
काठमाडौं । नेकपा (एमाले) को ११औँ अधिवेशनअन्तर्गत आज हुने पदाधिकारी निर्वाचनमा महिला उम्मेदवार संख्या अत्यन्त न्यून देखिँदा नेतृत्व तहमा महिलाको उपस्थिति कमजोर हुने जोखिम बढेको छ । अध्यक्षदेखि सचिवसम्मका १९ पदाधिकारी पदका लागि ४२ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । तर, तीमध्ये महिलाको सहभागिता सीमित मात्र छ ।
उपाध्यक्ष पदका लागि पाँच सिटमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । तर, महिला उम्मेदवारका रूपमा डा.बिन्दा पाण्डे मात्रै एक्ली प्रतिस्पर्धामा रहेकी छन् । दुवै प्यानलबाट गरी ११ उम्मेदवारी परे पनि ओली प्यानलबाट उपाध्यक्षमा एक जना पनि महिला उम्मेदवार नउठाइनुले पार्टीभित्र महिला प्रतिनिधित्वप्रति गम्भीर प्रश्न उठाएको छ । पोखरेल प्यानलबाट भने पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन्।
आरक्षणको व्यवस्था नभएकाले पाण्डेले उपाध्यक्षमा निर्वाचित हुन ११ उम्मेदवारमध्ये उत्कृष्ट पाँचमा पर्नुपर्नेछ। यसअघि उपाध्यक्ष भइसकेका अनुभवी नेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले उनको जित सहज देखिँदैन।
सचिव पदमा पनि महिला उम्मेदवारी कमजोर देखिएको छ । ९ सचिव पदका लागि २० जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा ३ जना महिला उम्मेदवार छन् । ओली प्यानलबाट पद्मा अर्याल दोस्रो कार्यकालका लागि उम्मेदवार बनेकी छन् भने पोखरेल प्यानलबाट रचना खड्का उम्मेदवार छन्। पेम्बा लामाले पनि सचिव पदमा उम्मेदवारी दिएका छन् । तर, सचिव पदमा पनि महिला आरक्षणको व्यवस्था नरहेकाले उत्कृष्ट नौमा पर्न नसके महिलाको प्रतिनिधित्व सचिव तहमा पनि शून्य हुने खतरा छ ।
महासचिव र उपमहासचिव पदमा भने महिला उम्मेदवारी परेको छैन । महासचिवमा सुरेन्द्रप्रसाद पाण्डे र शंकर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ भने उपमहासचिवका तीन पदका लागि सात जना पुरुष उम्मेदवार मात्रै प्रतिस्पर्धामा छन् ।
एमालेको यो अधिवेशनलाई आगामी पार्टी नेतृत्व र आन्तरिक शक्ति सन्तुलन निर्धारण गर्ने निर्णायक क्षणका रूपमा हेरिएको छ । तर, नेतृत्व चयनको प्रक्रियामा महिलाको न्यून सहभागिताले पार्टीको समावेशी नेतृत्व निर्माणको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ । आरक्षणको व्यवस्था नहुनु र प्यानल राजनीतिले महिलालाई प्रतिस्पर्धामा कमजोर बनाएको टिप्पणी पार्टीभित्रै उठ्न थालेको छ ।

Leave a Reply