
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनअन्तर्गत निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको छ । अब बाँकी रहेको मतदान भने राति ८ बजेभन्दा अगाडि शुरु गर्न नसकिने विद्युतीय मतदान उपकरणका सेवा प्रदायक रामलक्ष्मणका रामले बताएका छन् ।
दिउँसो ३ बजे उम्मेदवारको संशोधित र अन्तिम नामावली प्राप्त भएको उपकरणका व्यवस्थापक रामप्रसाद रिमालले नेपाल प्रेसलाई बताए ।
‘उहाँहरुले राति १२ बजे दिनुभएको नाम सेट भइसकेको थियो, २–३ बजे नै हामी भोटिङ गराउनसक्ने भएका थियौँ’, उनले भने, ‘फेरि ३ बजे नामहरु मिस्टेक भएका छन्, यो सच्याएर हाल्नुहोला भन्नुभयो ।’ तीन नाम मेसिनमा सेट गरेर मतदानयोग्य बनाउन ४ देखि ५ घण्टा लाग्ने उनको भनाइ छ । ८० वटा मेसिनमा ती नाम राख्नुपर्ने कारण त्यत्रो समय लाग्ने भएको हो । ‘अब भोटिङ शुरू गर्दा राति ८ त बज्छ–बज्छ, रातभरिमा सिध्याउने प्रयास छ’, उनले भने ।
एमाले महाधिवेशनका २२६३ प्रतिनिधिमध्ये एक पटकमा ८० जनाले विभिन्न विद्युतीय उपकरणमा मतदान गर्ने व्यवस्था मिलाइएको रिमालले बताए । २२६३ जनाले ८० वटा उपकरणमा मतदान गर्दा २९ देखि ३० पटकसम्ममा सबैको पालो आउँछ । तर, एकजनालाई ३० देखि ३५ मीनेट समय लाग्ने अनुमान रिमालको छ । यदि त्यस्तो भयो भने १६ देखि १७ घण्टा समय लाग्छ। यदि ८ बजे नै शुरु भयो भने सकिँदा भोलि दिउँसो १२ देखि १ सम्म बज्नसक्छ ।


Leave a Reply