
काठमाडौं । नायक प्रदीप खड्का सोमबार रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगे। उनले कारागारमा करिब १ घण्टा रवि लामिछानेसँग बिताए। १ घण्टा लामो कुराकानीमा रविले आफुलाई रास्वपामा आउन सुझाव दिएको प्रदीपले बताए।
उनले भने,‘रवि दाइसँग मेरो, मैले गोपीकृष्णको फिल्म गर्दादेखिको चिनजान हो। उहाँले आज मलाई तपाईँ च्यालेन्ज एक्सेप्ट गर्ने मान्छे हो, त्यसैले यदि मेरो कार्य र मेरा भएका कमिटमेन्टहरूमा समस्या हुँदैन भने खुला रुपमा रास्वपामा आउनुस् भन्नुभयो। मैले चलचित्रमा एक दशकको योगदान दिए, अब प्रत्यक्ष राजनीतिमा आउनुहोस भन्ने उहाँको आशय थियो।’
रविले आफुलाई रास्वपामा आउन सुझाव दिएपनि तत्काल आफ्नो कार्य छाडेर राजनीतिमा आउने मनसाय नभएको प्रदीपले सुनाए।
‘देशमा समस्या पर्दा यदि आउनै पर्ने अवस्था आयो भने पनि यहाँ म भन्दा धेरै क्यापेबल मान्छेहरू हुनुहुन्छ। तर यदि ती क्यापेबल मान्छेहरूले आफ्नो दुनो मात्र सोझाउने र आफ्नो परिवारको हितको लागि मात्रै सोच्ने गर्नुभयो भने, आवश्यक परेको खण्डमा म पछि आउला तर अहिले म एउटा कलाकार हो भनेर मैले उहाँलाई भने,’ उनले जोडे।
आफु जुन क्षेत्रमा छ, त्यसमै योगदान दिनुपर्ने र अबको अझै १० वर्ष फिल्म क्षेत्रमै आफुले योगदान दिने प्रदीपको भनाइ छ। रविलाई एकाएक भेट्न आएको बारे प्रदीप भन्छन,‘मलाइ उहाँमाथि पुरानो सरकारले एकदमै कुदृष्टि राखेर कार्य गरिरहेको र नयाँ सरकार आएपछि न्याय पाउनुहुन्छ होला जस्तो लाग्थ्यो। तर यो विगत तीन महिनाको समयलाई नियाल्दा केही भएजस्तो लागेन।’
‘अबको तीन महिना पछि चुनाव छ। रास्वपा भनेको जनताले विश्वास गरेको नयाँ शक्ती हो। अरु पनि आउँदै त हुनुहुन्छ तर सङ्गठन विस्तार भएको हिसाबले रास्वपा एकदमै प्रबल सम्भावना भएको र जनताले आशा राखेको पार्टी हो,’उनले थपे,‘अहिले हाम्रो अधिकांश दाजुभाइदिदीबहिनीहरु विदेश पलायन हुनुपर्ने अवस्था छ । कहीँलेकाही मलाई नै अब यो देश बस्न लायक छैन भन्ने सोच आउँछ। यस्तो मनमा परिरहेको बेला उहाँले भेट्ने इच्छा देखाउनुभएपछि म उहाँलाई भेट्न आएको हो।’
राजनीतिमा आउँदा रास्वपाबाटै आउनुहुन्छ ? भन्ने प्रश्नको उत्तर दिँदै उनी भन्छन,‘आउँदा नयाँ वैकल्पिक भनेकोहरूसँगै आउनुपर्छ। पुरानोहरूलाई हामीले हेरेको हो। उहाँहरूको सङ्गठन दुषित भइसक्यो। दुषित पानी फिल्टर हुन समय लाग्छ । त्यो भन्दा राम्रो खाली ठाउँमा स्वच्छ वातावरणबाट सुरु गर्छु। त्यसैले आए भने नयाँहरूसँगै मिलेर आउने हो तर अहिले मेरो त्यस्तो कुनै मनसाय छैन’
एक घण्टा लामो कुराकानीमा रविले जति वर्ष लागेपनि आफु नआत्ति पुरै प्रकिया पुरा गरेर क्लिन भएरै निस्किने बताएको प्रदीपले सुनाए।
त्यस्तै, फागुन २१ मा हुने चुनावमा नयाँ सबैलाई मिलेर अघि बढ्न पनि प्रदीपले सुझाव दिएका छन।

Leave a Reply