
बाहिरबाट हर्क, कुलमान, रवि, बालेनलगायत जेन-जी पुस्ताको दबाब र भित्रबाट वैचारिक शून्यताले पिल्सिएको एमालेलाई जनताको बहुदलीय जनवादको आधुनिक भर्सनतिर लैजान विद्यादेवी भण्डारी र ईश्वर पोखरेलको गठबन्धन अन्तिम विकल्प बन्दैछ।
नेकपा एमाले अहिले इतिहासकै गम्भीर दोबाटोमा उभिएको छ। बाहिरबाट उदाएका हर्क साम्पाङ, कुलमान घिसिङ, रवि लामिछाने र बालेन शाह जस्ता वैकल्पिक र पोस्ट- जेन-जी शक्तिहरूले एमालेको परम्परागत संगठनलाई मात्र नभई औचित्यलाई नै चुनौती दिइरहेका छन्। हर्क साम्पाङले धरानमा माटो र श्रमको जुन देखाए, त्यसले एमालेका लाखौँ कार्यकर्तालाई पार्टीको जनताको बहुदलीय जनवाद (जबज) भोट मात्र माग्ने भाँडो हो कि देश बनाउने औजार पनि हो भनी प्रश्न गर्न बाध्य बनाएको छ।
यही बाह्य दबाब र आन्तरिक वैचारिक संकटको बीचमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशन नेतृत्व चयनको प्रक्रियामा मात्र सीमित नभई पार्टीको रि-ब्रान्डिङको लडाइँ बन्दैछ। एकातिर केपी ओलीको व्यक्तिवादी नियन्त्रण छ भने अर्कोतिर मदन भण्डारीको विरासत र आधुनिक भिजन बोकेको विद्यादेवी भण्डारी र ईश्वर पोखरेलको रणनीतिक गठबन्धन उभिएको छ।
जबजको अपहरण र ओली पथको वैचारिक विचलन
मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त मात्र नभई नेपाली समाजको आर्थिक-सामाजिक रूपान्तरणको जीवन्त घोषणापत्र थियो। जसलाई विडम्बनापूर्वक हालका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्मम अपहरण गरी जबजलाई मदन भण्डारीको क्रान्तिकारी विचारबाट अलग्याएर सत्ता र शक्तिको भर्याङ मात्र बनाए। आजको एमालेमा जबजको जप त गरिन्छ, तर व्यवहारमा ओलीवाद र बा को निरंकूश अभ्यास गरिन्छ, फरक मत राख्नुलाई गद्दारी करार गरिन्छ र आलोचनालाई अपराध जुन मदनको विचारको हत्या हो।

ओलीको कार्यकाल स्टन्ट र सस्तो पपुलिजम (लोकप्रियतावाद) को धुवाँमा बित्यो, तर देशले खोजेको २१औँ शताब्दी सुहाउँदो आर्थिक ब्लु प्रिन्ट कहिल्यै आएन । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई ध्वस्त पारेर एमालेलाई ओली एन्ड कम्पनी जस्तो निजी प्राइभेट लिमिटेडमा परिणत गरियो। विधि, पद्धति र प्रणालीलाई लत्त्याउँदै बा को आदेश नै अन्तिम सत्य मान्नुपर्ने बाध्यात्मक दासता एमाले भित्र हुर्काइयो ।
मदन भण्डारीकी धर्मपत्नी र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण रोक्ने ओलीको कदम प्राविधिक विषय नभई उनभित्र हुर्किएको चरम असुरक्षा, त्रास र नियन्त्रणमुखी सामन्ती सोचको पराकाष्ठा हो। मदनको विरासत बोक्नेहरूलाई पाखा लगाएर मदनकै नाम बेच्ने यो राजनीतिक बेइमानी अब धेरै दिन टिक्ने छैन।
विद्या भण्डारी एमालेको नेक्स्ट पावर फोर्स
दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालेर फर्किएकी विद्यादेवी भण्डारीले सामान्य कार्यकर्ताको रूपमा मात्र नभई शीतल निवासको दुई कार्यकाल राष्ट्रपतिको बसाइमा उनले देशको सर्वोच्च अभिभावकको भूमिका निर्वाह गरी समयले उनको राजनीतिक उचाइ र बुझाइलाई पूर्णतः रूपान्तरण गरिदिएको छ। कुनै समय गुटगत राजनीतिमा सक्रिय विद्या भण्डारी र अहिले स्टेट्सम्यानको छवि बनाएर फर्किएकी विद्या भण्डारीमा आकाश-जमिनको फरक छ।
शीतल निवासकोबाट उनले सत्ताको छिद्र, राज्य संयन्त्रको सीमितता र भू-राजनीतिक जटिलतालाई अत्यन्त नजिकबाट नियालेकी छिन्। चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको उच्चस्तरीय संवाद होस् वा भारतीय नेतृत्वसँगको कूटनीतिक सन्तुलन, वा पश्चिमा शक्तिहरूसँगको इन्गेजमेन्ट यी सबै अनुभवले उनलाई केपी ओलीको हल्का टिप्पणी र स्टन्टबाजी भन्दा धेरै माथि उठाइदिएको छ।
ओली आफ्ना कार्यकर्तालाई हँसाउन र विरोधीलाई खुइल्याउन समय खर्चन्छन् भने विद्या भण्डारी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आर्थिक कूटनीति र रणनीतिक अवस्थितिबारे गम्भीर विमर्श गर्ने क्षमता राख्छिन्। यो म्याच्युरिटी नै ओलीका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ।
ओलीले जतिसुकै छेक्न खोजे पनि विद्या भण्डारी एमालेभित्रको नेक्स्ट पावर फोर्स हुन्। उनीसँग मदन भण्डारीको भावनात्मक विरासत मात्र नभई हर्क साम्पाङहरूले सुरु गरेको श्रम संस्कृति लाई उद्यमशील अर्थतन्त्र र एआई युगसँग जोड्ने स्पष्ट भिजन र त्यसलाई कार्यान्वयन गर्ने एक्जिक्युसन पावर पनि छ ।
अहिलेको एमाले नेतृत्वले हर्क साम्पाङ वा बालेनहरूको उदयलाई पानीको फोका भनेर नजरअन्दाज गरिरहँदा, विद्या भण्डारीले त्यसलाई गहिराइमा विश्लेषण गरेकी छिन्। उनले बुझेकी छिन् हर्क साम्पाङले बगरमा ढुंगा बोकेर जनतालाई श्रमको सम्मान सिकाए, जुन कुरा कम्युनिस्ट पार्टीले धेरै पहिले गर्नुपर्ने थियो तर भुल्यो। देश ढुंगा मात्र बोकेर बन्दैन। हर्कले जगाएको श्रम शक्तिलाई अब आधुनिक प्रविधि, एआई र ग्लोबल मार्केटसँग नजोड्ने हो भने त्यो उत्साह निराशामा बदलिनेछ।
यो गठबन्धनको सन्देश एमाले पङ्क्तिमा आगो सरी फैलिएको छ। एकातिर ईश्वर पोखरेलले पार्टीलाई विधि, पद्धति र कमिटी प्रणालीमा फर्काउँदै भजन गाउने जमातलाई विस्थापित गरी काम गर्नेलाई जिम्मेवारी सुम्पिनेछन्, त्यहीँ अर्कोतिर विद्या भण्डारीले एमालेलाई हर्क-बालेनहरूको चुनौती सामना गर्न सक्ने आधुनिक, उद्यमशील र प्रविधिमैत्री नेशन बिल्डिङ प्लेटफर्ममा रूपान्तरण गर्नेछिन्।
