
काठमाडौं । भगीरथ सापकोटा : यो नाम पर्यटन क्षेत्रमा र एमाले वृत्तमा ‘नेता’ का रुपमा चर्चित छ । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने ‘भगीरथ यात्रा’ मा छन् उनी ।
राजनीति गर्ने मान्छे उद्यमसँग जोडिनुपर्छ र उद्यमशीलताबाट देशलाई योगदान पनि दिनुपर्छ भन्ने दृष्टान्तका प्रतिनिधिपात्र पनि हुन्, भगीरथ । ठमेलस्थित गोछाली ट्राभल्सका प्रबन्ध निर्देशक उनी ०४६ देखि राजनीतिको अनवरत यात्रामा छन् ।
२०५० सालमा अनेरास्ववियुको नवलपरासी जिल्ला अध्यक्ष भएका उनले विद्यार्थी राजनीतिको यात्रालाई २०६१ सालमा केन्द्रीय अनुशासन आयोगको सचिवबाट विश्रम दिए । त्यसपछि पार्टीको उद्योग–वाणिज्य विभागमा रहँदै आएका छन् । एमालेसम्बद्ध उद्योग–व्यवसायीको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको महासचिव हुँदै हाल अध्यक्ष छन् ।
व्यावसायिक क्षेत्रमा उनी नेपाल डेभलपमेण्ट पब्लिक लिमिटेड (एनडीपी), इम्पेरियल इनोभेसन फण्ड र ट्रोइका इनर्जीका निर्देशक तथा स्टार ट्रेडर्स प्रालिका संस्थापक तथा अध्यक्षका रुपमा क्रियाशील छन् ।
राजनीतिमा अनेरास्ववियुको जिल्ला अध्यक्ष भएको समयलाई नै शुरुवात मान्दा पनि ३२ वटा वर्ष निरन्तर एमाले जीवनका रुपमा व्यतित गरिसकेका भगिरथ पदका लागि दौडधूप नगर्ने नेताका रुपमा चिनिन्छन् ।
खुलातर्फको केन्द्रीय सदस्यमा उनी ९७ नम्बरको क्रम सङ्ख्यासहित प्रतिस्पर्धामा छन् । यो अङ्क वर्णानुक्रमका आधारमा तय भएको हो । एमालेमा कार्यकर्ताको योगदानको नम्बर अङ्कन गर्ने चलन छैन । हुँदो हो त, भगिरथको नम्बर निकै अगाडि पर्छ । कामदेखि कामसम्मका यात्रीको पहिचान बनाएका उनी फेरि पनि कामबाटै प्रमाणित हुने केन्द्रीय सदस्यको यात्रामा लामबद्ध भएको बताउँछन् ।

Leave a Reply