
काठमाडौं । त्याग र समर्पणले बनेको मान्छे शतिसालझैँ दृढ हुन्छ । मकवानपुरका जनताले यसरी नै चिनेका छन्, कृष्णप्रसाद दाहाललाई । अहिले एमालेको ११ औँ महाधिवेशन चलिरहँदा मैदानमा खुलातर्फको केन्द्रीय सदस्यका एक प्रभावशाली उम्मेदवारका रुपमा उनी उभिएका छन् ।
उनले पार्टीका लागि जीवनको ऊर्जाशील समय खर्चिए । उठेजतिका चुनावमा हारेनन् । तर, न शक्तिकेन्द्रसँग उनी झुके, न उनलाई शक्तिकेन्द्रले काखी च्याप्यो । जारी महाधिवेशनमा कुनै प्यानलमा उनको नाम छैन, तर उम्मेदवारका रुपमा बलिया छन् ।
पञ्चायतकालमै प्रधानपञ्च बने । बहुदलपछि एमालेको संसदीय इतिहासमा एक बलियो खम्बाका रूपमा उदाए । केपी शर्मा ओलीलाई पार्टीको नेतृत्वमा पुर्याउन सारथि बने । आज उनी नै नेतृत्वको नजरमा पर्न नसक्दा केन्द्रीय सदस्यकै लागि संघर्ष गरिरहेका छन् ।
उनी मकवानपुरका लागि त्यस्ता नेता हुन्, जसलाई जनताले पटक–पटक पत्याए । २०४८ सालको पहिलो संसदीय निर्वाचन होस् वा २०५६ को निर्वाचन, दाहालले एमालेको झण्डालाई मकवानपुर–१ मा सधैँ उच्च राखे । पछिल्लो पटक २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनले भारी मतान्तरले विजय हासिल गरे ।
मकवानपुर क्षेत्र नं १ मा कृष्णप्रसाद दाहालबाहेक एमालेबाट अरुले जित्न सकेका छैनन् । यो तथ्यलाई २०७९ को निर्वाचन परिणामले पुष्टि गरिदियो । दाहाललाई टिकटबाट वञ्चित गरिँदा एमालेले आफ्नो सुरक्षित मानिएको मकवानपुरको क्षेत्र नम्बर १ नै गुमाउन पुग्यो ।
नेकपा एमाले मकवानपुरका पूर्वअध्यक्ष समेत रहेका दाहालले पार्टी संकटमा परेका बेला संगठनलाई नेतृत्व दिएर जोगाउन भुमिका खेले । नवौँ महाधिवेशनमा केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष बनाउन खुलेर लागे । ओली शक्तिशाली भए तर दाहाल बिस्तारै किनारामा पुगे ।
बागमती प्रदेशको अधिवेशनमा अध्यक्षको उम्मेदवार बन्दा उनले संस्थापन पक्षकै असहयोगका कारण हार बेहोरे । समकालीन नेता, मन्त्री र पार्टीका पदाधिकारी भइसक्दा दाहाल अझै केन्द्रीय सदस्यकै दौडमा रहनुले एमालेभित्रको मूल्याङ्कन पद्धतिमाथि गम्भीर प्रश्न उठाएको छ ।
पार्टीभित्र चाकरी गर्नेको बोलवाला बढ्दै जाँदा दाहाल जस्ता भुइँतहका कार्यकर्तासँग जोडिएका नेताहरू ओझेलमा छन् । पञ्चायतदेखि बहुदल र गणतन्त्रसम्म अविचलित लागेका दाहाल एमाले केन्द्रीय सदस्यको दौडमा छन् ।

Leave a Reply