युक्रेन शान्ति वार्तामा युरोपको समर्थन

काठमाडौं । अमेरिकी पक्षबाट अमेरिकामध्यस्थतामा अघि सारिएको शान्ति सम्झौता छिटो स्वीकार गर्न बढ्दो दबाब आइरहेका बेला युरोपेली नेताहरूले युक्रेनलाई निरन्तर र स्पष्ट समर्थन जनाउने अपेक्षा गरिएको छ । युरोपको शान्ति र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ युक्रेन, अमेरिका र युरोपेली पक्षबीच जारी शान्ति प्रयासहरू सोमबार पनि बर्लिनमा जारी रहेका छन् ।

अमेरिकी दूतहरू, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की तथा युक्रेनी र युरोपेली अधिकारीहरूबीचको शान्ति वार्ता बढ्दो रूपमा आक्रामक देखिएको रुसको सन्दर्भमा महादेशीय स्थायित्व सुरक्षित गर्ने प्रयासको अङ्गका रूपमा अघि बढाइएको हो ।

बर्लिनमा भइरहेको वार्ताको दोस्रो दिन स्थानीय समयअनुसार सोमबार दिउँसो सुरु भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति जेलेन्स्कीबीच प्रमुख युरोपेली वार्ताकारहरूमध्ये एक मानिनुहुने फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टब सोमबार बिहान बर्लिनको सहर क्षेत्रमा देखिनु भएको थियो ।

लगभग चार वर्षदेखि जारी युद्धको अन्त्य गर्ने आशाका साथ राष्ट्रपति जेलेन्स्की आइतबार अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुशनरसँग जर्मन सङ्घीय चान्सलरको कार्यालयमा भेटवार्तामा सहभागी भएका थिए ।

राष्ट्रपति ट्रम्प रुसयुक्रेन युद्धको छिटो अन्त्यका लागि दबाब दिँदै आएका र वार्तामा ढिलाइ हुँदा असन्तुष्टि व्यक्त गर्दै आउनुभएकाले वासिङ्टनले पछिल्ला महिनाहरूमा दुवै पक्षका मागहरूलाई समन्वय गर्ने प्रयास गर्दै आएको छ ।

सम्भावित शान्ति सम्झौताका क्रममा युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको नियन्त्रण जस्ता विषयहरू प्रमुख अवरोधका रूपमा देखिएका छन्, जहाँ हाल ठूलो भूभाग रुसी सेनाको नियन्त्रणमा रहेको छ । करिब पाँच घण्टासम्म चलेको बैठकपछि अमेरिकी सरकारले आइतबार राति विशेष दूत विटकफको खाताबाट सामाजिक सञ्जालमा ‘धेरै प्रगति भएको छ’ भन्ने आशयको जानकारी सार्वजनिक गरेको थियो ।

यसअघि, अमेरिका तथा अन्य पश्चिमी राष्ट्रहरूले नाटो सदस्य राष्ट्रहरूलाई प्रस्ताव गरिने जस्तै सुरक्षा ग्यारेन्टी युक्रेनलाई उपलब्ध गराइएमा राष्ट्रपति जेलेन्स्कीले नाटो सदस्यताका लागि आफ्नो देशको प्रयास त्याग्न सक्ने सङ्केत दिएका थिए । तर, युक्रेनले आफ्नो भूभाग रुसलाई सुम्पनुपर्ने अमेरिकी दबाबलाई भने निरन्तर अस्वीकार गर्दै आएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका प्रमुख सर्तहरूमध्ये डोनेट्स्क क्षेत्रको केही भागबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने माग राख्दै आएका छन् ।

राष्ट्रपति पुटिनले युक्रेनको नाटो सदस्यताका प्रयासलाई मस्कोको सुरक्षाका लागि गम्भीर खतरा भन्दै सन् २०२२ को फेब्रुअरीमा सुरु गरिएको पूर्ण आक्रमणको मुख्य कारणका रूपमा व्याख्या गर्दै आएका छन् । क्रेमलिनले कुनै पनि सम्भावित शान्ति सम्झौतामा युक्रेनले नाटो सदस्यताका लागि आफ्नो दाबी त्याग्नुपर्ने अडान राखेको छ । यस सन्दर्भमा राष्ट्रपति जेलेन्स्कीले पश्चिमी सुरक्षा आश्वासनहरू कानूनी रूपमा बाध्यकारी हुनुका साथै अमेरिकी कङ्ग्रेसबाट पनि समर्थित हुन आवश्यक रहेकोमा जोड दिएका छन् ।

क्रेमलिनले सोमबार बर्लिन वार्ता सम्पन्न भएपछि अमेरिकी पक्षबाट विस्तृत जानकारी प्राप्त हुने अपेक्षा गरिएको जनाएको छ । क्रिसमससम्म शान्ति वार्ता टुङ्गिन सक्छ कि भन्ने प्रश्नमा राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले समयसीमा अनुमान गर्नु ‘धन्यवादहीन कार्य’ भएको टिप्पणी गरे । उनले भने, म रुसी पक्षका लागि, राष्ट्रपति पुटिनका लागि मात्र बोल्न सक्छु । उहाँ गम्भीर शान्ति र गम्भीर निर्णयका लागि खुला हुनुहुन्छ तर समय तान्ने उद्देश्यका कुनै पनि चालप्रति खुला हुनुहुन्न ।

यसैबीच, लन्डनमा बेलायतको विदेशी गुप्तचर संस्था एमआई६ का नयाँ प्रमुखले सोमबार राष्ट्रपति पुटिनको विश्वभर अराजकता फैलाउने दृढ सङ्कल्पका कारण द्वन्द्वका परम्परागत नियमहरू पुनः लेखिँदै गएको र नयाँ सुरक्षा चुनौतीहरू सिर्जना भइरहेकोबारे चेतावनी दिने तयारी गरेका छन् । एमआई६ की प्रमुख ब्लेज मेट्रेवेलीले आफ्नो पहिलो सार्वजनिक सम्बोधनमा बेलायतले ‘आक्रामक र विस्तारवादी’ रुसका कारण बढ्दो रूपमा अप्रत्याशित र आपसमा जोडिएका खतराहरूको सामना गरिरहेको बताउने अपेक्षा गरिएको छ ।

युद्धक्षेत्रमा ड्रोन आक्रमणहरू भने जारी छन् । युक्रेनी वायु सेनाका अनुसार आइतबारदेखि सोमबारसम्म रुसले विभिन्न प्रकारका १५३ वटा ड्रोन युक्रेनतर्फ प्रहार गरेको थियो । वायु सेनाले सोमबार बिहानसम्म १३३ वटा ड्रोन निष्क्रिय बनाइएको र थप १७ वटा ड्रोनले लक्ष्यमा क्षति पुर्‍याएको जनाएको छ । उता रुसमा, रक्षा मन्त्रालयले रातारात १३० वटा युक्रेनी ड्रोन खसालिएको र सोमबार बिहान ७ देखि ८ बजेको बीचमा थप १६ वटा ड्रोन नष्ट गरिएको जानकारी दिएको छ । मस्को क्षेत्रमा मात्र १८ वटा ड्रोन खसालिएको बताइएको छ ।

सुरक्षाका कारण मस्कोका डोमोडेडोभो र झुकोभ्स्की विमानस्थलमा उडानहरू अस्थायी रूपमा रोकिएको थियो । क्षति र सम्भावित हताहतको विवरण भने तत्काल उपलब्ध हुन सकेको छैन ।

युरोपेली राजनीतिक सन्दर्भमा, जर्मन चान्सलर फ्रेडरिक मेर्जले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री किर स्टार्मरका साथमा युक्रेनलाई समर्थन गर्ने युरोपेली प्रयासहरूको नेतृत्व गर्दै आएका छन् । ले शनिबार भने, युरोप र जर्मनीका लागि दशकौँदेखि कायम ‘प्याक्स अमेरिकाना’ अब धेरै हदसम्म समाप्त भएको छ । ‘प्याक्स अमेरिकाना’ भन्नाले दोस्रो विश्वयुद्धपछिको अमेरिकी प्रभुत्व र त्यसले ल्याएको सापेक्ष विश्व शान्तिलाई जनाउँछ ।

चान्सलर मेर्जले राष्ट्रपति पुटिनको उद्देश्य ‘युरोपको सीमामा मौलिक परिवर्तन ल्याउने र पुरानो सोभियत सङ्घजस्तै प्रभाव क्षेत्र पुनःस्थापना गर्ने’ रहेको चेतावनी दिए । यदि युक्रेन ढल्यो भने, उहाँ त्यहीँ रोकिनुहुन्न, उले म्युनिखमा आयोजित पार्टी सम्मेलनमा चेतावनी दिएका थिए ।

यसै क्रममा, राष्ट्रपति म्याक्रोनले आइतबार सामाजिक सञ्जाल एक्समार्फत फ्रान्स ‘युक्रेन र युरोपको दीर्घकालीन सुरक्षा र सार्वभौमिकताको ग्यारेन्टी गर्ने बलियो र दिगो शान्ति निर्माणका लागि युक्रेनको पक्षमा छ र रहनेछ’ भनी प्रतिबद्धता व्यक्त गरेका छन् । यद्यपि राष्ट्रपति पुटिनले भने कुनै पनि युरोपेली मुलुकमाथि आक्रमण गर्ने योजना नरहेको दाबी गर्दै आएका छन् ।

रासस/एपी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *