
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व छान्न भृकुटीमण्डपमा तीन दिनदेखि नेता कार्यकर्ताको कुम्भ मेला लागेको छ । लिस्ट मिलाएर, प्यानल बनाएर संस्थापन अर्थात् केपी ओली पक्षधर र ईश्वर पोखरेल पक्षधर नेता कार्यकर्ता प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् ।
कस्ता उम्मेदवार लिष्टभित्र समेटिने हुन् भन्ने कौतुहलताकाबीच आएको संस्थापन पक्षको उम्मेदवारको नामावलीले अधिकांश नेता कार्यकर्ता असन्तुष्ट भए । लिष्टमा आएको नामावलीको विद्रोहमा नेताहरूले उम्मेदवारी नदिने, तोकिएभन्दा अर्कै पदमा उम्मेदवारी दिने अवस्थाका कारण केपी ओलीको टीम अप्ठ्यारो अवस्थामा पर्न सक्ने महाधिवेशन मैदानमा उत्रिएका नेता कार्यकर्ताको टिप्पणी छ ।
महासचिवको उम्मेदवारको रूपमा आफूलाई उभ्याएका प्रदीप ज्ञवालीलाई उपाध्यक्षमा लगिएपछि उनले केन्द्रीय सदस्य मात्रै बन्नेगरी ओली लिष्टको विद्रोह गरे । ओलीले शंकर पोखरेललाई नै महासचिवको रूपमा अघि सारेपछि सबैभन्दा असन्तुष्टि देखिएको छ । पोखरेल नै महासचिव उम्मेदवार बन्दा ईश्वर पक्ष भने उत्साहित देखिन्छ ।
एकातिर ज्ञवालीको विद्रोह, अर्कोतिर तुलनात्मकरुपमा अलोकप्रिय मानिएका पोखरेललाई पुनः सोही पदमा उम्मेदवारी दिने अवसरकाबीच उपाध्यक्ष भइसकेर पनि ईश्वर पोखरेलको टीमबाट महासचिवको प्रतिस्पर्धामा अघि सरेका सुरेन्द्र पाण्डेको उम्मेदवारी बलियो हुँदै गएको चर्चा हुन थालेको छ ।
सुरेन्द्र पाण्डे १२ वर्षअघि नवौँ महाधिवेशनमा ईश्वर पोखरेलसँग महासचिव पदमा ६ मतले पराजित भएका थिए । एघारौँ महाधिवेशनमा उनै ईश्वरलाई नेता बनाएर उनी महासचिवमा प्रतिस्पर्धा गर्न उत्रिनु अवश्य पनि राम्रै जोड घटाउ गरेरै हुनसक्छ । एमालेभित्रमात्र नभएर बाहिर समेत सार्वजनिक छवि बनाएका पाण्डेले ओली पक्षभित्रको असन्तुष्टिको उल्लेख्य मत प्राप्त गर्ने अपेक्षा गरेका छन् ।
प्रदीप ज्ञवालीको असन्तुष्टि, टीममा नपर्ने अन्य नेताहरूले पनि शंकर पोखरेल हावी भएको आरोप लगाउनु र विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठलगायतका नेताहरूसँग नजिक रहेका प्रतिनिधिको मत क्रस हुने चर्चाले गर्दा महासचिवको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ ।
एमालेलाई सन्तुलित पार्टी बनाउनको लागि पनि अध्यक्ष ओली र महासचिवमा पाण्डे ल्याउनुपर्ने तर्क पनि प्रतिनिधिहरूबीच नै आउन थालेको छ । यसबीचमा नेकपा एमालेको महासचिवको रूपमा अघि सरेका सुरेन्द्र पाण्डे कस्ता नेता हुन् ? उनको राजनीतिक पृष्ठभूमिबारे केही चर्चा गरौँ ।

धादिङ जिल्लामा ६५ वर्षअघि जन्मिएका सुरेन्द्र पाण्डे २०३१ सालदेखि सक्रिय राजनीतिक जीवनमा आएका हुन् । विचारको विविधता स्थापित गराउने संघर्षमा पञ्चायत विरुद्ध १० वर्ष भूमिगत जीवन बिताएका उनले २०४३ सालमा पञ्चायत विरुद्ध जन पक्षीय उम्मेदवार जिताउने भूमिकामा रहे ।
उनले काठमाडौँ उपत्यका इन्चार्जको रूपमा पनि नेकपा एमालेमा काम गरे । जनआन्दोलनको बेला मध्य नेपालमा जन्मिएका पाण्डेले तत्कालीन कोशी अञ्चलमा पार्टीको नेतृत्व गरेका थिए । भने पार्टी व्यवस्थित बनाउन र संगठन विस्तारको काममा तत्कालीन कर्णाली अञ्चलमा समेत काम गरे ।
निरन्तर राजनीतिक अभियानहरूमा क्रियाशील उनले स्थायी राजनीतिक क्षेत्र चितवनलाई बनाए । २०५४ सालदेखि ६ वर्षसम्म राष्ट्रियसभाको सदस्यको भूमिकामा रहेका पाण्डेले नेकपा एमालेका तर्फबाट प्रमुख सचेतक भएर पनि काम गरे । उनी लामो समय बागमती इन्चार्ज भएर काम गरे ।
