एमाले ११औँ महाधिवेशनः सिन्धुपाल्चोकबाट डेब्युको तयारीमा यी नेता

सिन्धुपाल्चोक । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा सिन्धुपाल्चोकबाट पहिलोपटक उपाध्यक्षसहित केन्द्रीय कमिटीमा प्रवेश गर्ने नेताहरूको तयारी छ । पार्टीका संस्थापक नेतामध्ये एक अमृतकुमार बोहाराको गृहजिल्ला सिन्धुपाल्चोकबाट उनको राजनीतिक पदचाप पछ्याउँदै अरुण नेपालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । नेपाल ईश्वर पोखरेल समूहबाट उपाध्यक्षका उम्मेदवार हुन् ।

यसअघि स्थायी कमिटी सदस्य रहिसकेका शेरबहादुर तामाङ भने पदाधिकारीमा उठ्ने चर्चा चलिरहेकै बेला केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर मैदानमा उत्रिएका छन् । यस्तै, पूर्व सांसद सुवास कर्माचार्यले जनजाति क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

नेपाल, तामाङ र कर्माचार्यबाहेक सिन्धुपाल्चोकका थप छ जना नेता पहिलो पटक केन्द्रीय कमिटीमा डेब्यु गर्ने तयारीमा छन् । एमाले सिन्धुपाल्चोकका पूर्व जिल्ला अध्यक्ष तथा लिसंखुपाखर गाउँपालिकाका पूर्वअध्यक्ष कमल नेपाल बागमती प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन् ।

४० वर्षमुनिको युवा क्लस्टरबाट आङदोर्जे शेर्पा केन्द्रीय सदस्यका उम्मेदवार हुन् । तत्कालीन परायुसंघका केन्द्रीय सचिवसमेत रहिसकेका हस्त पण्डित बागमती प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवार छन् । पण्डित एमाले बागमती प्रदेश सचिव पदमा हालका सचिव नवराज सिलवालसँग एक मतले पराजित भएका थिए।

त्यसैगरी, पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा पनि पहिलोपटक केन्द्रीय सदस्यका रूपमा उम्मेदवार बनेका छन्। पूर्व संविधानसभा सदस्य डोल्मा तामाङले पनि यस महाधिवेशनबाट केन्द्रीय सदस्यमा पहिलो पटक डेब्युको तयारी गरेकी छन्। राजधानी विशेषबाट इन्जिनियर राजन थापा केन्द्रीय सदस्य पदका उम्मेदवार हुन् ।

यसैबीच, दुई कार्यकाल केन्द्रीय सदस्य रहेका नेता सरेश नेपाल र पूर्व संविधानसभा सदस्य दावा तामाङ भने ११औँ महाधिवेशनसँगै एमालेको केन्द्रीय नेतृत्वबाट औपचारिक रूपमा बिदा भएका छन् । सरेश नेपाल यसपटक ओली प्यानलबाट पोलिटब्युरो सदस्य बन्ने चर्चा चलिरहेको भए पनि उनले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने उद्देश्यसहित कुनै पनि पदमा उम्मेदवारी नदिएको बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *