
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा ईश्वर पोखरेल पक्षले प्रस्ताव गरेको उम्मेदवारको सूची हेर्दा पदाधिकारी जित्ने रणनीतिमा केन्द्रित भएको देखिएको छ । सदस्यसम्म प्यानल बनाउँदा पदाधिकारीमा कम मत आउने र आफ्नो प्यानल मत कम भएकाले भोट क्रस गराउने रणनीतिमा पोखरेल पक्ष केन्द्रित भएको छ ।
त्यसैले पदाधिकारीमा ओली प्यानलबाट असन्तुष्ट भएर आएका नेतालाई समेत समेटेको ईश्वर पक्षले केन्द्रीय सदस्यमा भने ओली पक्षमै रहेका अधिकांशलाई समेटेको छ । केही नयाँ र प्रभावशाली युवाहरूबाहेक अधिकांश सदस्य उम्मेदवार ओली पक्षमै रहेकाहरूलाई राखिएको छ ।
पार्टीलाई सही दिशामा लैजाने भनेको अध्यक्ष, महासचिवसहित पदाधिकारी वा सचिवालयको टीम नै भएकाले सदस्यसम्म कित्ताकाट गर्न नहुने भनेरै सबै समेटिएको प्यानल आवश्यक रहेको सचिवका उम्मेदवार गोकुल बास्कोटाले बताए ।
उनले केन्द्रीय सदस्यमा समेत प्यानलबन्दी गर्न नहुने आफ्नो रहेको र त्यसले पार्टीमा एउटा पङ्क्ति पूरै बाहिर रहने भएकाले मतदाताले पनि विवेक पुर्याउनुपर्ने बताए । प्यानलको लिस्ट बनाउने जिम्मेवारी सुरुदेखि नै ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलाई दिइएको थियो ।
सबैको अन्तिम सूची भने विद्या भण्डारीले समेत हेरेपछि तय भएको छ । ईश्वर प्यानलको लागि मत माग्नेदेखि रणनीति बनाउने र विभिन्न नेता तथा महाधिवेशन प्रतिनिधिहरूसँग प्रत्यक्ष संवादमा भण्डारी आफैँ खटिएको एक नेताले बताए ।
यस्तो छ ईश्वर पोखरेल प्यानलको प्रस्तावित सूची, केन्द्रीय सदस्यमा ओली र शंकर समेत समेटिए (सूची)
उनले भने, ‘हाम्रो प्यानल भनेको केपी ओली पीडितहरूको सङ्गठित रूप हो । विद्या भण्डारीले सदस्यताबाटै वञ्चित हुनुपरेको सानो चोट होइन, त्यसको बदला लिनका लागि उहाँ आफैँ मैदानमै हुनुहुन्छ । ओलीकै टीममा रहेका नेताहरूसँग पनि उहाँले पर्याप्त छलफल गरेरै रणनीति बनाइएको छ । यसपटक जसरी पनि सके ओलीलाई नै विस्थापित गर्ने नसके कम्तीमा शंकर पोखरेलसहितको एउटा अनुदारवादी लियरलाई हराउने रणनीति हो । त्यसैले पदाधिकारीमा लोकप्रिय र समावेशी अनुहार उठाएर, बाँकी सदस्यमा ओलीकै प्यानलका मान्छे राखिएको हो । त्यसले गर्दा भोट क्रस गराउन थप सहज हुनेछ ।’
पोखरेल पक्षको पदाधिकारीबाट उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंक कार्की, बिन्दा पाण्डे र पर्शुमेघी गुरुङलाई अघि सारेको छ । महासचिव दोहोरिएका शंकर पोखरेल आफ्नै समूहभित्र असन्तुष्टि खेपिरहेका बेला ईश्वर पक्षले थप टार्गेट गरेको छ ।
सुरेन्द्र पाण्डे हेबिवेट उम्मेदवार बहिर्मुखी स्वभावको हुनु र शंकर अन्तरमुखी हुनुले पनि भोट क्रस गराउन सकिने रणनीति ईश्वर पक्षको छ । ओली पक्षबाट पृथ्वीसुब्बा गुरुङ वा प्रदीप ज्ञवाली महासचिव उम्मेदवार बन्दा पाण्डे उपाध्यक्षमा जाने तयारीमा थिए ।
ओलीले पोखरेललाई नै महासचिवमा दोहोर्याउने निर्णय गरेर ज्ञवालीलाई उपाध्यक्षको उम्मेदवारको लिस्टमा राखेका थिए। तर ज्ञवालीले ओलीको निर्णयप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका छन् ।
ओलीको यो निर्णयप्रति उपाध्यक्षमा उम्मेदवारी दिए विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ पनि सन्तुष्ट छैनन् । जसले गर्दा पोखरेललाई महासचिवमा चुनाव जित्नको लागि सहज नभएको नेताहरूले स्वीकार्न थालेका छन् । उनीमाथि ओली टिमभित्रै बसेर आफ्नै गुट चलाएको आरोप छ ।
त्यसैले यसपटक उपाध्यक्षमा कम्तीमा २ जना र उपमहासचिव तथा सचिवमा समेत केही पदाधिकारीको लागि मत क्रस गराउन सकिने रणनीति ईश्वर पक्षको छ ।
उपमहासचिवमा कम्तीमा एकजना जित्ने रणनीति अनुसार नै आनन्द पोखरेललाई अन्तिममा सूचीमा नराखी २ जनामात्र उम्मेदवार बनाइएको छ । पोखरेल पक्षको अन्तिम लिस्टमा योगेश भट्टराई र वैजनाथ चौधरीको मात्रै नाम छ । आनन्द र वैजनता यसअघि ओलीनिकट नै मानिन्थे ।
ओली पक्षबाट रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्ट उम्मेदवार छन् । २ जनालाई मात्र मत दिँदा ओली पक्षका एक उम्मेदवार जो तुलनात्मकता अलोकप्रिय छन् उनलाई हराउन सकिने र कम्तीमा एकजना भने पनि फुत्किने रणनीति बनाइएको नेताहरूले बताए ।
सचिवमा पनि सोही रणनीति अनुसार उम्मेदवार दिइएको छ । सचिवमा पनि ओली पक्षसँग असन्तुष्ट नेताहरूले तानेर टिम बलियो बनाएको छ। सचिवमा पोखरेल पक्षले अग्नि खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, ठाकुर गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाललाई अघि सारेको छ ।
पोखरेल पक्षको प्रस्तावित सूचीमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूचीमा ओली प्यानलमा परेकाहरू पनि धेरैको नाम छ । खुला केन्द्रीय सदस्यमा मत दिनुपर्ने सूचीमा पोखरेल पक्षले केपी ओलीदेखि शंकर पोखरेलसम्मको नाम राखेको छ ।
केन्द्रीय सदस्यमा ओली पक्षका नेताहरूको नाम राख्ने र भोट क्रस गराएर भएपनि कडा टक्कर दिने पोखरेल पक्षको रणनीति छ । दुवै पक्षले आफ्नो प्यानलको मतदानका लागि प्रारम्भिक सूची बनाएर चुनावी माहोल बनाउँदै प्रतिनिधि आफूतिर तान्ने प्रयासमा जुटिरहेको छ ।
सके ओलीलाई नै हराउने नसके शंकर पोखरेललाई महासचिवमा दोहोरिन नदिने रणनीति पोखरेल पक्षको प्रस्ट छ । संस्थापन पक्षमा उम्मेदवार चयनको विषयले असन्तुष्टि जनाउँदै नेताहरूले एकपछि अर्को गर्दै नेताहरूले साथ छाड्न थालेपछि पोखरेल पक्ष हौसिएको छ।

Leave a Reply