एमाले पजनी प्रक्रियामा चल्यो, नेतृत्व परिवर्तनको पक्षमा मेरो उम्मेदवारी: अरुण नेपाल

काठमाडौं । अरुण नेपाल, एमालेका ३ पटक पोलिटब्युरो सदस्यको जिम्मेवारी सम्हालिसकेका नेता हुन् । सिन्धुपाल्चोकलाई आधार बनाएर राजनीति गर्दै आएका नेपालले बागमती प्रदेशमा मन्त्री हुँदा गरेका कामको प्रशंसा भएका छन् । उनी अहिले उपाध्यक्ष पदका लागि पार्टीको चुनावी मैदानमा छन् । नेपालसँगको संक्षिप्त कुराकानी-

– यो महाधिवेशनलाई कसरी लिनु भएको छ ? यसले कस्तो सन्देश दिनु पर्छ ?

हाम्रो पार्टीको यो महाधिवेशन एउटा विशिष्ट अवस्थामा हुँदैछ । तीन महिना अगाडि देशमा धेरै ठूलो घटना भयो । राजनीतिक दलका नेता र उनीहरूको भौतिक संरचनामा आक्रमण भयो । अहिले प्रतिनिधिसभा पनि छैन । दुई वर्षपछि हुनुपर्ने चुनाव यसै वर्ष गर्ने गरी घोषणा भएको छ । नागरिक सरकारका नाममा अनिर्वाचित सरकार गठन भएको छ । राजनीतिक दलहरू पृष्ठभागमा पुगेका छन् । संविधान खण्डित छ । जेनजी आन्दोलनले देशमा एउटा फरक मनोविज्ञान निर्माण गरेको छ । पार्टी, तिनीहरूका नीति, नेतृत्व, कार्यशैली आदिमा परिवर्तनको खोजी भइरहेको छ । सरकार जनपक्षीय हुनुपर्छ भन्ने माग छ । हाम्रो ११औँ महाधिवेशनले यी र यस्तै धेरै विषयहरूमा उपयुक्त निष्कर्ष निकाल्नु पर्छ । समग्रमा यो महाधिवेशनले एमाले नयाँ ढङ्गबाट जाँदैछ भन्ने सन्देश दिनु पर्छ । यसो गर्न सकियो भने मात्र एमाले जनताको लोकप्रिय बन्न सक्छ । अरू जस्तै शैलीमा चल्ने हो भने हामीलाई जनताले थप प्रश्न उठाउन सक्छन् ।

– नेतृत्वका लागि प्रस्ट दुई लाइन संघर्ष देखियो, यसबारे के भन्नु हुन्छ ?

अहिले नेतृत्वको लागि दुईजना कमरेडहरू प्रतिस्पर्धामा हुनु हुन्छ । अन्य पदहरूमा पनि स्वाभाविक प्रतिस्पर्धा हुनेछ । एउटा लोकतान्त्रिक र जीवन्त पार्टीमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो । केही समयदेखि हाम्रो पार्टीमा प्रतिस्पर्धी चरित्र कमजोर बन्दै गएको थियो । पजनीको प्रक्रिया मात्र हुने गरेको थियो । जनसङ्गठनदेखि नै यो अभ्यास हुँदा पार्टी थप भुत्ते भएको पक्कै हो । यो महाधिवेशनबाट प्रतिस्पर्धाको परम्परा पुनः स्थापित हुनेछ भन्ने विश्वास गरिएको छ । दुईजनाले नेतृत्व दाबी गरेपछि दुई वटा टीम बन्नुलाई अन्यथा मान्नु हुँदैन ।

– पार्टी सङ्कटमा छ, चौतर्फी घेराबन्दी छ । यस्तो बेलामा नेतृत्व परिवर्तन होइन, यसलाई नै बलियो बनाउनु पर्छ भन्ने धारणा पनि सुनिन्छ । यसबारे के भन्नु हुन्छ ?

पार्टी संकटमा छ यो साँचो हो, तर संकट कहाँबाट सुरू भयो ? यसको स्रोत के हो प्रस्ट हुनुपर्छ । हाम्रो पार्टी भित्रको समस्या बाहिरका अरू कोही आएर उत्पन्न गरिदिएका हैनन् । न त यसलाई पार्टीका तल्ला कमिटी, कार्यकर्ता वा जनताले उत्पन्न गरिदिएका हुन् । समस्या माथिबाटै सुरू भएको हो । जब पार्टीलाई नीति, विधि अनुसार चलाइँदैन, विचार-सिद्धान्त गौण हुन पुग्छ । सङ्गठनमा पक्षपात हुन्छ, आन्तरिक जनवाद खण्डित हुन्छ, नीतिको ठाउँमा व्यक्तिलाई स्थापित गरिन्छ तब संकट पनि सुरू हुन्छ । अहिले भएको यही हो र यो समस्या नयाँ पनि हैन ।