उनी २०६४ देखि ०६८ सम्म संविधानसभा सदस्य तथा संविधानसभामा दलको उपनेता भई आफ्नो भूमिकामा खरो उत्रिएका थिए । संविधान निर्माणका क्रममा संवैधानिक समिति, विवाद समाधान उपसमितिमा बसेर काम गरेका पाण्डेले नेकपा एमालेमा बौद्धिक नेताको छवि बनाएका छन् ।
सफल अर्थमन्त्री
पाण्डेलाई नेपालको अर्थतन्त्र सुधारक नेतृत्व र अर्थसँग जोडिएको भूराजनीतिक अवस्था जान्ने नेताको रूपमा पनि चिनिन्छ । २०६६ ज्येष्ठ देखि २०६७ साल माघ महिनासम्म नेपालकै सफल अर्थमन्त्रीको रूपमा काम गरेको इतिहास उनले दर्ज गरेका छन् ।
पाण्डे अर्थमन्त्री हुँदा देशको अर्थतन्त्रलाई प्रभाव पार्ने दीर्घकालीन कामहरूमा उनको योगदान रहेको छ । जसमा मध्य पहाडी लोक मार्ग, मध्य पहाडी सडक वरपर दश वटा सहर निर्माण, ठोरीबाट भण्डारा र मलेखु हुँदै रसुवागढी सडक निर्माण कार्यको थालनी थिए । त्यसैगरि काठमाडौं निजगढ फास्ट ट्याक निर्माण सुरु पनि उनकै पालामा भएको हो । पूर्वपश्चिम हुलाकी मार्ग, त्यसमा पर्ने पुलहरूको निर्माण लगायतका भौतिक निर्माणमा उनले राज्यको बजेट निकासा गरे ।
भौतिकसँगै सामाजिक सशक्तीकरणमा पनि उनी अर्थमन्त्री हुँदा काम भएको थियो । भूमिहीन, सीमान्तकृत नागरिकका लागि जनता आवासको नाममा घरहरू निर्माण सुरु, सडक दुर्घटनाका पीडितलाई राहतको लागि तेस्रो पक्षको बिमा सुरु, माथिल्लो तामाकोसी आयोजना, माथिल्लो त्रिशूली (तीन ए) को ऋण सम्झौता, श्रमिकहरूको सामाजिक सुरक्षाको लागि सामाजिक सुरक्षा कर कट्टी गरी सामाजिक सुरक्षा प्रणाली लगायतका उनका काममा सुरु भएका कार्यक्रम हुन् । जुन कार्यक्रम अहिलेसम्म पनि नागरिक लाभान्वित हुने अवस्थामा चलिरहेका छन् ।
उनले खेल क्षेत्रमा लगानी वृद्धि गरेका थिए । चितवन, हेटौडा र कैलालीमा क्षेत्रीय रंगशालाको निम्ति र भैरहवा र काठमाडौं क्रिकेट मैदानमा बजेट विनियोजन गरेका थिए । पोखरा विमानस्थलको लागि ऋण सम्झौता पाण्डेकै कार्यकालमा भएको थियो । त्यसैले पनि एमालेमा महासचिवका दाबेदार पाण्डेलाई सफल अर्थमन्त्रीका रूपमा विश्लेषण गर्ने गरिएको छ ।
पछिल्लो समय ६७ वर्षे समयमा एमफिलमा उत्कृष्ट नतिजा हासिल गरेर अध्ययन र ज्ञान लिने कुरामा कहिल्यै पाको भइँदैन भनेर स्थापित गरेका पाण्डेलाई अध्ययनशील नेताको पनि रूपमा लिइन्छ ।
पाण्डेले अर्थमन्त्री छँदा गरेका मुख्य कामहरूलाई यसरी बुँदाकृत गरेका छन् ।
– मध्य पहाडी लोक मार्गको निर्माण कार्यको सुरुआत
– द्वन्द्व पीडितले साँवा तिरे ब्याज मिनाहा गर्ने कार्यक्रम
– सामाजिक सुरक्षा करको प्रारम्भ
– भन्डारा मलेखु सडकको निर्माण कार्य सुरुआत
– ३० हजार सामुदायिक विद्यालयमा इन्टरनेटको सुरुआत
– मध्य पहाडी सडक अन्तरगत दश वटा सहर निर्माण
– ठोरीबाट भन्डारा मलेखु हुँदै रसुवागढी सडक निर्माण कार्य सुरुआत
– लोपोन्मुख राउटे जातिको परिवारलाई मासिक १ हजार रुपैयाँ भत्ता
– दलित/गैर दलित विवाहलाई १ लाख अनुदान
– ७५ वर्ष माथिका ज्येष्ठ व्यक्ति र १५ वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क उपचार
– पूर्वपश्चिम हुलाकी मार्ग निर्माण प्रारम्भ
–जनता आवास नाममा घर निर्माण कार्य सुरुवात
– शिक्षामा सबैभन्दा बढी ४७ अर्ब ६१ करोड विनियोजन

Leave a Reply