
काठमाडौं । नेकपा एमालेका ११ औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवार बनेको कृष्णगोपाल श्रेष्ठले ईश्वर पोखरेल एमाले बनाउने आर्किटेक्ट भएको बताएका छन्। महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै केपी ओलीलाई दम्भीको संज्ञा दिए।
उनले भने, ‘हाम्रो तत्कालीन नेकपा मालेबाट आज एमालेको यो अवस्थासम्म आउनको लागि, पार्टी निर्माणको आर्किटेक्ट हुनुहुन्छ ईश्वर पोखरेल। नेकपा एमालेको यो स्थिति, यो स्थानसम्म पुर्याउन उहाँको योगदान अत्यन्तै महत्त्वपूर्ण भूमिका छ। तर पार्टीमा त्यस्ता व्यक्तित्वहरूलाई चाहिँ जुन अपमान, उपेक्षित गर्ने परम्परा स्थिति देखा परेको छ।’
उनले अहिले आफूहरू पार्टीभित्र अहङ्कार, दम्भ र घमन्डी प्रवृत्तिको विरुद्धमा र नेकपा एमालेलाई एउटा संस्कारयुक्त विधि प्रक्रिया र पद्धति सम्मत ढङ्गले चलाउने पार्टी बनाउन लडिरहेको बताए। नेपाली जनतालाई समृद्ध र सुखी नेपाली बनाउने अभियानमा नेकपा एमालेले पुस्तान्तरण र हस्तान्तरण नगरी अर्को विकल्प नभएको बताए।
उनले थपे, ‘यो महाधिवेशन नेकपा एमालेको एउटा लागि एउटा महत्त्वपूर्ण टर्निङ प्वाइन्ट हो। यसमा हामीले सही ढङ्गले अघि बढ्नुपर्छ। कुशल क्याप्टेन चाहिँ ईश्वर पोखरेल हुनुहुन्छ। हामी जित्ने पार्टीको प्यानलमा उठेका छौँ, गर्वका साथ भन्छौँ हामी जित्छौँ।’

Leave a Reply