भारत-जोर्डनबीच ५ अर्ब डलरको व्यापार लक्ष्य

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जोर्डनका राजा अब्दुल्लाह द्वितीयले मंगलबार दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५ औं वार्षिकोत्सवका अवसरमा द्विपक्षीय व्यापारलाई दोब्बर बनाउने वाचा गरेका छन् । आगामी पाँच वर्षमा द्वीपक्षीय व्यापार ५ अर्ब अमेरिकी डलर पुर्‍याउने दुई नेताले वाचा गरेका हुन् ।

मोदी र राजा अब्दुल्लाह द्वितीयले अम्मानमा भारत-जोर्डन व्यापार मञ्चलाई सम्बोधन गर्दै दक्षिण एसिया र पश्चिम एसियाबीचको आर्थिक परिदृश्यलाई रूपान्तरण गर्न महत्वाकांक्षी रोडम्याप प्रस्तुत गरेको द स्टेट्समेनले लेखेको छ ।

मोदीको ऐतिहासिक जोर्डन भ्रमणका क्रममा आयोजित फोरममा दुवै राष्ट्रका वरिष्ठ मन्त्रीहरू र शीर्ष उद्योगीसँगै एचआरएच युवराज हुसेन सहभागी थिए ।

राजा अब्दुल्लाह द्वितीयले जोर्डनको विस्तारित स्वतन्त्र व्यापार सम्झौता र भारतको बढ्दो आर्थिक शक्ति बीचको तालमेलले विशाल व्यापार धमनीको जगको रूपमा काम गर्न सक्ने बताए ।

‘जोर्डनको अद्वितीय स्थिति र हाम्रा व्यापार सम्झौताहरू, भारतको आर्थिक क्षमतासँग मिलेर, दक्षिण एसियालाई पश्चिम एसिया र त्यसभन्दा बाहिर जोड्ने शक्तिशाली आर्थिक करिडोर सिर्जना गर्न सक्छ,’ उनले भने । राजा अब्दुल्लाहले जोर्डनलाई विश्वव्यापी बजारहरूको ‘रातो कार्पेट’ प्रवेशद्वारका रूपमा हेर्न भारतीय उद्योगीलाई अनुरोध गरे ।

मोदीले जोर्डनलाई ‘जीवन्त समकालीन साझेदार’ र क्षेत्रीय विकासको लागि एक महत्त्वपूर्ण पुलको रूपमा वर्णन गरे । उनले भारत ८ प्रतिशतको वृद्धि दर र नवप्रवर्तन नेतृत्वका रुपमा सञ्चालित विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा गएको बताए ।

नवीकरणीय ऊर्जादेखि रक्षासम्मका क्षेत्रका व्यावसायीलाई मोदीले भारतको १.४ अर्ब उपभोक्ता बजारमा प्रवेश गर्न आमन्त्रित गरे ।

‘भारत र जोर्डनले विश्वको लागि विश्वसनीय आपूर्ति शृङ्‍खला साझेदार बन्न हात मिलाउन सक्छन्,’ मोदीले भने, ‘हाम्रो स्थिर, पारदर्शी र अनुमानित नीतिगत वातावरणले हामीसँग विकास गर्न चाहने साझेदारहरूका लागि अपार अवसरहरू प्रदान गर्दछ ।’

भारत र जोर्डनले नयाँ र नवीकरणीय ऊर्जाको क्षेत्रमा प्राविधिक सहयोग, जलस्रोत व्यवस्थापन र विकासको क्षेत्रमा सहयोग, पेट्रा र एलोरा बीचको सम्झौता, २०२५-२०२९ को लागि सांस्कृतिक आदानप्रदान कार्यक्रमको नवीकरण, र डिजिटल रूपान्तरणको लागि जनस्तरमा लागू गरिएका सफल डिजिटल समाधानहरू साझा गर्ने क्षेत्रमा सहयोगको आशय-पत्रसहित अन्य समझदारीमा हस्ताक्षर गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *