कैलालीमा ओलीकै टिमका नेता सूचीमा नपरेपछि संस्थापन पक्षमा असन्तुष्टि, रानालाई जिताउन जुटे जिल्लाका पदाधिकारी

कैलाली । सुदूरपश्चिम प्रदेशमा केही वर्षअघिसम्म नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको टिमका प्रभावशाली नेताका रूपमा चिनिने बाजुराका कर्ण थापा र कैलालीका नारदमुनि राना हाल ओलीको आधिकारिक टिममा समावेश छैनन् । दुवै नेता ओली कमजोर अवस्थामा हुँदा पनि उनको पक्षमा दृढतापूर्वक उभिएका थिए।

नेकपाभित्र ओली पक्ष कमजोर हुँदा थापा र रानाले लेखराज भट्टलाई साथ दिँदै सुदूरपश्चिममा ओलीको राजनीतिक प्रभाव जोगाएका थिए । तर ११औँ महाधिवेशनमा भट्टलाई सचिवमा कायम गराउन ओली टिमबाटै कसरत भए पनि थापा र राना भने टिममा पर्न सकेनन् ।

भट्टले खुलेर विरोध जनाएपछि उपमहासचिवको उम्मेदवार बनाइए पनि रानालाई भने संस्थापन पक्षबाट केन्द्रीय सदस्यसम्मको सूचीमा समेत समेटिएन ।

राना तिनै नेता हुन्, जसले अघिल्लो पटक प्रतिनिधिसभा विघटन हुँदा ओलीको पक्ष लिँदै अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा माधवकुमार नेपालसँग कडा नोकझोक गरेका थिए ।

आरजु राणालाई पराजित गरी सांसद बनेका नारदमुनि राना यसअघिसम्म ओली टिमभन्दा बाहिर थिएनन् । तर ११औँ महाधिवेशनमा भने उनको नाम ओली टिमको उम्मेदवार सूचीमा परेन ।

२०६४ सालमा समानुपातिक सांसद बनेका राना २०७४ मा प्रत्यक्ष निर्वाचित भएका थिए । उनी हाल कैलाली जिल्ला इन्चार्जसमेत हुन् । ओली टिममै रहँदै आएकोतर आफ्नो नाम सूचीमा नपरेको विषयमा स्वयम् राना अचम्मित छन् ।

रानाले भने, ‘आजसम्म केपी ओलीको पक्षमा उभिएको छु। अहिले पनि उहाँकै नेतृत्वमा एमाले अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा छ। तर मेरो विषयमा विभिन्न अफवाह फैलाइएको छ। उहाँ कमजोर हुँदा पनि साथ दिएको हुँ, बलियो हुँदा कसरी छोड्न सक्छु र ?’

जिल्ला इन्चार्जसमेत रहेका रानालाई जिताउन अहिले कैलालीका जिल्लास्तरीय पदाधिकारी सक्रिय भएका छन्।

पार्टी उपाध्यक्ष लोकेन्द्र शाहीले भने, ‘कैलाली थारू बाहुल्य क्षेत्र हो, त्यसमाथि नाउपाको प्रभाव छ। यस्तो अवस्थामा नारदमुनि राना पराजित हुनु भनेको पार्टी कमजोर हुनु हो। पार्टी बलियो बनाउन उहाँले जित्नै पर्छ, हामी जिताउँछौँ ।’

उपाध्यक्ष शाहीसहित सचिव ममता प्रसाद चौधरी, उपसचिव चुडामणि भट्टलगायत नेताहरू रानाको पक्षमा प्रचारप्रसारमा जुटेका छन् । उनीहरू प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, छलफल र आह्वानमार्फत रानाको पक्षमा समर्थन जुटाउन सक्रिय देखिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक टिममा नपरे पनि नारदमुनि राना लामो समयदेखि एमाले नेतृत्वका विश्वासपात्रका रूपमा पार्टी र संगठन निर्माणमा निरन्तर सक्रिय रहँदै आएको भन्दै उनीहरूले प्रतिनिधिहरूसँग मत मागिरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *