
जति दिनहरू घट्दैछन, त्यति नै बढी केही मनहरूमा आगोको जलन बढ्दै छ । लाग्छ, नेकपा एमालेको महाधिवेशनको सेरोफेरोमा ती पापी मनहरू डढेर खरानी नहोस् ।
मन भित्रभित्रै विस्फोट ज्वालामुखीका पीडाले जलिरहेका ज्युँदा आत्मालाई सलाम गर्न यस कारण चाहन्छु की तपाईँहरूका मनहरू एमालेको चिन्ताले जलिरहेको छ, अध्यक्ष केपी ओलीको चिन्ताले पोलिरहेको छ । अझ भन्नुपर्दा जो एमाले हुनुहुन्न, उहाँहरूको मन बढी पोलेको छ । जो एमालेबाट लाभान्वित भई हाल अलग हुनुहुन्छ र जो एमालेको विरुद्धमा सधैँ हुनुहुन्छ, उहाँहरू जस्ता भद्र भलाद्मीमा दिन रात चिन्ता छ, पीडा छ ।
धन्य छ तपाईँहरूलाई, सदैव एमालेको वास्ता गर्ने मनोरोगी भएकोमा ! जसले एमालेको पोस्ट हाल्नेवित्तिकै गाली ओकल्नु हुन्छ । केपी ओली नाम जप्दै सत्तोसरापका कमेन्ट गर्नुहुन्छ । कतिखेर केपी र एमालेको राम्रो कुरा लेख्ला र नराम्रोले छोपौला भनेर रातमा सुत्नुहुन्न, दिनमा हिँड्नु हुन्न, बेलामा खानु हुन्न । त्यसैले त्यस्ता तन र मनलाई किन ‘थ्याङ्क्यू’ नभनूँ ? अहोरात्र एमाले र ओलीको विरोधमा अलप्नेहरूलाई किन ‘आइ लभ यु’ नभनुँ ?
तपाईँका मिहेनत देखेर खुसी लाग्छ, किनकि तपाईँले जतिसक्दो सराप्न मन लाग्छ, अघाउँजी सराप्नुस् । त्यसले एमाले र केपीलाई फलिफाप नै भइरहेको छ । झनझन बलियो र घनिभूत भइरहेको छ भन्ने सप्रमाण त भक्तपुरको तीनकुने सल्लाघारीमा देखियो । त्यहाँ आउने लाखौँ मानिसले देखे । भलै तपाईँले त्यहाँ मान्छेहरू देख्नु भएन त के भो र १ मञ्च त देख्नु भयो होला नी ! या भक्तपुरको सांस्कृतिक सहर पाँच तले (न्यातापोल) दरबारमा पो पुगे झैँ ठान्नु भयो कि रु केहीले भनिहाल्नु भो, ‘कम्युनिस्टले पनि मन्दिर बनाएछ !’
हो १ कम्युनिस्टले मन्दिर बनाउँछ, मानव सभ्यता खोज्छ, उजागर गर्छ, सांस्कृतिक संरचना पहिचान गर्छ, पुनः निर्माण गर्छ । राष्ट्र र राष्ट्रियता जोगाउन जनता जागृत गर्छ । विकासका लामो बाटो तय गर्छ र काम सुरु गर्छ । अनि देश र जनताका हितमा रूपान्तरणको सपना पनि देख्छ । त्यही हो भक्तपुरमा अडा गरिएको ऐतिहासिक मञ्चको परिभाषा ।
महाधिवेशनका बेला देशभरिका पार्टी कार्यकर्ताहरूलाई नेतृत्वको स्वस्थ आलोचना गर्न छुट दिइन्छ । प्रतिनिधिहरूलाई जिम्मेवारी लिन अवसर दिइन्छ । त्यसैका लागि महाधिवेशन गरिएको हो ।
त्यही परिभाषाभित्र नेकपा एमालेको ११ औँ महाधिवेशन खोज्नुहोस् । जहा देश बचाउने पहरेदार पाउनु हुनेछ, स्वाभिमानी नेपाली पाउनु हुनेछ । त्यो मञ्चको परिभाषाले देशलाई खरानी बनाउन उक्साउँदै सामाजिक सञ्जाल भर्नेहरू पाउनुहुन्न । देशलाई आगो लगाएर तहसनहस पार्ने पापीहरू पाउनु हुन्न । व्यक्तिका आश्रय स्थल जलाएर उठिबास लगाउने अपराधीहरू भेट्नु हुन्न ।
प्रिय पापी मनहरू, आँखामा पट्टी लगाउँदै त्यो मञ्च हेर्नू भो अर्थ पाउनु भएन, सल्लाघारीको मैदान हेर्नु भो मान्छे देख्नु भएन । जो देख्नु भो मासु भात खान आएको झोले लेख्नु भो । ठीकै छ, तपाईंहरूले त्यस्तै देख्नुलाई र सामाजिक सञ्जालमा लेख्नुलाई सम्मान प्रकट गर्न चाहन्छु । किनकि तपाईँका त्यस्ता देखाइ र लेखाइले विभिन्न ठाउँबाट राष्ट्रवादको झन्डा उठाउँदैमा सल्लाघारीमा सलह सरी सहभागी हुनेहरूलाई बदल्दैन । बरु, एक दिन तपाईँका पापी मनहरू बदलिन सक्छ, त्यहाँ ल्याइएका राष्ट्रवादको झन्डा तपाईँहरूको हातमा पनि हुनसक्छ । हामी त्यसको प्रतीक्षामा छौँ, स्वागत गर्न पर्खिरहेका छौँ ।
एमाले र केपी ओलीको नाममा अहिलेसम्म तपाईँको हातले ‘रीप’ शब्द लेख्न रहर गर्छ भने गर्न दिनुहोस् । तर, त्यो रिप शब्द उपहारले एमाले र केपी बा झनझन तागतदार हुँदैछन् । र देशको आवश्यकता र राष्ट्रिय शक्ति बन्दै छन् । प्रिय मनहरू, एमाले र केपीलाई जति सराप्नु सक्नु हुन्छ सराप्नुस् । तपाईँका ती शब्द उपहारले त्यति नै आशीष लागिराछ, आयु थपिरा छ।
यहाँनिर एमाले भित्रको कुरा त्यति गर्नु छैन । पार्टीमा आन्तरिक लोकतान्त्रिक अभ्यास आवश्यक छ । र, नेतृत्वको होडबाजीमा स्वस्थ घम्साघम्सी हुनु स्वाभाविक छ । यस्तो बेला बन्देज गरिनु, अशिष्ट हुनु र झेली गरिनु राम्रो हुँदैन । कमरेड माओले बगैँचामा फुलहरू फुल्न दिनु पर्छ भनेर अन्तर पार्टी जनवादको महत्त्व उल्लेख गर्नु भएको छ ।
नेपालको एक मात्र कम्युनिस्ट पार्टी नेकपा एमाले हो, जसले केन्द्रदेखि टोल कमिटीसम्म आवधिक निर्वाचन गर्छ । चुन्न र चुनिने अधिकार सुरक्षित गर्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तर्वार्तामा भनिसक्नु भएको छ, ‘चाहनेहरू चुनिन तयार हुनुहोस्, कसैले चुनिने अधिकारबाट वञ्चित भएको गुनासो सुन्न नपरोस् ।’ केपी ओली स्वयमले फेरि पनि चुनिएरै आउने संकेत दिनु भएको छ ।
अब इच्छुकले हिम्मत गरे भो । जित्नका लागि प्रतिनिधिहरूको मन जिते भो । मत तान्न कोसिस गरे भो । बाहिरी पक्षसँग र मिडियामा दश थरी मन गढन्ते तर्क वितर्क गरेर केही अर्थ छैन । अर्कोतिर, पापी मनहरूले उचाल्दैमा धुरी नचढ्नुहोला, उत्ताउलो नहुनुहोला । त्यसो गर्दा धुरीबाट आँगनमा पछारिनुहुन्छ भन्ने हेक्का राख्नुहोला । उत्ताउलो गाई बाघले खाई जस्तै नहुनु होला । बरु, खुरुखुरु प्रतिनिधिहरूलाई एजेन्डा बाँड्नुस्, भोट लिनुस्, जित्नुस् । प्रतिनिधि हलभन्दा बाहिर बस्ने एमालेका शुभचिन्तकहरू तपाईं नेताहरूका त्यस्तो व्यवहारबाट नै बढी प्रभावित हुन्छन् भन्ने ख्याल राख्नुहोस् ।
यो विधि सुरक्षित राखेरै अध्यक्ष केपी ओलीले ‘खास नेताहरू समेटिनुपर्छ, सर्वसम्मतिले महाधिवेशन सक्नुपर्छ‘ भनेर आन्तरिक लोकतन्त्र मजबुत बनाउँदै हुनुहुन्छ । महाधिवेशन पूर्व बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले स्थापित नेताहरूलाई समेट्न पदाधिकारी र अन्य पदहरूको संख्या थप्ने प्रस्ताव पनि त्यसैले गरिएको हो । उक्त निर्णयले प्रिय पापी मनहरूका लागि अर्को धक्का लाग्न सक्छ । यही महाधिवेशनबाट एमाले टुक्रा टुक्रा हुन्छ भनेर लेख्नेहरूका जागिर टुट्न सक्छ । किनकि, फेरि पनि अध्यक्ष ओलीकै नेतृत्वमा वा अध्यक्ष ओलीले खोजेको विकल्पमा सर्वसम्मत ढङ्गले महाधिवेशन सकियो भने पनि अन्यथा नमान्नुस्, आलोचना गर्नका लागि अर्को शीर्षक खोज्दै गर्नुस् ।
धन्य छ तपाईँहरूलाई, सदैव एमालेको वास्ता गर्ने मनोरोगी भएकोमा ! जसले एमालेको पोस्ट हाल्नेवित्तिकै गाली ओकल्नु हुन्छ । केपी ओली नाम जप्दै सत्तोसरापका कमेन्ट गर्नुहुन्छ । कतिखेर केपी र एमालेको राम्रो कुरा लेख्ला र नराम्रोले छोपौला भनेर रातमा सुत्नुहुन्न, दिनमा हिँड्नु हुन्न, बेलामा खानु हुन्न । त्यसैले त्यस्ता तन र मनलाई किन ‘थ्याङ्क्यू’ नभनूँ ?
नेकपा एमालेको लागि विचार र नेतृत्वको सैद्धान्तिक, दार्शनिक, व्यवहारिक पक्षहरूमा बहस गर्दै महाधिवेशन हुनु परम्परा नै हो । त्यसैले यो बेला पार्टीका कमिटीहरू र कार्यकर्ताहरूले भावी नेतृत्वका बारे बहस गर्नु पनि अनौठो हुँदै होइन । यतिखेर नै हो, नेतालाई गल्ती महसुस गराउने, क्षमा याचना गराउने, सुध्रन सचेत गराउने । पुनः नेतृत्वमा जाने आकाङ्क्षाका कारण नेताहरूले प्रतिनिधिका कुरा सुन्ने बेला यही हो । त्यसैले, पार्टीपंक्तिभित्र नेता र नेतृत्वबारे खुलेर बहस गर्न कोही डराउनु पर्दैन ।
नेकपा एमालेले निर्धारित समयभन्दा केही पहिले महाधिवेशन गर्नुको कारण जेन्जी प्रदर्शनपछि उठेका केही प्रश्नहरूको निराकरण गर्नु पनि हो । देशी विदेशीको घृणित चलखेल र आरोपभित्र सत्य खोज्नु पनि हो । त्यसै क्रममा एमाले नेता महेश बस्नेतले नेतृत्व र पार्टीको साख जोगाउन सुरु गरे । त्यो अभियानपछि अध्यक्ष केपी ओलीको आवश्यकता र आकर्षणमा पुनरुत्थान भयो ।
त्यसैगरी, एमालेका कमिटीहरूमध्ये सबैभन्दा पहिले दोलखा जिल्ला कमिटीले अलि फरक निर्णय गर्यो । नेकपा एमाले र नेपाल राष्ट्रका लागि फेरि पनि केपी ओलीको नेतृत्व आवश्यक छ भन्यो । दोलखाको उक्त निर्णयपछि केही खिसीटिउरी पनि भए । जति आलोचना भए पनि त्यसैलाई आधार बनाएर दोलखा जिल्ला कमिटीको निर्णय लागू गर्न प्रतिनिधि छनौटमा सर्वसम्मत विधि अपनायो । सर्वसम्मत गर्न सबै पार्टी सदस्य र प्रतिनिधिको आकाङ्क्षा राख्नेहरू नै कस्सिए ।
दोलखा एमालेको उक्त निर्णयपछि केपी ओलीको पक्षमा र विपक्षमा छलफल हुन सुरु भयो । अहिलेको अवस्था हेर्दा केपी ओलीको निरन्तरताको माहौल नै बढी देखिँदै जानुका कारणहरू थुप्रै छन् । त्यसमध्ये एउटा कारण केपी र एमालेप्रति देशी विदेशी विरोधीहरूको आक्रमण पनि हो । पार्टीपंक्तिमा महत्त्व ठानिँदै गएको केपी ओलीलाई विरोधी पङ्क्तिले अध्यक्ष हुन नदिन गरिरहेका डरलाग्दो जालसाजी नै उनका लागि पुन: निरन्तरताको वातावरण बनिरहेको छ । विरोधीले जति धेरै केपी ओलीलाई सक्न खोजिरहेका छन्, त्यति नै पार्टी कार्यकर्ताले उनलाई जोगाइरहेका छन् । जति धेरै केपी ओलीलाई अध्यक्ष बनाउन हुँदैन भनिरहेका छन्, त्यति नै धेरै प्रतिनिधिहरूले अध्यक्ष बनाउन खोजिरहेका छन् ।
महाधिवेशनका बेला देशभरिका पार्टी कार्यकर्ताहरूलाई नेतृत्वको स्वस्थ आलोचना गर्न छुट दिइन्छ । प्रतिनिधिहरूलाई जिम्मेवारी लिन अवसर दिइन्छ । त्यसैका लागि महाधिवेशन गरिएको हो । तर, अचम्म त के छ भने, एमालेभित्र भन्दा बाहिर केपी ओली फेरि एमालेको अध्यक्ष होला कि भन्ने चिन्ता र डाहा छ । त्यसैले प्रिय पापी मनहरूको जयजयकार यस कारण गरूँ की तपाईँहरूका डाहा र चिन्ताले नै अधिवेशनमा चमत्कार हुँदैछ । सबै सम्भावना बोकेका नेताहरू केन्द्रीय कमिटीमा समेटिँदै छन्, हाँसीखुसी जिम्मेवारी पाउँदैछन् । एकताको सन्देशसहित अधिवेशन सकेर निस्कने छन् । त्यसैले प्रिय पापी मनहरू तपाईँहरूको जय होस् !
(लेखक नेकपा एमाले , दोलखाका उपाध्यक्ष हुन्)

Leave a Reply