
काठमाडौंमा ह्वात्तै चिसो बढिरहँदा नेकपा (एमाले) को एघारौँ महाधिवेशनले भने राजनीति तताएको छ। जेन-जी आन्दोलनको प्रभावका कारणले झन्डै एक वर्ष अगाडि सारिएको यो महाअधिवेशनमा हालका अध्यक्ष केपी शर्मा ओली तेहेरिने गरी मैदानमा ओर्लिएका छन् भने उनलाई वरिष्ठ नेता ईश्वर पोखरेलले चुनौती दिएका छन्।
आजै (मंगलबार) हुने २२ सय भन्दा बढी प्रतिनिधिहरूबीचको मतदानले अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र नौ सचिवसहित तीन सय एक केन्द्रीय सदस्यबारे फैसला गर्नेछ। ओली र पोखरेल आ-आफ्नो घोषित-अघोषित प्यानलसहित खडा भएका छन्।
नवौँ महाधिवेशनमा अध्यक्ष जिते लगत्तै कुनै पनि कक्षा दोहोर्याएर नपढ्ने उद्घोष गरेका ओली परिस्थितिको चुनौती भन्दै दसौँ महाधिवेशनमा दोहोरिएका थिए। खासमा नवौँ महाधिवेशनमै अर्को पटक पोखरेललाई अध्यक्ष बनाउने सहमति भएको पूर्वराष्ट्रपति विद्या भण्डारीले हालै खुलासा गरेकी छन्। तर गत भदौमा सम्पन्न विधान अधिवेशनबाट आफू नेतृत्वमा आउन अनुकूल हुने गरी, अध्यक्षमा दुई कार्यकाल र ७० वर्षीय उमेर हदको सीमालाई हटाउँदै ओली अहिले तेस्रो कार्यकालका लागि अगाडि सरेका हुन्।
विधान महाधिवेशनदेखि एघारौँ महाधिवेशनसम्मको यो तीन महिनामै आइतबारको बन्द सत्र अघिको अन्तिम केन्द्रीय कमिटी बैठकबाट फेरि विधान संशोधन प्रस्ताव गरी १५ पदाधिकारी संख्यालाई १९ बनाइएको छ। आफ्नो समूहमा पदाधिकारीहरूको आकांक्षी बढी भएपछि तिनलाई व्यवस्थापन गर्न ओलीको प्रस्तावमा बहुमतबाट विधान संशोधन गरिएको हो।
विधान संशोधनविरुद्ध भदौको विधान अधिवेशन र आइतबारको केन्द्रीय कमिटी बैठकमा पनि ईश्वर पोखरेल पक्षले चर्को आवाज उठाएको थियो। तीन महिनाबीचमै विधान संशोधन गरिएपछि एमाले विधान अधिवेशनको औचित्यमै प्रश्न खडा भएको छ। खास नेता(ओली) र उनको समूहको हितका लागि मात्रै बारम्बार विधानलाई गिजोल्नु, एमालेको आन्तरिक जीवनमा मात्र होइन, लोकतान्त्रिक प्रणालीमै पनि लज्जाको विषय हो।
स्वर्गीय मदन भण्डारीकृत जनताको बहुदलीय जनवाद नै एमाले नीतिको मर्म हो भनेर र उहाँकी धर्मपत्नी विद्याको साथ पनि आफूप्रति छ भनेर, अब यसमै जोड बल गर्नु, पोखरेलले नेतृत्व लिने आजको एमाले पुरानै ओली पथको हो। बरु पार्टी सञ्चालनसम्बन्धी जबजका केही सिर्जनात्मक पक्षहरूलाई समेट्दै नीतिमा समाजवादका आधारहरूलाई कार्यनीतिक र रणनीतिक, दुवै बनाउनु उनको आफ्नै नेतृत्व परीक्षण पनि हो।
दसौँ महाधिवेशनका प्रतिनिधि, सचिवालय, केन्द्रीय कमिटी र विधान अधिवेशनका प्रतिनिधिको बहुमत देखाएर ओलीले पार्टीमा एकलौटी गरे पनि एघारौँ महाधिवेशनबाट अब त्यो नचल्ने देखिएको छ। यद्यपि सतहमा अहिलेका प्रतिनिधिहरू पनि ओलीकै धेरै छन् भनिँदैछ। तर पार्टीको लोकतान्त्रीकरण खण्डित भएको तथा पछिल्लो जेन-जी आन्दोलनले पार्टीहरूको रूपान्तरण र नेतृत्व पुस्तान्तरणको अपरिहार्यता सिर्जना गरेको अवस्थाबीच पोखरेल पक्ष निर्वाचित हुनेमा ढुक्क देखिएको छ।
एजेन्डा र नेतृत्वका दृष्टिले महाधिवेशनमा पोखरेल पक्ष सुदृढ देखिँदै गर्दा ओली पक्षमा चरम आन्तरिक असन्तुष्टि देखिएको छ। उपाध्यक्ष प्रस्तावित प्रदीप ज्ञवाली महासचिव नपाएपछि र एउटै(शंकर पोखरेल) लाई फेरि दोहोर्याइएपछि केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ज गरेर रुँदैरुँदै घर फर्किएका छन्।
ओलीलाई फुटबलको पेले भन्दै, ’उहाँलाई पछार्ने तागत कसको?’ भन्ने कृष्णगोपाल श्रेष्ठ पोखरेल पक्षबाट सचिव उम्मेदवार भएका छन्। अनुशासन आयोग संयोजकमा ओलीका काशीनाथ अधिकारी र लालबाबु पण्डित दुवैले इच्छा देखाएनन्। ओली पक्षका कयौँ आकांक्षीबीच नेतृत्वमा भाँडभैलो भएको छ। अग्नि खरेल लगायत ओली पक्षका भनिने धेरैले स्वतन्त्र उम्मेदवारी हालेका छन्।
पोखरेल पक्षलाई पूर्वराष्ट्रपति विद्या भण्डारीले पूर्ण साथ दिएकी छन्, जसको पार्टी सदस्यता नवीकरण हुन ओलीले दिएका थिएनन्। त्यति मात्र होइन, विद्या लक्षित तल्लो स्तरको टिका टिप्पणीमा ओली उत्रिएका थिए।
एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता स्व. मदन भण्डारीको श्रीमती हुनुका कारणले मात्र होइन, जीवनभर ओली समूहलाई साथ दिएकी, पार्टीको उपाध्यक्षसम्म भएकी र पूर्वराष्ट्रपति हुनुको व्यक्तित्वसमेत बोकेकी भण्डारीको समर्थनले पोखरेललाई बलियो आधार दिने स्वतःसिद्ध छ। ओली पक्षकै एमाले जनले त्यो बताएका छन्। ओली पक्षबीचको पछिल्लो असन्तुष्टिले पनि पोखरेल पक्षलाई फाइदा पुग्ने देखिन्छ।
पोखरेलले महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक अवधारणासमेत एमालेको अबको सिद्धान्त र प्राथमिकताबारे बलियोसँग आएको छ। जबकि ओलीले जेन-जी आन्दोलनपछिको राजनीतिक चुनौतीलाई पुरै नजरअन्दाज गरेका छन्। नजरअन्दाज मात्रै गरेका छैनन्, त्यो आन्दोलनको निमित्त कारण आफू नेतृत्वको सरकार हो, आफ्नै अलोकतान्त्रिक जिद्दी र सुशासनहीनताका कारणले मुलुक गैर संवैधानिक सुशीला कार्की स्वीकार्नुको बाध्यतामा पुगेको हो भन्ने पनि स्वीकारेका छैनन्।
अहिलेको राजनीति र कम्युनिष्ट राजनीतिको प्राथमिकतामा जबज, अब पार्टी सञ्चालनसम्बन्धी आन्तरिक–जनवादी कार्यक्रम मात्रै हो। यसलाई त्यही रूपमा बुझ्दै समाजवाद प्राप्तिको कम्युनिष्ट सहकार्यमा पोखरेलले अझै जोड दिन सके उनको जीतको सार्थकता हुनेछ। तर ओलीले जित्छन् कि पोखरेलले, त्यसको परिणाम हेर्न आज रातिसम्म पर्खिनुपर्ने छ।
ईश्वर पोखरेलका तीन चुनौती
आठौँ महाधिवेशनमा झलनाथ खनाललाई र नवौँ महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बन्न सघाएर दुई कार्यकाल एमालेको महासचिव भएका पोखरेल, दसौँ महाधिवेशनमा पनि ओलीलाई सघाएर वरिष्ठ उपाध्यक्ष भए।
पछिल्ला तीनै कार्यकाल ओली पक्षीय भएका उनी अहिले ओलीबाट टाढा छन्। भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनमा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सदस्यसम्म दिन अस्वीकार गरेकाले, त्यसलाई गलत भन्ने अडान नै आजको एमालेभित्र पोखरेलको मूल शक्ति हो, यद्यपि ओलीको सट्टा आफू नै किन अध्यक्ष हुनुपर्ने ? भन्ने उनको अवधारणाले अपेक्षित राजनीतिक दृष्टि दिएकै छ।
एमालेभित्र आफैंमा शक्तिहीन नेता त पोखरेल होइनन्। तर यी तीनै कार्यकालमा भने आफ्नो पद वा ओहोदा सुरक्षाका लागि उनी ओलीसामु नतमस्तक भइ दिए।
उनमा ओली विरोधी जागरण आएको भर्खरै हो। तर सतहमा ओलीले एमालेलाई लगभग एकलौटी गरिसकेको छाप परेको छ। यो अन्तिम केन्द्रीय कमिटीदेखि अघिल्लो महाधिवेशन र विधान महाधिवेशन प्रतिनिधिसम्म ओलीले आफ्ना पक्षमा एउटा कृत्रिम बहुमत कायम गरेर राखेका थिए। एघारौँ महाधिवेशनले भने ओली वा पोखरेललाई आज नै परीक्षित गर्नेछ।
तर, पार्टी बचाउने उद्देश्य खातिर ओलीलाई साँच्चिकै ‘ड्यासिङ’ दिएर पोखरेल अध्यक्षमा भिडेको देखिँदैछ। एमाले अध्यक्ष निर्वाचित भएछन् भने पोखरेलसँग तीन चुनौती मुखर छन्।
चुनौती क, ओलीप्रति नतमस्तक विगतबाट मुक्ति
पोखरेलको अध्यक्ष उम्मेदवारीले एमालेभित्र सुषुप्त तर जबर्जस्त प्रभावमा रहेको विद्या भण्डारी ‘फ्याक्टर’लाई विश्वासमा लिएको देखिन्छ। तर आजको एमालेको समस्या विद्याको सदस्यता नवीकरण मात्रै होइन, त्यसको नीतिको समस्या हो। सुषुप्त तर जबर्जस्त विद्या ‘फ्याक्टर’ निर्णायक नै भइदियो र एमाले प्रतिनिधिले पोखरेलको अध्यक्ष पदलाई अनुमोदन गरिदिए भने ओलीभन्दा के फरक नीति लिएर उनी पार्टी चलाउँछन् ? ईश्वरले उत्तरित गर्नुपर्ने मूल कुरा यही हो। किनकि उनको जारी अवधारणा सैद्धान्तिक भन्दा बढी समसामयिक हो।
स्वर्गीय मदन भण्डारीकृत जनताको बहुदलीय जनवाद नै एमाले नीतिको मर्म हो भनेर र उहाँकी धर्मपत्नी विद्याको साथ पनि आफूप्रति छ भनेर, अब यसमै जोड बल गर्नु, पोखरेलले नेतृत्व लिने आजको एमाले पुरानै ओली पथको हो। बरु पार्टी सञ्चालनसम्बन्धी जबजका केही सिर्जनात्मक पक्षहरूलाई समेट्दै नीतिमा समाजवादका आधारहरूलाई कार्यनीतिक र रणनीतिक, दुवै बनाउनु उनको आफ्नै नेतृत्व परीक्षण पनि हो।
त्यसो गर्दा उनले आफ्नै निकट विगतप्रति निर्मम आत्मालोचित हुनुपर्ने छ। ओलीलाई नेतृत्व मान्दामान्दै उनको गलत नीतिहरूको समेत फड्के किनाराको साक्षी मात्र होइन, अनुयायी समेत आफू किन भएँ? कार्यकर्ता र जनताबीच यसमा आत्मालोचना नभै उनीप्रति विश्वास बढ्दैन।
चुनौती ख, ध्रुवीकरणको आत्मसातीकरण
आजको राष्ट्रिय, सामाजिक र भूराजनीतिक समस्याका अन्तर्विरोधबीच नेपालको समाजवादी यात्रा कसरी कम्युनिष्टीय, वामपन्थीय, सामाजिकीय, सांस्कृतिक मूल्यसहित अगाडि बढ्ने छ र नेतृत्वका रूपमा प्रथमतः आफ्नै व्यक्तिगत जीवनमा र पार्टी जीवनमा त्यसलाई कसरी अनुसरण गर्छन् तथा गर्न चाहन्छन्, त्यसको सु स्पष्ट चित्र पोखरेलले प्रस्तुत गर्न सक्नुपर्ने छ।
किनकि ०४६ सालपछिका सत्ता परिवर्तनका र प्रतिपक्षीय वा सत्तापक्षीय भूमिकाका एक अविछिन्न पात्र तथा व्यक्ति पोखरेल पनि हुन्। समाज र समुदायमा, अरू नेताका जस्तै उनका आर्थिक जीवनबारे पनि प्रशस्त प्रश्न छन्। नेपाली कम्युनिष्ट पार्टीको नाममा भर्खरै ध्रुवीकृत भएका माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत १६ भन्दा बढी कम्युनिष्ट पार्टी तथा वामपन्थी शक्तिहरू, जसका नेताहरू पोखरेलका समेत सिनियर वा समकालीन हुन्, उनीहरूले श्रमजीवी जनतातिरमात्रै फर्कने संकल्पबोधसहित वैज्ञानिक समाजवादको आधारबाट अगाडि बढ्ने उद्घोष गरिसकेका छन्।
नवौँ महाधिवेशनमा अध्यक्ष जिते लगत्तै कुनै पनि कक्षा दोहोर्याएर नपढ्ने उद्घोष गरेका ओली परिस्थितिको चुनौती भन्दै दसौँ महाधिवेशनमा दोहोरिएका थिए। खासमा नवौँ महाधिवेशनमै अर्को पटक पोखरेललाई अध्यक्ष बनाउने सहमति भएको पूर्वराष्ट्रपति विद्या भण्डारीले हालै खुलासा गरेकी छन्।
पोखरेलले यसो गर्न सके भने कम्युनिष्ट वा वामपन्थीबिच हुँदै गरेको ध्रुवीकरणमा, तिनीहरूबीचको साझा समाजवादी सङ्कल्पमा उनले आफ्नै स्थान जमाउन सक्ने छन्। त्यसका लागि प्रथमतः उनी ओलीपन्थबाट मुक्त भएर, समाजवादी उद्देश्यका निम्ति आजको कम्युनिष्टीय ध्रुवीकरणमा वा त्यसलाई बलियो बनाउने उद्देश्यमा चाहिँ सहमत हुनै पर्छ। एमाले एक्लो भएर अब चल्नै सक्दैन।
चुनौती ग, जेन-जी आन्दोलनको स्वीकार्यता
एमाले विधान महाधिवेशन लगत्तैको जेन-जी प्रदर्शनमा तत्कालीन ओली सत्ताले युवाहरूको जसरी कत्लेआम ग¥यो र त्यसलाई भजाएर युवाका अर्थ राजनीतिक अपेक्षाको जसरी अपहरण गरी मुलुकलाई ध्वंस गरियो, यसको लामो अनुसन्धानको पाटो छ। प्रशंसा, पुरस्कार र दण्ड–सजायको पाटो छ। तर त्यसले दिएको एउटै राम्रो सन्देश के हो भने यथास्थितिमा देश र दलहरू दुवै चल्न सक्दैनन्। त्यसैले ७२ वर्षका पोखरेलले एमाले नेतृत्व हुन्छु भन्ने उद्घोष गरे पनि र भइहाले पनि त्यसले युवा र समुदायलाई तान्न सकेको छैन।
युवाले नेतृत्वको उमेर भन्नु एउटा मत हो, मान्यता होइन। तर देशले, राष्ट्रियताले, योजनाले र दल वा नेताका व्यवहारले समाज न्यायलाई हाताहाती साबित गर्नुपर्यो भन्ने त्यो माग तथा उद्देश्यलाई आजका एमाले अध्यक्ष ओलीले पूरै टारेका छन् । टारेका छन् मात्रै होइन, महेश बस्नेत खालका आफ्ना फलोअरलाई स्थिति असामान्य बनाउन योजनाबद्ध परिचालन गरेका छन्।
पोखरेलले नेतृत्व भएर नयाँ आधारको एमाले र त्यसको नेतृत्वका रूपमा आफूलाई कसरी साबित गर्ने सोचेका छन्, पार्टी रूपान्तरण र पुस्तान्तरणबारे उनी के सोचिरहेका छन्, त्यो मार्गचित्र पनि उनले तत्काल अगाडि सार्नुपर्ने छ।
(लेखक गिरी प्रेस सेन्टर नेपालका अध्यक्ष हुन् ।)

Leave a Reply