विगत केही वर्षदेखि यो प्रवृत्ति निरन्तर जारी छ र यो काम प्रमुख नेतृत्वबाटै भइरहेको छ । यसलाई नबुझ्ने र परिवर्तन नगर्ने हो भने सङ्कट झन् गहिरिँदै जाने निश्चित छ । त्यसैले पार्टीमा परिवर्तन र पुनर्गठनको विषय उठेको हो । जहाँसम्म घेराबन्दीको कुरा छ एमाले अहिले मात्रै घेराबन्दीको सिकार भएको हैन । लामो समयदेखि हामी यसको चपेटामा छौँ । दासढुंगा घटनादेखि नै यसको शृङ्खला सुरु भएको हो । घेराबन्दीको चर्चा चाहिँ हामी धेरै गर्छौँ । तर, त्यसलाई तोड्ने योजना भने बनाउँदैनौ । पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित र एकताबद्ध गरेर मात्र घेराबन्दीलाई परास्त गर्न सकिन्छ । यस कारण पनि पार्टीको नीति र नेतृत्वमा परिवर्तन आवश्यक भएको हो ।

– परिवर्तित परिस्थितिमा केन्द्रीय कमिटीमा आउनेहरू कस्तो हुनु पर्छ ? को को आउनु पर्छ ?

यो महाधिवेशनबाट बन्ने केन्द्रीय कमिटीमा आफ्नो विवेक प्रयोग गर्न सक्ने, विचार, सिद्धान्त र राजनीति बुझेको पङ्क्ति आउनु पर्छ । सक्रिय, स्वच्छ, पारदर्शी र इमानदार छवि भएका कमरेडहरू आउनु पर्छ । नेतृत्वको वरिपरि घुम्ने, चाकरी चाप्लुसी गर्ने र भजन कीर्तनवादलाई पार्टी काम ठान्ने प्रवृत्ति परास्त हुनुपर्छ । यसो भएन भने सिङ्गो पार्टीको छवि बिग्रन्छ । केन्द्रीय कमिटीको चयन गर्दा प्रतिनिधि साथीहरूले यस्ता विषयहरूमा पर्याप्त ध्यान पुर्‍याउनु हुन्छ भन्नेमा म पूर्ण विश्वास गर्छु । यस पटकको केन्द्रीय कमिटीमा ठूलै सङ्ख्यामा युवा साथीहरू पनि आउनु हुन्छ । त्यसले पनि एमालेलाई थप ऊर्जाशील बनाउने कुरामा हामी ढुक्क छौँ । नेतृत्व परिवर्तनको मुद्दा बढिरहेको सन्दर्भमा यसलाई मान्ने प्रतिनिधिको सङ्ख्या धेरै आएको हाम्रो बुझाई पनि छ । त्यस कारण परिवर्तन पक्षधर युवा पुस्ता र पुरानो पुस्ताको मिश्रणमा अबको एमाले बन्ने छ ।

– जेन-जी आन्दोलनपछि पार्टीले सैद्धान्तिक निष्कर्षहरूबारे केही गर्नु पर्छ कि पर्दैन ?

जेन-जी आन्दोलनको एउटा प्रमुख पक्ष भनेको राष्ट्रका सबै पक्षमा सकारात्मक परिवर्तन हो । नवीनता हो । आर्थिक समृद्धि हो । सुशासन र न्यायपूर्ण समाजको स्थापना हो । हामीले अवलम्बन गरेका सिद्धान्तलाई इमानदारीसाथ व्यवहारमा रूपान्तरण गर्ने हो यी सबै काम गर्न सकिन्छ । मेरो विचारमा जनताको बहुदलीय जनवादलाई राम्रोसँग बुझ्न र त्यसलाई प्रयोग गर्न जरुरी छ । जवज हरेक राजनीतिक समस्याको समाधान पनि हो । जबजको आलोकमा अघि बढे मात्र पनि हामी धेरै कुरामा सही हुन सक्छौँ । जबजको सेरोफेरोमा नयाँ पुस्ताको असन्तोषलाई समाधान गर्ने थिति र विधि बनाउने हो भने कुनै समस्या हुँदैन । यसको सेरोफेरोमा बहस केन्द्रित हुन आवश्यक छ ।

– अनि तपाईँका बारेमा नि ?

म पार्टीमा लामो समय योगदान गरेको व्यक्ति हो । तीन पटक केन्द्रीय कमिटी र तिनै पटक पोलिटब्युरो सदस्य भएर काम गरेको छु । अब फेरि म यिनै जिम्मेवारीमा रहनु उपयुक्त हुँदैन । नयाँ-नयाँ युवा साथीहरूलाई स्थान दिनु पर्छ । त्यसैले मैले नेतृत्व परिवर्तनको मुद्दा लिएर उपाध्यक्षमा उम्मेदवारी दिएको छु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *