवारीमा रहेर निरन्तर काम गर्दै आएको हुँ । अहिले बागमती प्रदेश सभामा पार्टीको प्रमुख सचेतक पनि छु । नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय कमिटी सदस्य (समावेशी आदिवासी जनजातितर्फ) उम्मेदवारी दिएको छु । महाधिवेशनमा आउनुहुने सबै प्रतिनिधि कमरेडहरूको साथ र सहयोगको अपेक्षा गर्दछु ।’

यस्तै, दलित क्लस्टरबाट नयाँ अनुहारका रुपमा देवकृष्ण विक यसपटक केन्द्रीय सदस्यको उम्मेदवार भएका छन् । उनी मकवानपुरबाट दलित क्लस्टरबाट नयाँ नेतृत्वमा आकांक्षी अनुहार हुन् ।

यस्तै, पूर्वसचिव एवम् हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देल पनि यसपटक पार्टीको लेखा आयोग सदस्यमार्फत केन्द्रीय समितिमा प्रवेशको तयारीमा छन् । उनी पनि उम्मेदवार भएर मैदानमा छन् ।
मंगलबार बिहान उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘प्रिय कमरेड अभिवादन ! केन्द्रीय लेखा आयोग सदस्यमा मेरो उम्मेदवारी दर्ता भएको कमरेडहरुलाई जानकारी गराउँदै सहयोगका लागि अपिल गदर्छु ।’

विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेका सिग्देलले २०५४ सालमा अनेरास्ववियु मकवानपुरको जिल्ला अध्यक्षको भूमिका निभाएका थिए । सिग्देल २०७४ र २०७९ मा भएको दुवै स्थानीय तहको निर्वाचनमा हेटौँडा–४ को वडा अध्यक्ष पदमा निर्वाचित हुन् । उनी नेकपा एमाले जिल्ला कमिटीमा विगत २० वर्षदेखि विभिन्न जिम्मेवारीमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *