
काठमाडौं। सप्तरीको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि भएको अमानवीय तथा दुर्व्यवहारप्रति नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले कडा भर्त्सना गरेको छ।
सिबिफिनले आज एक विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाको साख, गरिमा र विश्वसनीयतामा आँच पुर्याउने, कर्जा नतिर्न दुरुत्साहन गर्ने, अफवाह फैलाउने तथा कर्मचारीमाथि भौतिक आक्रमण र मानमर्दन गर्ने जस्ता क्रियाकलाप कानूनविपरीत रहेको उल्लेख गर्दै यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
लामो समयदेखि नियमित हुन नसकेको कर्जाको किस्ता सम्बन्धी समस्या समाधानका लागि स्वयं ऋणीको आग्रहमा छलफल गर्न पुगेका बैंक कर्मचारीहरूलाई स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरूको समूहले घन्टौँसम्म नियन्त्रणमा राखी अमानवीय, पशुवत् व्यवहार तथा हिंसात्मक आक्रमण गरेको सिबिफिनको आरोप छ।
परिसंघले यस घटनालाई अत्यन्तै लज्जास्पद, घृणित र आपराधिक कार्यको संज्ञा दिएको छ। घटनापछि स्थानीय सुरक्षा निकायले पीडितको जाहेरी दर्ता नगरी मिलापत्रका लागि दबाब दिएकोप्रति समेत सिबिफिनले गम्भीर आपत्ति जनाएको छ। जाहेरीविनै अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उल्टै पीडितलाई नै वेवास्ता गरिएको आरोप परिसंघले लगाएको छ।
निहित स्वार्थ पूरा गर्न बैंक तथा वित्तीय संस्था जस्तो संवेदनशील क्षेत्रमाथि गरिएको यस्ता ज्यादतीले कर्तव्यनिष्ठ कर्मचारीको जीवनमा गम्भीर मनोवैज्ञानिक असर पार्ने भन्दै दोषीमाथि हदैसम्मको कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष सिबिफिनले जोडदार माग गरेको छ।
जेन–जी आन्दोलनपछिको असामान्य परिस्थितिमा शान्ति सुरक्षा, सुशासन तथा आर्थिक गतिविधि प्रवद्र्धनमा बैंक तथा वित्तीय संस्थाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बेला यस्तो आक्रमण बैंकिङ क्षेत्रमाथि मात्र नभई नेपाल सरकारमाथिकै आक्रमण भएको सिबिफिनको ठहर छ।
यदि बैंकिङ सेवासम्बन्धी कुनै गुनासो भए सम्बन्धित बैंकको माथिल्लो व्यवस्थापन वा नेपाल राष्ट्र बैंकको गुनासो सुनुवाइ इकाईमा उजुरी गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि कानून आफ्नै हातमा लिएर गरिने यस्ता कार्यले समग्र मुलुकको भविष्य नै जोखिममा पार्न सक्ने सिबिफिनले चेतावनी दिएको छ।
बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरूको प्रभावकारी सुरक्षा सुनिश्चित गर्न संघीय, प्रदेश तथा स्थानीय सरकार, गृह मन्त्रालयलगायत सम्बन्धित सबै निकायसमक्ष सिबिफिनले सुरक्षित वातावरण निर्माणका लागि अपिल समेत गरेको छ।
विज्ञप्तिमा भनिएको छ,‘बैंक तथा वित्तीय संस्थाको कामकारवाहीप्रति कुनै गुनासो भए बैंक तथा वित्तीय संस्थाको माथिल्लो व्यवस्थापनसमक्ष वा नेपाल राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ इकाई समक्ष समेत उजुरी गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि कानून आफ्नै हातमा लिएर घटाइने यस प्रकारका निन्दनीय कार्यले बैंकिङ क्षेत्र मात्र नभई समग्र मुलुककै भविष्य अन्धकारतर्फ धकेलिन सक्ने तर्फ संवेदनशील भइदिन सरोकारवाला सम्पूर्ण पक्षहरुमा हार्दिक अनुरोध गर्दछौं । साथै, बैंक तथा वित्तीय संस्था र सोमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन र बैंकिङ सेवालाई निर्वाधरुपमा संचालन हुने सुरक्षित वातावरण निर्माण गर्न संघीय, प्रदेश, स्थानीय सरकार, र गृहमन्त्रालय सहित जिम्मेवार सम्पूर्ण निकायहरुसमक्ष हार्दिक अपिल समेत गर्दछौं ।’

Leave a Reply