यहीँनेर विद्या भण्डारीको भूमिका निर्णायक हुन्छ। हर्क साम्पाङहरू काँचो शक्ति हुन् भने विद्या भण्डारी त्यसलाई बिजुलीमा बदल्ने टरबाइन हुन्। उनको भिजन स्पष्ट छ गाउँको उत्पादनलाई विश्व बजारमा पुर्याउन प्रविधिको प्रयोग। उनले परिकल्पना गरेको जबजमा कार्यकर्तालाई झन्डा बोक्ने भिड मात्र नभई उनीहरूलाई उत्पादनसँग जोडेर उद्यमी बनाइन्छ।
विद्या भण्डारीको अर्को सबल पक्ष उनको रणनीतिक मौनता हो। ओली र उनका सहयोगीहरूले तल्लो स्तरको गालीगलौज गरिरहँदा पनि उनले कायम राखेको गरिमाले आम कार्यकर्ता र जनताको मन जितेको छ। उनी प्रतिक्रिया दिँदिनन् एक्सनको तयारी गर्छिन्। उनले बुझेकी छिन् ओलीको बा प्रवृत्तिले पार्टीलाई एउटा सानो गुटमा खुम्च्याएको छ, जबकि एमालेलाई आमा जस्तो विशाल हृदय भएको नेतृत्व चाहिएको छ जसले फरक मत राख्नेलाई लखेट्ने होइन, समेटेर मूल प्रवाहमा ल्याउन सकोस्।
एमालेलाई अब भाषण गर्ने नेता नभई डेलिभरी दिने स्टेट्सम्यान चाहिएको छ। केपी ओलीले विगत १० वर्षमा पार्टीलाई चुनाव जित्ने मेसिन त बनाए होलान्, तर देश बनाउने इन्जिन बनाउन सकेनन्। त्यो इन्जिन स्टार्ट गर्न अब चाबी विद्या भण्डारीसँग छ। उनीसँग संस्थागत स्मृति छ, राज्य सञ्चालनको अनुभव छ, र सबैभन्दा ठूलो कुरा उनीसँग गुमाउनुपर्ने केही छैन, देशलाई दिनुपर्ने जिम्मेवारी छ। त्यसैले, विद्या भण्डारीको पुनरागमन व्यक्तिको फिर्ती नभई एमालेको कोर्स करेक्सनको अन्तिम मौका हो, जहाँ उनी निर्विकल्प देखिन्छिन्।
ईश्वर पोखरेलको उम्मेदवारी निर्णायक प्रोक्सी वार र ओली सत्ताको अन्त्य
यही पृष्ठभूमिमा ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुलाई पदलोलुपता वा बार्गेनिङको रूपमा बुझ्नु राजनीतिक अपरिपक्वता हुनेछ। केपी ओलीको यथास्थितिवादी सत्ता विरुद्धको सु-विचारित, सुव्यवस्थित प्रोक्सी वार हो। यो लडाइँ पदको लागि नभई एमालेको आत्मा बचाउने निर्णायक धर्मयुद्ध हो।
ईश्वर पोखरेल को हुन् ?
उनी केपी ओलीका भजन मण्डलीका सदस्य नभई मदन भण्डारीका सहयात्री हुन्, जबजका मस्यौदाकार हुन् र एमालेको संगठनलाई जरादेखि टुप्पोसम्म चिन्ने आर्किटेक्ट हुन्। विगतका वर्षहरूमा उनले ओलीलाई बा भनेर पुज्ने नयाँ जमातलाई नजिकबाट नियालेका छन्, र पार्टी कसरी विधि-पद्धतिबाट विचलित भएर हुकुमी शैलीमा चलिरहेको छ भन्ने कुराको साक्षी बसेका छन्। अहिलेको उनको विद्रोह त्यही हुकुमी राज विरुद्धको संगठनात्मक विस्फोट हो।
केपी ओलीका लागि ईश्वर पोखरेलको उम्मेदवारी किन सबैभन्दा ठूलो खतरा हो ?
किनभने ईश्वर पोखरेलसँग एमालेको इन्स्टिच्युसनल मेमोरी छ। ओलीले नयाँ आएका अवसरवादीहरूको घेरामा बसेर पुराना निष्ठावान कार्यकर्तालाई पाखा लगाउँदा, ईश्वर पोखरेल तिनै असन्तुष्ट, अपमानित र किनारा लगाइएका अर्ग्यानिक एमाले कार्यकर्ताहरूको आवाज बनेर उभिएका छन्। ओलीले बाहिरका दुस्मनसँग लड्न सक्लान्, तर आफ्नै किचन क्याबिनेट भित्रको विद्रोहलाई दबाउन उनीसँग कुनै नैतिक धरातल बाँकी छैन।
र, यो लडाइँमा ईश्वर पोखरेल एक्लै छैनन् ।
उनको पछाडि विद्यादेवी भण्डारी को अदृश्य तर बलियो आड रहेको छ। यो गठबन्धनलाई विद्या-ईश्वर अक्षको रूपमा बुझ्न सकिन्छ, जसले ओलीलाई दुईतिरबाट चेपुवामा पारेको छ । एकातिर, विद्या भण्डारीले सफ्ट पावर अर्थात् वैचारिक र नैतिक नेतृत्वको प्रतिनिधित्व गर्छिन् जसले ओलीले बिगारेको अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्ने, राज्यका अंगहरूसँग समन्वय गर्ने र मदन भण्डारीको वास्तविक उत्तराधिकारीको रूपमा कार्यकर्तालाई भावनात्मक रूपमा जोड्ने काम गर्छिन् । ओलीले मदनको नाम भजाए पनि विद्या मदनकी सहयात्री भएकोले उनको नैतिक पुँजी ओलीका लागि अभेद्य पर्खाल हो।
अर्कोतिर, ईश्वर पोखरेलले हार्ड पावर अर्थात् संगठनात्मक शक्तिको प्रतिनिधित्व गर्छन्। महाधिवेशन प्रतिनिधि को हुन्, कसको मत कता जान्छ, र संगठनको कुन नसामा असन्तुष्टि छ भन्ने कुरा ईश्वर पोखरेललाई जति थाहा छ, ओलीको टिमलाई थाहा छैन । ओलीले जहाँ भाषणले मान्छे तान्ने प्रयास गर्छन्, त्यहाँ ईश्वरले संगठनको सूक्ष्म व्यवस्थापनले मान्छे बाँध्ने काम गर्छन् ।
तसर्थ, ईश्वर पोखरेलको उम्मेदवारी विद्या भण्डारीको पुनरागमनको रेड कार्पेट हो । केपी ओलीको बा न्यारेटिभ लाई ध्वस्त पार्ने रणनीतिक चाल हो । यदि ईश्वर पोखरेलले संगठनलाई ओलीको चङ्गुलबाट मुक्त गरे भने, त्यसपछिको एमालेको वैचारिक नेतृत्व स्वतः विद्या भण्डारीको हातमा जानेछ ।
यो गठबन्धनको सन्देश एमाले पङ्क्तिमा आगो सरी फैलिएको छ। एकातिर ईश्वर पोखरेलले पार्टीलाई विधि, पद्धति र कमिटी प्रणालीमा फर्काउँदै भजन गाउने जमातलाई विस्थापित गरी काम गर्नेलाई जिम्मेवारी सुम्पिनेछन्, त्यहीँ अर्कोतिर विद्या भण्डारीले एमालेलाई हर्क-बालेनहरूको चुनौती सामना गर्न सक्ने आधुनिक, उद्यमशील र प्रविधिमैत्री नेशन बिल्डिङ प्लेटफर्ममा रूपान्तरण गर्नेछिन्।
अबको एमाले केपी ओलीको सनकमा चल्ने कि विद्या-ईश्वरको भिजनमा चल्ने ?
यो महाधिवेशनले अध्यक्ष मात्र छान्ने छैन बरु यसले एमालेको अस्तित्वको फैसला गर्नेछ। ईश्वर पोखरेलको उम्मेदवारीले एमालेभित्रको डरको पर्खाल भत्काइदिएको छ। अब ओली निर्विकल्प छैनन्, र एमाले ओलीको निजी कम्पनी होइन भन्ने सन्देश तल्लो तहसम्म पुगेको छ।
प्रतिनिधि कमरेडहरू, इतिहासले तपाईँको विवेक माग्दैछ
महाधिवेशनमा सहभागी हुन आउनुभएका प्रतिनिधि कमरेडहरू ! भृकुटीमण्डपको हलमा छिर्नुअघि छातीमा हात राखेर एक पटक सोच्नुहोस् तपाईं कसका लागि भोट हाल्दै हुनुहुन्छ ? के तपाईं केपी ओलीको अहंकारको साम्राज्य जोगाउन भोट हाल्दै हुनुहुन्छ, वा मदन भण्डारीको रगत र पसिनाले बनेको जनताको बहुदलीय जनवादको अस्तित्व बचाउन ?
इतिहासले तपाईँलाई दुर्लभ र कठोर जिम्मेवारी सुम्पिएको छ। यो महाधिवेशन औपचारिकता नभई एमालेको भविष्यमाथिको जनमत संग्रह हो। यदि तपाईँले आज पनि बा रिसाउनुहुन्छ भनेर डरको राजनीति रोज्नुभयो भने, याद राख्नुहोस् भोलि एमाले प्रजा परिषद् बन्दा त्यसको पापको हिस्सेदार तपाईं पनि हुनुहुनेछ । बाहिर हर्क, बालेन र नयाँ शक्तिहरूले एमालेलाई तिमीहरू अब इतिहास भयौ भनेर गिज्याइरहँदा, केपी ओलीको त्यही पुरानो, बासी र एक्लो रटानले अब एमालेलाई बचाउन सक्दैन ।
ईश्वर पोखरेललाई भोट दिनु भनेको व्यक्तिलाई अध्यक्ष बनाउनु नभई ओली-गुटको कब्जाबाट पार्टीलाई मुक्त गर्नु हो। ईश्वर पोखरेललाई दिएको प्रत्येक मत विद्यादेवी भण्डारीको भिजनलाई अनुमोदन गर्ने मत हो। ईश्वर पोखरेल त माध्यम मात्र हुन्, साध्य त विद्या भण्डारीको नेतृत्वमा एमालेको पुनर्जागरण हो।
केपी ओलीले तपाईँलाई आज टिकट देलान्, पद देलान्, तर ईश्वर पोखरेल र विद्या भण्डारीले तपाईँलाई भविष्य दिनेछन्। ओलीको नेतृत्वमा एमाले अस्ताउँदो सूर्य हो भने, ईश्वर-विद्या गठबन्धनमा एमाले उदाउँदो नयाँ अर्थतन्त्र हो। ओलीले कार्यकर्तालाई दास देख्छन्, तर विद्या र ईश्वरले कार्यकर्तालाई उद्यमी र सहयात्री देख्छन्।
त्यसैले,
एमालेका स्वाभिमानी प्रतिनिधिहरू, नडराउनुहोस् ।
दासताको साङ्लो चुँडाल्नुहोस्। केपी ओलीको त्रास देखाउने कागजी बाघ अब च्यातिइसकेको छ। ईश्वर पोखरेलको पक्षमा उभिनुहोस् र मदन भण्डारीको आत्मालाई साक्षी राखेर भन्नुहोस् हामीले पार्टी बचायौँ। ईश्वर पोखरेललाई जिताउनु भनेको मदनको विरासतलाई पुनः जीवित गर्नु हो, विद्या भण्डारीलाई नेतृत्वमा स्थापित गर्नु हो र एमालेलाई हर्क-बालेन युगमा पनि सान्दर्भिक शक्तिशाली र विजयी बनाउनु हो।

आजको तपाईँको एक भोटले एमालेको अर्को २० वर्षको भविष्य तय गर्नेछ।
केपी ओलीको विघटन रोज्ने कि ईश्वर-विद्याको रूपान्तरण ?
फैसला तपाईँको हातमा छ !

Leave a Reply